‘संसदीय व्यवस्थाभित्र छिरेर एकता सम्भव छैन’

|

काठमाडौं : नेकपा एमालेसँगको पार्टी एकता भंग भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पुराना सारथि सम्झिन थालेका छन्। 

एमालेसँग पार्टी एकता गरेर दुई तिहाइको जनमत पाउँदा समेत केपी शर्मा ओलीसँग कुरा मिल्न नसकेपछि प्रचण्डले पूर्वमाओवादीहरूसँग एकताको प्रयास गरिरहेका छन्। 

एमालेसँगको विभाजनपछि रामबहादुर थापा बादल, लेखराज भट्टसहितका नेताहरू गुमाएपछि प्रचण्डले नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराई लगायतसँग पार्टी एकताको पहल गरिरहेका छन्। 

प्रचण्डले गरेको पार्टी एकताको प्रयासमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टी सकारात्मक देखिएको छ। नेकपाका महासचिव विप्लवले माओवादी केन्द्रसँग पार्टी एकता हुने संकेत देखाइरहेका छन्। 

सुदूरपश्चिममा अस्थायी राजधानी धनगढीमा दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै शनिबार विप्लवले भने, ‘माओवादी केन्द्रसँग पार्टी एकता सम्भव छ। हामी एकता गर्ने हो। हामी निश्चित रूपमा भन्नुपर्दा एक हुने नै हो तर जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौं।’

सम्पूर्ण देशभक्त कम्युनिष्टले वैदेशिक हस्तक्षेपविरुद्ध लड्न एकजुट हुनुपर्नेमा जोड दिइरहे। केवल माओवादीसँग मात्र नभएर समग्र कम्युनिष्ट आन्दोलन र पार्टी एक हुने उनको भनाइ थियो तर पार्टी एकतापछि संसदीय अभ्यास असफल भइसकेकाले जनमतमा जानुपर्ने नेकपामा मत छ। 

विप्लवले पार्टी एकता गर्न सकारात्मक देखिएपछि प्रचण्डको प्रस्तावलाई बल पुगेको छ। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराईलगायतका सच्चा क्रान्तिकारीबीच छिटै एकता हुने दाबी गरेका थिए।

‘मलाई विश्वास छ‚ अहिले कुराकानी पनि चलिरहेको छ, किरणजीहरू, बाबुरामजीहरू, विप्लवजीहरू र अरू समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरू फेरि एकपटक एकताबद्ध हुनैपर्छ’‚ प्रचण्डले भनेका थिए। 

‘छलफल भइरहेको छ’

कम्युनिष्ट आन्दोलनको रक्षार्थ पूर्वमाओवादीहरूको एकताका आवश्यक भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा बताउँछन्। 

उनी भन्छन्, ‘पार्टी एकताका लागि विभिन्न कोणबाट अनौपचारिक रूपमा छलफल चलिरहेको छ। त्यसले औपचारिकता पाउन सकेको छैन तर सबै कम्युनिष्ट एकताको पक्षमा भएकाले पहिलो हामीले पूर्वमाओवादीहरू एकजुट हुनुपर्ने ठानेका हौँ।’

पूर्वमाओवादी एकताका लागि सबै नेताहरू सकारात्मक भएको उनको भनाइ छ। 

पूर्वमाओवादीसँग एकता सहज 

पूर्वमाओवादी नेताहरू एकजुट हुनुपर्ने आजको आवश्यकता भएको नेकपाका नेता दीपक चलाउने बताउँछन्। 

उनी भन्छन्, ‘पार्टी एकता पूर्वमाओवादी मात्रै होइन। कम्युनिष्ट एकताबारे पनि छलफल गरिरहेका छौँ। पूर्वमाओवादी एकताबद्ध हुन आवश्यक छ त्योभन्दा जरुरी सिंगो कम्युनिष्ट एकता आवश्यक छ। त्यसका लागि सबै वामपन्थी दलहरूसँग कुरा हुनुपर्छ।’

पार्टी एकताको विषयमा एकपटक सबै शीर्ष नेताहरूसँग छलफल भइसकेको उनको भनाइ छ। 

‘हामीले शीर्ष नेताहरूसँग बृहत् वाम एकता र तीनबुँदे सहमति कार्यान्वयन गरेर जनमतको पक्षमा जानेबारे छलफल गरिरहेका छौँ’‚ उनले भने, ‘औपचारिक कुरा केही समयअगाडि शीर्ष नेताहरुसँग भएको हो। त्यसपछि औपचारिक रूपमा छलफलमा भएको छैन तर नीतिगत हिसाबले पार्टी एकता गर्न वैचारिक रूपमा मिल्नुपर्छ भन्नेमा हामी एकमत छौँ।’

माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहज भए पनि जनमत संग्रहबारे कुरा मिल्ने असहज हुने उनको ठम्याइ छ।

‘संसदीय व्यवस्थाभित्र छिरेर हामी एकता गर्ने पक्षमा छैनौँ। संसदीय प्रक्रियाबाट बाहिर निस्केर गर्ने एकता गर्न माओवादीको कति सम्भव छ? त्यो उहाँहरूको कुरा हो’‚ उनले भने, ‘संसदीय व्यवस्थाभित्र छिरेर हामीसँग एकता सम्भव छैन।’

प्रचण्डको त्यो प्रस्ताव 

माओवादी केन्द्रका अध्यक्ष पूर्वमाओवादी मात्रै नभएर बृहत् कम्युनिष्ट एकता गर्ने पक्षमा छन्। प्रचण्डले कात्तिक १३ गते सर्लाहीमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)लाई खुला रूपमै पार्टी एकताको प्रस्ताव गरे। 

जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महेन्द्रराय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म उपेन्द्रजी र महेन्द्रजीलाई पनि भन्छु- पार्टी एकता गरौं, ढुक्क। क्षेत्रीय पार्टी बनाएर किन बस्ने? गठबन्धन त हामीले गरेकै छौं। अब पार्टी एकता गरौं। ढिलो नगरौं, तपाईंहरूलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौं।’

जसपाले माओवादी केन्द्रसँगको एकताबारे कुनै छलफल चलाएको छैन तर जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई जनयुद्ध कालमा प्रचण्डको सहयात्री भएकाले एकता हुनसक्ने आँकलन गर्न थालिएको छ तर अहिलेकै अवस्थामा माओवादीसँग एकता हुन नसक्ने भट्टराईको बुझाइ छ। 

प्रचण्डले पूर्वमाओवादी मात्रै नभएर विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराईसहित माधव नेपाल, उपेन्द्र यादव लगायतलाई समेटेर बृहत् पार्टी एकताको रणनीति बनाएको निकटस्थहरू बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.