|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बूढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आइतबार (हिजो) केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाए।

नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने चेतावनीसमेत दिए। उनले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने अडान राखे।

नेता सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रीय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दबाब दिए।

उनले भने,  ‘पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी सभापतिको घरमा राख्छ। हिजो मैले बोलेँ। कार्यालयमा राख्नु पर्‍यो नि वर्किङ कमिटी भनेर। भवनको के काम। बूढानीलकण्ठ हामीले नदेखेको हो र?'

नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गरे। उनले विधि र नियम उल्‍लंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको तर्कसमेत गरे। उनले पार्टी नेतृत्वले अव महाधिवेशन सार्ने अवस्था भने नरहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.