|

काठमाडाै‌ : वैशाख ३१ गते हुने भनिएको स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा कहाँ कुन उम्मेदवार बन्ने भन्ने कुराले माहोल तातेको छ यतिबेला। यस अगाडिका चुनावभन्दा यो चुनावमा महिला उम्मेदवारको चर्चा ज्यादा चुलिएको छ। किनभने हरेक स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला हुनैपर्ने प्रावधान संविधानमा छ। त्यसैगरी हरेक वडामा एकजना दलितसहित दुई महिला अनिवार्य हुनुपर्ने व्यवस्था पनि संविधानले नै किटान गरेको छ।

महिलालाई नेतृत्व तहमा ल्याउनका लागि संविधानले गरको व्यवस्थाअनुसार व्यवहारमा कार्यान्वयन भने हुन सकेको छैन। संविधानमा स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने भनिए पनि दलहरुले भने उपप्रमुखमा मात्र महिलालाई अगाडि सारेका छन्।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट काठमाडौंका १० नगरपालिकामा सम्भावित उम्मेदवारमध्ये एउटा नगरपालिकामा मात्र महिला मेयरको दाबी रहेकाे छ। टोखा नगरपालिकाको मेयर पदका लागि माओवादी नेत्री कल्पना शर्माले आफ्नो दाबी गरेकी छन्। त्यहाँ माओवादीका युवा तथा विद्यार्थी नेता धर्म डंगोलले पनि मेयर पदमा रुचि देखाएका छन्।

उपप्रमुखका दाबेदारमा भने महिला अग्रस्थानमा देखिएका छन्। काठमाडौंमा माओवादीका तर्फबाट उपमेयरका आकांक्षी यस्ता छन्। टोखा नगरपालिकामा मेयर पदका लागि कल्पना शर्माको चर्चा चुलिइरहेको हुनाले उपमेयरमा शेखर श्रेष्ठको चर्चा चलिरहेको छ ।

दक्षिणकाली नगरपालिकाको उपमेरयर पदमा उमा बस्नेत र कमला बोहोराको चर्चा चलिरहेको छ। बस्नेत र बहोरा दुवै माओवादी केन्द्रका साधारण सदस्य हुन्।

नार्गाजुन नगरपालिकाको उपमेयरमा देवकी पौडेलको चर्चा छ। पौडेल जनयुद्धकालीन समयदेखि माओवादी हुन्। स्याङजा टक्सारमा जन्मिएकी उनी माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य पनि हुन्। माओवादीको तत्कालीन जनमुक्ति सेना नेपालमा कम्पनी कमिसारको भूमिका निर्वाह गरेकी पौडेलले आफ्नो जितको सम्भावना प्रबल रहेको बताएकी छन्।

तारकेश्वर नगरपालिकाको उपमेयरमा माओवादीले बिना रानालाई अगाडि सारेको छ। अरु कोही दाबेदार नभएको हुनाले उनको उम्मेदवारी लगभग निश्चित जस्तै भएको मेयरका उम्‍मेदवार मकुमार थापाले जानकारी दिए।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य बिना राना माओवादी केन्द्र काठमाडौं जिल्ला समन्वय समितिकी सदस्य हुन्। अन्य पार्टीले आफ्ना महिला उम्मेदवार तय नगरे पनि मगरको तुलनामा अरु पार्टीका दाबेदार नै नरहेको हुनाले उपमेयरमा जित हासिल गर्ने पक्कापक्की रहेको थापाले बताएकी छन्।

११ वटा वडा रहेको तारकेश्वरका २ वडामा वडा अध्यक्षका दाबेदार महिला छन्। वडा नंं.१०मा अंशुमाया श्रेष्ठ र वडा नं. ११ मा बालकुमारी वाग्ले वडा अध्यक्षको लागि चुनावी प्रतिस्‍पर्धामा होमिन लागेका हुन्।

