बन्दी प्रत्यक्षीकरणका रिटसमेत हेरेनन्

|

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरूले शुक्रबारका पनि सबै इजलास बहिस्कार गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरूले शुक्रबार बन्दी प्रत्यक्षीकरणका रिटसमेत हेरेनन्।

प्रधानन्यायाधीश राणाले आफू बाहेकका आठ वटा इजलास गठन गरेका थिए। राणाले न्यायाधीश हरिकृष्ण कार्कीको एउटा मात्रै एकल र अन्य सात वटा संयुक्त इजलास गठन गरेका थिए।

शुक्रबार न्यायाधीश न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीका लागि इजलास तोकिएको थियो।

राणाले शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरणका रिटसहित अन्य मुद्दा पनि सुनुवाइका लागि पेसी तोकेका थिए। तर, न्यायाधीशहरूले भने बन्दीका मुद्दा समेत हेरेनन्।

कात्तिक ७ गतेदेखि आन्दोलन थालेका न्यायाधीशहरूले यसबीचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै हेर्ने निर्णय गरेका थिए। नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा धर्ना दिएका कारण न्यायाधीशहरू इजलासमा बसेनन्। 

बारको धर्नाका कारण प्रधान्यायाधीश राणा पनि शुक्रबार बिहान पौने ११ पछिमात्रै सर्वोच्च पुगेका थिए। वकिलहरू अदालतको मुल गेटमै धर्नामा बसेपछि राणा वैकल्पिक बाटोबाट अदालत छिरेका हुन्।

बारले भने आइतबार पनि मुल गेटमा धर्ना दिने जनाएको छ। प्रधानन्यायाधीश राणाविरुद्ध वकिलहरू र न्यायाधीशहरू आन्दोलनमा उत्रिएपछि मुद्दाको सुनुवाइ प्रभावित बनेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.