|

जीवनलाई आफ्नै अर्थ लगाउने, जिउने र परिभाषामा समेट्ने हरेकका आफ्नै तरिका छन्। रफ्तारमा दौडिरहेको जीवनलाई एकपटक टक्क अडिएर हेर्ने फुर्सद पनि कतिलाई सायदै होला।

व्यस्त सडकमा ट्राफिक जाम पर्दा केही बोध होला त हामीलाई? आँखाअगाडि देखाइएका बत्तीका संकेतले जसरी रोक, हेर र जाऊ अर्थात् एउटा ट्राफिक बत्तीले रातो, पहेंलो र हरियो बत्तीमार्फत रोक, हेर र जाऊ अन्यथा दुर्घटनामा परिन्छ भन्ने कुराको संकेत बोध गराएजस्तै जीवनको पनि छ नि। जसले अनावश्यक दुःखमा नफस भनेर सिकाएको पनि त हुन सक्छ।

भौतिक विकास र बाहिरी समृद्धिलाई मापन बनाउन सिकेका हामीले नदेखिने अदृश्य र अमूल्य चिजले हाम्रो मानवीय अस्तित्व बचाएको र जीवनमा सौन्दर्य थपेको कुराको बोध गर्न एकपटक टक्क रोकिएर हेर्नैपर्ने हुन्छ। त्यसका लागि बहिर्मुखी स्वभावबाट थोरै अन्तर्मुखी हुने अभ्यास बढाए पुग्छ। अर्थात् मौनतापूर्वक अवलोकन।

भौतिक विकास र बाहिरी समृद्धिलाई मापन बनाउन सिकेका हामीले नदेखिने अदृश्य र अमूल्य चिजले हाम्रो मानवीय अस्तित्व बचाएको र जीवनमा सौन्दर्य थपेको कुराको बोध गर्न एकपटक टक्क रोकिएर हेर्नैपर्ने हुन्छ। त्यसका लागि बहिर्मुखी स्वभावबाट थोरै अन्तर्मुखी हुने अभ्यास बढाए पुग्छ। अर्थात् मौनतापूर्वक अवलोकन।

जसलाई अध्यात्मको खोज या अभ्यासभन्दा बोध गर्न सहज होला। किनकि‚ अध्यात्म कठिन मार्ग र अभ्यास होइन। यसले त आफूसँग भएका सम्पदाको महत्त्व बोध गर्न पो सिकाउँछ।

भौतिक सम्पन्नता जीवनको सहजताका लागि आवश्यक छ। तर‚ यसले सतत आनन्द र पूर्णता मिलोस् भन्ने जरूरी छैन। सबैको जीवनमा यस्तो अनुभूति भएको पाइन्न पनि। जति सम्पन्न भए पनि कता न कता अपूर्णता र असन्तोषले फेरि जीवनलाई रफ्तारमा दौडाइहाल्छ, ट्राफिक लाइटमा पर्खन पनि हतार लाग्छ।

अध्यात्मले भित्रबाट बाहिरको यात्रा गराउँछ। जो भित्रैदेखि प्रशन्न, सुखी र आनन्दित छ‚ उही व्यक्ति बाहिर सुखी हुन सक्छ। भागदौड, अनियन्त्रित र अमर्यादित मन र कल्पनालाई अनुशासित, मर्यादित र सन्तुलित बनाउन अध्यात्मको खाँचो छ।

त्यसैले बुद्धले भन्नुभएको छ, ‘जसरी एउटा मैनबत्ती आगोबिना बल्न सक्दैन, त्यसै गरी मानिस आध्यात्मिक जीवनबिना सन्तुलित र सुखी तवरले बाँच्न सक्दैन।’ जुन दिन भित्री ज्ञान खुल्छ, भौतिकता र अध्यात्मलाई सँगसँगै बोध गरेर साक्षीको जीवन जिउन थाल्छ‚ त्यतिखेर मानिसलाई आत्मसम्मानको बोध हुन्छ र जीवन धन्य ठान्छ।

सम्मान या आत्मसम्मान

बाहिरी नाम र सम्मानकf लागि लडाइँ गर्न पनि तत्पर छ मानिस। सबै किसिमका लडाइँ र प्रतिष्पर्धा अहंकारकै लागि भएका हुन्छन्। आत्मसम्मान नै सन्तुष्टिको मापन हो यो बुझ्न जीवनकै उत्तरार्द्ध कुर्नुपर्ने? आध्यात्मिक विकासबिना आत्मसम्मान कसरी मिल्ला र? तर‚ कठिन छ आध्यात्मिकतालाई शब्दमा व्याख्या गर्न।

ध्यात्म भौतिक जगतभन्दा माथिको अनुभूति हो। बाहिर देखिने, भोगिने र अर्थ लगाइने विषय नभएर भित्रबाट जान्नु र बोध गर्नु नै अध्यात्म हो। ओशो भन्नुहुन्छ, ‘मानिस नर्क जानु नपरोस् भनेर धार्मिक बन्छ भने जसले नर्कको अनुभूति गरिसकेको छ ऊ अध्यात्मतिर आकर्षित हुन्छ।’