बूढानीलकण्ठ नगरपालिकामा कुशुम विश्वकर्मा, होमकुमारी दुलाल हेमा र संगीता पन्त उपमेयरका आकांक्षी देखिएका छन्। काठमाडौं पार्टी कमिटीकी सदस्यसमेत रहेकी कुसुम विश्वकर्मा अनेमसंघ क्रान्तिकारीकी नगर सहइन्चार्ज हुन्। युद्धकालमा भूमिगत राजनीति सुरु गरेकी उनी उपमेयरको सशक्त दाबेदार हुन्।

त्यस्तै, अर्की महिला नेता उपमेयरकी दाबेदार हुन् होमकुमारी दुलाल उनी सामाजिक कार्यकर्ता हुन्। स्थानीयस्तरमा राम्रो प्रभाव रहेकी उनी धेरै संघसंस्थाहरुमा क्रियाशील छन्। माओवादीनिकट महिला संगठनको नगर अध्यक्ष रहेकी उनी एमालेबाट माओवादीमा प्रवेश गरेकी हुन्।

त्यस्तै, बूढानीलकण्ठ नगरपालिकामै उपमेयरको दाबी गरिरहेकी  संगीता पन्त महिला संगठनकी नगर कोषाध्यक्ष हुन्। राम्रो राजनीतिक चेतना राख्‍ने उनी पनि एमालेबाटै माओवादीको राजनीतिमा प्रवेश गरेकी हुन्।

१३ वडा रहेको वुढानीलकण्ठमा १ नं. वडामा मात्र माओवादीले महिलालाई अध्यक्षको रुपमा अगाडि सारेको छ। ललिता रोका वडा अध्यक्षको लागि चुनावी मैदानमा होमिएकी छन्।

कागेश्वरी मनोहरा नगरपालिकामा रुकुरनपाल माओवादी केन्द्रका तर्फवाट उपमेयरको दाबेदार रहेकी छन्। स्याङजा जिल्लाको दलित परिवारमा जन्मिएकी रनपाल माओवादी  शान्ति प्रकृयामा आएसँगै पार्टीमा मिसिन आएका नारायणकाजी श्रेष्ठ प्रकाशसँगै माओवादीमा भित्रिएकी हुन्। भक्तपुर जिल्लामा माओवादीनिकट दलित राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला अध्यक्षको जिम्मेवारी सकुशल निर्वाह गरेकी रनपाल प्रतिभाशाली र दक्ष राजनीतिकर्मी महिलाको छवि बनाउन सफल छिन्।

कीर्तिपुर नगरपालिकामा  माओवादी केन्द्रका तर्फवाट सुशीला बस्नेत, लीला पण्डित र विष्णुदेवी महर्जनको नाम उपमेयरको उम्मेदवारको रुपमा चर्चामा छ। लमजुङ जिल्लामा जन्मिएकी सुशीला बस्नेत युद्धमा सहभागी भएर आएकी पात्र हुन्। उनका भाइलाई तत्कालीन शाही नेपाली सेनाले बेपत्ता पारेका थिए। अझै पनि उनका भाइको कुनै खबर छैन।

त्यस्तै, लीला पण्डित माओवादी कीर्तिपुर नगरपालिकाकी उपाध्यक्षको रुपमा क्रियाशील छिन्। विष्णुदेवी महर्जन भने सामान्य पार्टी सदस्य हुन्। सरकारी र गैरसरकारी संघसंस्थाहरुमा क्रियाशील महर्जन स्थानीयस्तरमा राम्रो स्थान बनाउन सफल महिला हुन्।

शंकरापुर नगरपालिकामा उपमेयरका लागि माओवादी केन्द्रले आफ्नो उम्मेदवारको टुंगो लगाइसकेको छ। काठमाडौं जिल्ला पार्टी कमिटी सदस्य इन्द्रकुमारी तामाङलाई शंकरापुर नगरपालिकामा माओवादीका तर्फबाट उपमेयरको दाबेदारका रुपमा अगाडि सारिएको मधु केसीले जानकारी दिए। 

