|

न्यूदिल्ली : भारत सरकारद्वारा संस्कृत व्याकरणका ‘अपर–पाणिनि’ उपाधिले विभूषित स्व.स्वामी गोविन्दाचार्य (गोविन्दप्रसाद शर्मा)को वैकुण्ठोत्सब भारतको नयाँ दिल्लीस्थित इब्राहिमपुरमा शुरु भएको छ ।

आइतबारदेखि शुरु भएको बैकुण्ठोत्सवमा नेपाल र भारतका करिब ५० जना विद्धान,विभिन्न मठका मठाधीस,भारत सरकारका विभिन्न तहमा रहेका अधिकारी लगायतको उपस्थिति रहेको छ। सो कार्यक्रममा सहभागि हुन नेपालमा रहेका वैष्णव सम्प्रदायका १० वटा मठका मठाधीसहरु र भारतका विभिन्न,साधु,सन्त र महात्मा दिल्लीमा आएका छन्।

नेपालमा जन्मेर सानैदेखि भारतमा अध्ययन र अध्यापन गर्दै संस्कृत वाङ्मयको श्रीवृद्धि र विस्तारका लागि जीवन समर्पित गरेका शर्मा भारत सरकारद्वारा संस्कृत व्याकरणका दोस्रो पाणिनिका साथै दर्जनौँ उपाधिबाट सम्मानित भएका थिए।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखमा पिता भीमप्रसाद शर्मा र माता भुदेवी शर्माको कोखबाट सन् १९६३ मार्च १५ मा जन्मिएका शर्मा शिक्षा, सेवा र साधनाका धरोधर र संस्कृत व्याकरणका दोस्रो पाणिनिको रूपमा भारतको राजधानी नयाँ दिल्लीमा प्रसिद्ध थिए।

उनले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट संस्कृत व्याकरण, वेदान्त र ज्योतिषमा स्नातकोत्तर (आचार्य) गरेका छन्। शर्माले भारतको अयोध्यामा अवस्थित श्रीनिवास बोधायन रामानुज संस्कृत महाविद्यालयको व्याकरण विभागाध्यक्ष पदबाट राजीनामा दिई संस्कृत भाषाको समृद्धिका लागि आफूलाई समर्पित गराएका थिए।

उनले भारतको राजधानी नयाँदिल्लीको इब्राहिमपुरमा श्री निवास सेवार्थ न्यास सञ्चालन गरी हजारौं नेपालीलगायत भारतीयलाई संस्कृतका प्रकाण्ड विद्वान् बनाइसकेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

पाणिनिय व्याकरण स्यैतिहासिकं परिशीलनम्, नित्यानुसन्धान, क्रृजुसिद्धान्त कौमुदी, सारसिद्धान्त कौमुदी, लघुसिद्धान्त कौमुदीलगायतका दुई दर्जन कृतिका श्रष्टा शर्मा ‘वंशी’ र ‘संस्कृत संवाद’ जस्ता भारतका प्रसिद्ध पत्रिकामा सम्पादकसमेत रहेका थिए। भारत सरकारबाट प्रदान गरिने जनसेवक सम्मान, संस्कृत सेवा सम्मान, आचार्य शंकर पुरस्कार, इण्डिया इन्टरनेशनल मल्टिवर्सिटीलगायतका दर्जन बढी सम्मानबाट सम्मानित शर्माले सञ्चालन गरेको संस्कृत महाविद्यालय भारतकै प्रतिष्ठित विद्यालय मानिने भारतको नयाँ दिल्लीस्थित श्रीनिवास संस्कृत विद्यापीठद्वारा संचालित आयुर्वेदिक औषधालयका प्रमुख चिकित्सक  वीरेन्द्र शाहले जानकारी दिए।

बाल्यकालदेखि नै अत्यन्त तीक्ष्ण बुद्धिका शर्माको बाल्यकाल ६ वटा विषयमा आचार्य गर्नुभएका उहाँकै मामा त्रिदण्डी स्वामी श्रीधराचार्य (बागलुङ कुँडुले) को सान्निध्यमा बितेको थियो। आठ वर्षको उमेरमा अध्ययनका लागि भारतको अयोध्या पुग्नुभएका शर्मा त्यहाँस्थित श्रीनिवास बोधायन रामानुज संस्कृत महाविद्यालयबाट आचार्य गरी सोही महाविद्यालयमा अध्यापन गरी व्याकरण विभागका अध्यक्षसमेत बनेका थिए। 

म्याग्दीको एउटा विकट गाउँमा जन्मिनुभएका शर्मा विश्वकै पुरानो भाषा संस्कृत व्याकरणका रचयिता पाणिनीको समकोटीमा राख्दै भारत सरकारले दोस्रो पाणिनिको सम्मान दिनुले नेपालको समेत प्रतिष्ठा बढेको संस्कृत संवाद समाचारपत्रका कार्यकारी सम्पादक जीवन शर्माको भनाइ छ।

स्व. शर्माद्वारा संचालित श्रीनिवास संस्कृत विद्यालयमा अहिले ५० जना नेपाली विद्यार्थीहरुले निशुल्क भोजन र आवास सुविधा सहित अध्ययन गरिरहेका छन्। उनीहरु बेद,व्याकरण,न्याय र आर्युवेदको क्षेत्रमा विशेषज्ञता प्राप्तिका लागि अध्ययन गरिरहेका श्रीनिवास सेवार्थ न्यास ट्रष्ट संचालक समितिका सदस्य विष्णु शर्माले बताए।

त्यसैगरी स्व. शर्माद्वारा संचालन गरिएको आयुर्वेदिक अनुसन्धान केन्द्रले गोमुत्र,माटो र विभिन्न किसिमका जडिबुटीहरुबाट आयुर्वेदिक औषधीहरूको उत्पादन र बिक्रीवितरण समेत गर्ने गरेको आयुर्वेदिक अनुसन्धान केन्द्रका प्रमुख वैध वीरेन्द्र शाहले बताए। । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.