काठमाडौं : विसं. २०१४ कात्तिक २७ गते काठमाडौंको गैरीधारामा जन्मेका वरिष्ठ कलाकार हरिवंश आचार्य ६४ वर्ष पूरा भएका छन्। चार दशकभन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय आचार्य एक अभिनेता, लेखक, निर्देशक तथा गायक पनि हुन्।
दर्जनौँ टेलिशृंखला तथा प्रहशन गरेको मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले धेरै फिल्ममा पनि काम गरेका छन्। अहिलेको पुस्ताका हास्य कलाकारहरूले मह जोडीलाई गुरुको रूपमा सम्मान गर्ने गर्छन्।
आचार्यका 'चिना हराएको मान्छे' र 'हरिबहादुर' गरी दुई कृति सार्वजनिक छन्। साथै उनले दर्जनौँ गीतमा आफ्नो आवाज पनि दिएका छन्। जन्मदिनको अवसरमा यहाँ आचार्यका पाँच गीतको बारेमा जानकारी दिइएको छ।
हाम्री आमा सारै नै बाठी छन्
आचार्यको शब्द, संगीत तथा स्वर रहेको गीत 'हाम्री आमा सारै नै बाठी छन्' हास्यव्यंग्य जनराको गीत हो। जसमा धन सम्पत्तिको लागि मान्छे के के गर्छ र एउटा पुस्ताको लापरबाहीको असर अर्को पुस्तामा कसरी पर्छ भनेर व्यंग्यात्मक शैलीमा भनिएको छ।
रोशन प्रताप राणाको निर्देशनमा बनेको गीतको भिडियोमा पनि आचार्यको अभिनय रहेको छ। आमा, बाबु, छोरा, हजुर बुबा लगायतका धेरै पात्रमा उनी आफैँ देखिएका छन्।
साझा बसमा जो पनि चढ्दछ
फरक-फरक क्षेत्रका फरक-फरक दैनिकी बाँचिरहेका मान्छे जो आफ्नो आफ्नो खुसी, तनाव, बिमार लिएर एउटै बसमा यात्रा गरिरहेका हुन्छन् त्यस्ता मानिसहरूको कथा आचार्यले 'साझा बसमा जो पनि चढ्दछ'बाट भनेका छन्।
कामको, अध्ययनको शिलशिलामा मानिसहरू देशभरीबाट काठमाडौंमा जम्मा हुने गर्छन्। नेता, कार्यकर्तादेखि प्रहरी, पाकेटमार, बच्चा, बुढा सबै जना भेट हुने सार्वजनिक यातायातको कथा रमाइलो ढंगले उक्त गीतमा समावेश गरिएको छ। लगभग तीन दशकअघि बनेको उक्त गीत आज पनि उत्तिकै सान्दर्भिक छ।
सारंगी रेटौँला
आचार्य र लक्ष्मी न्यौपानेको स्वरमा रहेको यो गीतमा संगीत आचार्यले नै भरेका हुन्। खड्ग न्यौपानेको शब्द रहेको गीतमा धन कमाउन विदेश जान लागेको श्रीमान् र श्रीमान विदेश गएपछि एक्लै हुन्छु भनेर चिन्तित श्रीमतीको कथा रहेको छ। 'सारंगी रेटौँला मौका मिले फेरि भेटौँला..' आचार्यका सदाबहार गीतमध्येमा पर्छ।
एउटा कुरा कसैलाई भन्नु हुँदैन
गत वर्ष सार्वजनिक भएको 'एउटा कुरा छ' बोलको गीतमा पनि आचार्यकै शब्द, संगीत, स्वर तथा अभिनय रहेको छ। उक्त गीतमा आचार्यले चुनावअघि विभिन्न आशा देखाएर चुनावपछि जनताको वास्ता नगर्ने, घुस खानु अपराध हो भन्दै आफैँले घुस खाने प्रवृत्तिका नेतालाई व्यंग्य गरेका छन्।
सागरराज शर्माको निर्देशनमा बनेको भिडियोमा आचार्य रिक्सा चालकको भूमिकामा देखिएका छन् जसलाई हात हेराउँदा ज्योतिषिले चुनाव लडेर नेता बन्यो भने धनी हुन्छ भनेर भनेको हुन्छ।
चञ्चले गण्डकी अञ्चले
रोमान्टिक कमेडी गीत 'चन्चले चन्चले गण्डकी अञ्चले' आज पनि उत्तिकै मन पराइन्छ। पोखराको परिवेश समेटिएको उक्त गीतलाई आचार्य र सुकमित गुरुङले गाएका हुन्।
५० को दशकमा सार्वजनिक भएको यो गीतलाई नेपाली फिल्म शंकरमा पनि समावेश गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।