चन्द्रागिरि नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट दुईजना महिलाहरु उपमेयरका दाबेदार देखिएका छन्। अखलि नेपाल महिला संघ क्रान्तिकारीकी चन्द्रागिरि नगरपालिका सचिव पूजा नेपाल र सोही कमिटीकी नगर सदस्य उर्मिला रोकाले उपमेयरको दाबी गरिरहेका छन्। २५ वर्ष आसपास उमेर भएका यी दुवै महिला नेत्रीहरु अखिल क्रान्तिकारीमा राजनीति गरेर आएका हुन्।

चन्द्रागिरि नगरपालिकाको ७ नं. वडामा पार्वती चापागाई‌ वडा अध्यक्षको दाबेदार छिन्। अरु वडाहरुमा महिलाको लागि समावेशी समानुपातिकको कोटाबाहेक महिलालाई माओवादीले अगाडि सारेको छैन।

गोकर्णेश्वर नगरपालिकामा उपमेयर पदका लागि माओवादी केन्द्रका तर्फबाट महिला नेताहरु रेणु कार्की र सीता तामाङको चर्चा चलिरहेको छ। राष्ट्रिय जनमोर्चावाट माओवादी प्रबेश गरेकी कार्की महलिा संगठनकी काठमाडौं जिल्ला उपाध्यक्षको जिम्मेवारीमा छिन्। पार्टीको पूर्व जिल्ला कमिटी सदस्य उनी अहिले नगरपालिका स्तरीय पार्टी कमिटीको सचिवालय सदस्य रहेर काम गरिरहेकी छिन्। त्यसैगरी, उपमेयरकी अर्की दाबेदार सीता तामाङ गोकर्णेश्वर नगरपालिका स्तरीय महिला संगठनकी अध्यक्ष हुन्।

महिलालाई प्रमुख पदमा चुनौती

माओवादी केन्द्र काठमाडौं महानगरपालिकाकी सहसंयोजक सरिता मर्हजन महिलालाई चुनाव लड्न सबै हिसाबले कठिन हुने बताउँछिन्। चुनावी खर्च कसरी जुटाउने भन्ने समस्या मुख्य छ। आर्थिक समस्याले नै आफूले उम्मेदवारी दिने हिम्मत नगरेको महर्जन बताउँछिन्।

टोखा नगरपालिकामा मेयरको दाबी गरिरहेकी कल्पना शर्मा पनि यो कुरामा सहमत छिन्। उनी भन्छिन्, 'पहिलो कुरा पार्टीमा हालीमुहाली पुरुषको छ। महिलाले टिकट नै पाउँदैनन्। सबै पदमा सकेसम्म पुरुष नै हावी हुन चाहन्छन्। सबै हिसाबले सक्षम महिलालाई चुनावी प्रतिस्‍पर्धामा जान्छु भन्दा पनि पुरुष कमरेडहरु सहयोग गर्दैनन्।' महिलाका लागि दोस्रो स्थान हो, पहिलो होइन भन्ने कतिपयको बुझाइले मेयर पदमा लड्न आकांक्षा देखाइरहेका महिला पनि चुप लागेर बस्‍नपरेको शर्माको गुनासो छ।

नीति निर्माणको तहमा पार्टी केन्द्रको मुख्य भूमिका रहे पनि व्यवहारमा जाँदा भने स्थानीय कमिटीको निर्णय नै प्रधान हुने माओवादी केन्द्रकी हेडक्वाटर सदस्य जयपुरी घर्ती बताउँछिन्। उनी भन्छिन् 'महिलालाई प्रमुख वा उपप्रमुखमध्ये एउटा अनिवार्य दिने भनिएको हो, उपप्रमुखमा मात्र सीमित गर्ने भनेको होइन' घर्ती भन्छिन्, महिला उम्मेदवारलाई टिकट दिनेदेखि जिताउने सबै काम स्थानीय पार्टी कमिटीको हो। जसले प्रमुख वा उपप्रमुखमा जित्छ जस्तो लाग्छ उसैलाई उठाउने पार्टी नीति रहेको घर्ती बताउँछिन्।

महिलाहरु जमेर राजनीति गर्ने कुरामा समस्या देखिएको भन्दै नेत्री घर्तीले दरिलो आत्मविश्वासका साथ स्थानीय तहका कुनै पनि पदमा निर्वाचित हुन महिलालाई आग्रह पनि गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.