अध्यात्म भनेको आफ्नै स्वभावमा फर्कनु हो भने धर्म कायरताबाट बच्नका लागि अपनाइने माध्यम हो। त्यसैले म मेरा सन्यासीलाई धर्म होइन धार्मिकता सिकाउँछु। धार्मिकता नै अध्यात्म हो। जीवन त सुन्दर छ तर जब हामी अचेत हुन्छौं, के सोचिरहेका छौं पनि थाहा हुँदैन। त्यतिबेला सबैतिर नर्कजस्तो अनुभूति हुन्छ भने जतिबेला होसपूर्ण हुन्छौं सबैतिर स्वर्ग लाग्छ।

धर्म र धार्मिकता 

यो सृष्‍टिमा आँखाले देखिने र नदेखिने त्यो गहिराइको अनुभूतिबिना जीवन र जगत् सम्भव छैन‚ त्यो नै अध्यात्म हो। अध्यात्मको ज्ञान र बोधबिना पनि जीवन चल्छ तर आध्यात्मिकताले जीवनको मर्म र वास्तविकतालाई खुलस्त पार्न मद्दत गर्छ।

चेतना, अस्तित्व, परमात्मा आदि–आदि जे नाम दिए पनि जसको कृपाबिना विज्ञान पनि सफल हुन सक्दैन‚ त्यो नै अध्यात्म हो। सृष्‍टिमा विज्ञानले प्रमाणित गरेका र भौतिकताले देखिने गरी सफल पारेका विषयवस्तुलाई अदृश्य रूपमा जसले साथ दिएको छ‚ त्यही हो अध्यात्म। वास्तवमा भन्ने हो भने धर्मभन्दा माथिको अनुभूति धार्मिकता नै अध्यात्म हो।

ओशोले भन्नुभएको छ, ‘म धर्म होइन धार्मिकता सिकाउँछु।’ भौतिक जगतका सबै चिजलाई साक्षीपूर्वक हेर्ने कला अध्यात्म हो। विज्ञानले जुन कुरालाई टुक्र्याएर प्रस्तुत गर्छ अध्यात्मले त्यसलाई जोडेर प्रस्तुत गर्छ। जोड (+) मा जहिले पनि शक्ति हुन्छ। त्यसैले अध्यात्म एउटा शक्ति हो।

मानौं विज्ञानले आँखाबारे कुरा गर्छ भने अध्यात्मले यसको ज्योतिको महत्त्वबारे प्रकाश पार्छ। विज्ञानले बाहिरी आँखाको शल्यक्रिया गरेर देख्न सक्ने बनाउँछ अर्थात् बाहिरी अँध्यारो चिर्छ भने अध्यात्मले भित्री अन्धकार चिरेर ज्ञानको ज्योति प्रदान गर्छ।

विज्ञानले जीवनलाई आयुसँग तुलना गरेर छिटोभन्दा छिटो भोग गर्न सिकाउँछ भने अध्यात्मले जीवनको न आदि न अन्त्य अर्थात् भौतिक शरीरभन्दा माथिको आत्माको कुरा गर्छ। जुन कहिल्यै नाश हुँदैन न त यसको कुनै आयु हुन्छ। त्यसैले गीतामा आत्माबारे उल्लेख छ,

न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे।।
नैनं छिन्दन्ति शास्त्राणि नैनं दहति पावकः।
न चैनं क्लेदयन्तापो न शोषयति मारुत:।।

समष्टि अर्थात् पूर्णताको ज्ञान अध्यात्मले दिन्छ भने विज्ञानले पूर्णता प्रदान गर्न सकेको छैन। विज्ञानले डिजाइन डिजाइनका आधुनिक घडी बनाएको छ। तर‚ समयको मापन अस्तित्वले गर्छ।

हो, भौतिक जीवनमा विज्ञानको पनि त्यत्तिकै महत्व छ। तर‚ अध्यात्मबिनाको विज्ञान अपूर्ण हुन्छ। त्यसैले महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भन्नुभएको छ, ‘विज्ञान धर्मबिना लंगडो छ अनि धर्म विज्ञानबिना अन्धो।’ विज्ञानले जीवनलाई सधैं रफ्तारमा दौडाएको छ।

उत्सवपूर्ण जीवनको समय

चाडपर्वको मौसम र माहोल आउँछ। जीवन उत्सवमय लाग्छ तर दुई दिनका लागि मात्र। अनि फेरि सोच्छ मानिस जीवन त संघर्ष हो। दु:ख, गर्न धेरै बाँकी, दौडधूप गरेर धेरै कुरा हासिल गर्न लागिपरेजस्तो लाग्छ। म कहाँ पुग्नुपर्ने थियो, कहाँ छु, यात्राको आनन्द छोडेर गन्तव्यको चिन्ताले सताइहाल्छ।

जीवनको लक्ष्य, जिउनुको उद्देश्य, सही मार्गको ज्ञान भित्रबाट मात्र खुल्छ। जीवन नै स्थायी छैन। त्यसैले बाँचुञ्जेलको जीवनलाई सार्थक बनाएर जिउने कला अत्यावश्यक छ। जीवनमा समस्या र दुःख मात्र देख्ने व्यक्तिले पनि बुझ्नु जरुरी छ। जब जीवन नै स्थायी छैन त समस्या र दु:ख कसरी स्थायी होलान् ?

