कार्यकर्ताको धारणा बुझ्दै दुवै दल, आन्तरिक तयारी पनि सँगसँगै

|

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालेमलको गृहकार्यले तीव्रता पाएको छ। कांग्रेस धादिङका सभापति रमेश धमला र माओवादी केन्द्रका जिल्ला अध्यक्ष शालिकराम जम्कट्टेलको अग्रसरतामा छलफल अघि बढेको हो। त्यसो त धादिङमा यसैवर्ष भएको स्वतन्त्र विद्यार्थी युनियन र पत्रकार महासंघको चुनावमा यी दुई दलबीच सहकार्य भएको थियो।

स्थानीय तह निर्वाचनमा पनि सहकार्य गर्ने गरी छलफल चलिरहेको कांग्रेसका जिल्ला सभापति रमेश धमलाले बताए। ‘माओवादीसँग तालमेल गर्ने विषयमा होमवर्क भइरहेको छ,’ थाहा खबरसँग सभापति धमलाले भने, ‘स्थानीय आवश्यकता हेरेर सहकार्य गर्नेगरी छलफल अघि बढेको छ।’

पार्टीको भूमिका बलियो बनाउने उद्देश्यले नै सहकार्यको कुरा उठेको उनी बताउँछन्। ‘राजनीतिमा हरेक कुराको सम्भावना रहन्छ,’ धमलाले भने, ‘जिल्लामा दुवै पार्टीको भूमिका बलियो बनाउनुपर्छ भन्ने बुझाइले तालमेलको प्रयत्न भइरहेको हो।’

यद्यपी हस्ताक्षर नहुँदासम्म यसै भन्न नसकिने उनी बताउँछन्। ‘छलफल सकारात्मक रहे पनि हस्ताक्षर नभएसम्म यसै भन्न सकिन्न,’ धमलाले भने, ‘राजनीतिमा सम्भावना भन्ने कुरा एक प्रतिशतबाट बढेर सय र सयबाट घटेर एक प्रतिशत हुन बेर लाग्दैन।’

माओवादी केन्द्रका जिल्ला अध्यक्ष शालिकराम जम्कट्टेलले पनि सहकार्यका लागि कांग्रेससँग छलफल चलिरहेको बताउँछन्। ‘सकेसम्म तालमेल गर्ने भन्ने सोच हो, तै पनि कतिपय अप्ठ्याराहरु छन्,’ जम्कट्टेलले भने, ‘पहिले सैद्धान्तिक हिसाबले सहमति गर्ने गरी छलफल चलिरहेको छ।’

अहिले दुवै पार्टीले स्थानीय तहमा कार्यकर्ताको मनोभावना बुझ्ने काम गरिरहेको उनले जानकारी दिए। ‘हामी अहिले स्थानीय तहका जनता र कार्यकर्ता के चाहन्छन् भनेर मनोविज्ञान बुझिरहेका छौँ,’ जम्कट्टेलले भने, ‘हालसम्म यतिउति लिने भन्ने विषयमा कुरा भएको छैन।’

यद्यपी आफूहरु समान हैसियतमा प्रतिनिधित्व हुने गरी तालमेलको पक्षमा रहेको माओवादी केन्द्र धादिङका सह–सचिव मनराज भण्डारी ‘शैलेस’ बताउँछन्। ‘तालमेल गर्नु पर्दा समान हैसियतमै हुनुपर्छ भन्ने हाम्रो माग हो, तर छलफल भागबण्डाको चरणमा पुगिसकेको छैन,’ भण्डारीले भने।

एमालेको छिर्के !

कांग्रेस–माओवादीबीच तालमेलको गृहकार्य निकै अघि बढिसकेका बेला नेकपा एमालेले भने तालमेल हुन नदिने रणनीति लिएको छ। यसक्रममा उसले माओवादीसँग सहकार्यको प्रस्तावसमेत राखेको छ।

कम्तिमा पनि नीलकण्ठ नगरपालिकामा सहकार्य गर्ने गरी एमालेले माओवादीसँग प्रारम्भिक प्रस्ताव राखेको हो। अध्यक्ष जम्कट्टेल र उपाध्यक्ष रामबहादुर भण्डारीसँग छुट्टाछुट्टै भेटेर यस्तो प्रस्ताव राखिएको थियो।

एमालेका तर्फबाट नीलकण्ठ नगरपालिकामा सहकार्य गरौँ भन्ने प्रस्ताव आएको अध्यक्ष जम्कट्टेलले पनि स्वीकारे। ‘रामबहादुरजी र मसँग छलफल भएको हो, उहाँहरुले नीलकण्ठ नगरपालिकामा सहकार्य गरौँ भन्नुभएको थियो,’ जम्कट्टेलले भने। यद्यपी आफूहरु जोसँग तालमेल गरे पनि जिल्लाभर एकमुष्ट गर्ने पक्षामा रहेको उनको भनाइ छ। 

नीलकण्ठ नगरपालिकामा तुलनात्मकरुपमा कांग्रेस बलियो छ। 

आन्तरिक तयारी पनि सँगसँगै

चुनावी तालमेल हुन नसक्ने अवस्थामा एक्लाएक्लै अघि बढ्न दुवै पार्टीले आन्तरिक तयारीलाई पनि सँगसँगै अघि बढाएका छन्। ‘हामीले ८/९ दिनभित्र उम्मेदवारको टुंगो लगाइसक्छौं,’ काँग्रेस सभापति धमलाले भने, ‘स्थानीय तहबाट सिफारिस आउने क्रम जारी छ।’

नगरपालिका, गाउँपालिका र वडाहरुबाट आएका सिफारिसमध्ये क्षेत्रबाट सर्वसम्मत भएका नामहरु त्यहीँबाट टुङ्ग्याउने र सर्वसम्मत हुन नसकेको ठाउँमा जिल्लाले निर्णय गर्ने धमलाले जानकारी दिए। जिल्लाभर कांग्रेसको जनलहर रहेको भन्दै उनले आन्तरिक समस्या समाधान गरेर थप माहोल बनाउन क्रियाशील रहेको बताए।

माओवादी केन्द्रले पनि उम्मेदवार चयनको गृहकार्य जारी राखेको छ। अधिकांश स्थानीय तहबाट सिफारिस आइसकेको र केहीबाट आउने क्रम जारी रहेको अध्यक्ष जम्कट्टेलले बताए। केही दिनभित्रै अन्तिम टुंगोमा पुगिने उनको भनाइ छ।

धादिङमा २ नगरपालिका र ११ गाउँपालिका छन्। जिल्लामा त्रिपक्षीय चुनावी भिडन्तको स्थिति रहेकाले मुख्य तीनमध्ये कुनै दुई पार्टीबीच तालमेल भएमा सोही पक्षको पल्ला भारी हुने निश्चित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.