|

काठमाडौं : ​ कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान हित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुतेकाभगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ। आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो।

उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ। यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ। चार नारायणको आज एकै दिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। 

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ। बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठुला ढुङ्गामा स्थापना गरिएको छ। मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले जानकारी दिए।

नाराययणस्थानमा आज लाखौँ भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ। यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ। यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ।

आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ। आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन्। आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.