जीवनको लक्ष्य, जिउनुको उद्देश्य, सही मार्गको ज्ञान भित्रबाट मात्र खुल्छ। जीवन नै स्थायी छैन। त्यसैले बाँचुञ्जेलको जीवनलाई सार्थक बनाएर जिउने कला अत्यावश्यक छ। जीवनमा समस्या र दुःख मात्र देख्ने व्यक्तिले पनि बुझ्नु जरुरी छ। जब जीवन नै स्थायी छैन त समस्या र दु:ख कसरी स्थायी होलान् ?

भनिन्छ, सकारात्मक तरिकाले लिने हो भने– शब्द संगीत बन्छ, गीत नृत्य बन्छ, मुस्कान हाँसो बन्छ, बुद्धि ध्यान बन्छ र जीवन उत्सव बन्छ। त्यसैले जीवनमा जस्तो परिस्थिति आए पनि सकारात्मक रूपमा लिएर अगाडि बढ्न सक्नेले नै जीवनलाई उत्सवपूर्ण बिताउन सक्छ।

प्राकृतिक रूपमा जन्मेका हामी प्रकृतिजस्तो स्वस्फूर्त भने बन्न सक्दैनौं। नदीनाला, चराचुरुंगी, रूखबिरुवा सबै आफ्नै स्वभावमा मस्त छन्, कहिल्यै चिन्ता छैन प्रकृतिमा। मानिस भने यसको विपरीत जहिले जुन विषयमा पनि चिन्ताग्रस्त भइरहन्छ।

स्व धर्मे निधनं श्रेयः परधर्मो भयावहः 

आफ्नो स्वभाव अर्थात् स्वधर्ममा जिउनुजस्तो श्रेयस्कर अरू केही छैन भनेर भागवत गीतामा कृष्णले अर्जुनलाई बताउनुभएको छ। अहंबाट माथि उठेर शुद्धात्माको अनुभूति गर्न सक्नु नै स्व–भाव अर्थात आफ्नो भाव हो।

हाम्रो चेतनाको स्तरलाई तलबाट माथिसम्म पुर्‍याउने साधना जब जागृत हुन्छ तब हामी आफ्नो स्वभावमा पुग्छौं। काम, क्रोध, लोभ, मोह, इर्ष्या, द्वेष, रिस, राग हाम्रा स्वभाव र हाम्रा धर्म होइनन्। त्यसैले यिनलाई छाडेर आफ्नो स्वभावमा फर्कनु श्रेयस्कर छ।

जीवनमा धेरै सिकियो जानियो। तर‚ आफ्नै जीवनका धेरै पाठ सिक्न बाँकी छ। धैर्य, प्रेम, स्वीकार, करुणा जस्ता आफ्नै स्वभावमा कसरी रमाउने ती पाठहरू आफ्नै किताब पढेपछि मात्र बोध हुन्छ। जसमा अनुभव कोरिएको छ, जहाँ अनुभवको आधारमा जीवनलाई हेरी, जिउने कला प्राप्त हुन्छ त्यही किताब आफ्नो किताब हो।

मरेपछि मात्र स्वर्ग देखिने कहानीको विश्वास गरेर जीवनभर दुःख भोग्नलाई कसैले नारोक्ला। तर‚ स्वर्ग र नर्क कहीँ कुनै आकाशमा छैन न त पातालमै। हाम्रो मनभित्र र हामीले गरेका कर्ममा निहित छ स्वर्ग र नर्क।

जुन कर्म र क्षणप्रति हामीलाई खुसी लाग्छ, राम्रो लाग्छ त्यही स्वर्ग हो भने जुन कर्म र घटनाप्रति हामी दुःखी बन्छौं त्यही नर्क हो। नकारात्मक सोच र धारणामा जिउने व्यक्ति नर्कमा जिउँछ भने विधायक भावमा जिउने व्यक्ति स्वर्गमा जिउँछ। यी दुई स्थिति बीचमा पनि जीवन छ। जसको बोधले परम लक्ष्य प्राप्त हुन्छ। यसका लागि हामीले जान्ने कोशीस गरेका छौं कि छैनौं त्यसमा निर्भर गर्दछ। 

यी सबै कुरा बुझ्न र अनुभूति गर्न मनरूपी प्रोजेक्टर सँगै लिएर हिँड्यौँ भने कहिल्यै सम्भव हुँदैन।

मनको पर्दा, सन्न्यास, संसार, घर, परिवार, व्यापार, नोकरी, पद आदि आदि जुन पर्दा प्रयोग गरे पनि असली घरभित्र प्रवेश गर्न सकिँदैन। किनकि पर्दा परिवर्तन गरे पनि प्रोजेक्टर उही छ भने दृश्य त त्यही देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.