चार वर्षमा २० हजारमा मात्रै जडान

|

काठमाडौं : सरकारले सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्ने भनी चार वर्ष अघि ल्याएकाे योजना अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेकाे छैन।

यातायात व्यवस्था विभागले २०७४ साल भदौ ५ गतेबाट औपचारिक रूपमा प्लेट जडान सुरु गरेको हो। त्यहीबेला सरकारी सवारीसाधनमा अनिवार्य गर्ने र निजीलाई ऐच्छिक भनिएको थियो। तर हालसम्म ती निर्णय कार्यन्वयन हुन सकेको छैन। 

सरकारले पटक पटक इम्बोस्ड नम्बर अनिवार्य गर्ने भनेपनि त्यो लागू हुन सकेन। फेरि विभागले यही मंसिरदेखि नयाँ दर्तामा अनिवार्य सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्ने बताएको छ। निजी तथा सरकारी दुवै सवारीसाधनमा मंसिर १ देखि नै जडान गरिने भनिएको छ। तर यी योजना कार्यान्वयनमा आउँछ भन्नेमा आशंका छ।

विभागका महानिर्देशक नमराज घिमिरेले मंसिरदेखि इम्बोस्ड नम्बर जसरी भएपनि अनिवार्य गर्ने बताए। ‘मंसिर महिनाबाट नयाँ दर्ता हुने सवारीमा अनिवार्य गरिने निर्णय भएको छ,लागू हुन्छ,’ उनले भने। उनका अनुसार काठमाडौं उपत्यकाभित्र अनिवार्य गरिएको छ। अरु जिल्ला र प्रदेशमा पनि विस्तारै लागू गर्ने उनले बताए।

किन आवश्यक छ प्लेट जडान गर्न ?

विभागका प्राविधिक शाखाका निर्देशक रामचन्द्र पौडेलले यो एकरुपता नम्बर प्लेट हुने भएकाले यसको आवश्यकता रहेको बताए।  उनका अनुसार इम्बोस्ड नम्बर प्लेट आधुनिक प्रविधिको प्रयोगमार्फत सवारीको नियमन गर्ने प्रणाली हो। यो धातुको प्लेटमा यान्त्रिक माध्यममार्फत अक्षर र अंक राखिन्छ।

‘इम्बोस्ड प्लेट जडान गरेपछि अरुले यसको नक्कल गर्न पाउँदैन,’उनले भने,‘यो प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन भन्ने नम्बर हुन्छ, यो नम्बरले कुन सवारी, कति नम्बरको सवारी, कहाँ छ,कस्तो अवस्थामा छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ,त्यसैले यसको आवश्यकता छ।’

उनका अनुसार यो प्लेट जडान भएपछि प्लेटमै रेकर्ड राखिने हुँदा कर नतिरी चलेका सवारीसाधन सजिलै नियन्त्रणमा लिन सकिन्छ। देशभरका सबै साधनमा जडान भएको खण्डमा चोरीका घट्ना कम हुन्छ। यो जडान गरेपछि प्लेट १० वर्ष बढी समयसम्म टिक्ने उनको भनाई छ। 

कति शुल्क लाग्छ ?

विभागले प्लेट जडानका लागि शुल्क तोकेको छ। विभागका महानिर्देशक घिमिरेले मोटरसाइकलमा इम्बोस्ड नम्बर जडान गर्न दुई हजार पाँच सय, तीन पांग्रे सवारीसाधनमा दुई हजार ९ सय, मझौला सवारीमा जडान गर्न ३ हजार २ सय रुपैयाँ शुल्क तोकिएको जानकारी दिए। त्यस्तै,बस र ट्रकमा तीन हजार ६ सय शुल्क लाग्ने उनले बताए।

२० हजारमा जडान, २५ लाख बाँकी

नेपालमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु भएको चार वर्ष भइसक्यो। तर विभागका महानिर्देशक घिमिरेले हालसम्म २० हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर जडान गरिएको बताए। अझै करिब २५ लाख पुराना सवारीसाधनमा उक्त प्लेट जडान गर्न बाँकी रहेको उनको भनाई।

‘अहिले पनि जडानको काम भइरहेको छ,अबको दुई वर्षमा सकाउने हाम्रो लक्ष्य छ,’उनले भने। विभागका अनुसार यातायात व्यवस्था कार्यालय एकान्तकुना, गुर्जुधारा,सवारी परिक्षण कार्यालय टेकुमा प्लेट जडान गर्न सकिने छ। उनले उपत्यकामा मात्र नभई सबै प्रदेशकाे यातायात कार्यालयमा जडान गर्न सकिने बताए।

नेपालीमा जडान नहुने 

सरकारले इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा जडान गरेपछि विवाद भएको थियो। भाषा आयोग र भाषाविद्हरूले नम्बर नेपालीमा लेख्नुपर्ने माग राखेका थिए। यही माग राखेर २०७४ सालमा सर्वोच्च अदालतमा रिट समेत परेको थियो।

अदालतले अंग्रेजीमै जडान गर्न अनुमति दिइसकेकाले अंग्रेजीमै जडान गरिने विभागका महानिर्देशक घिमिरेले बताए। उनले भने,‘अहिले यस विषयमा केही विवाद छैन,संवैधानिक इजलासले नेपालीमा नभई अंग्रेजीमा जडान गर्न भनी फैसला गरिसकेको छ,त्यसैले अंग्रेजीमै जडान हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.