|

काठमाडौं : धेरै वर्ष पहिले किराँती राजा पलम्बर जो तन्त्रमन्त्र तथा योग विद्यामा निपुण थिए, बागमती र विष्णुमतीको दोभान पञ्चलिंगेश्वरमा आएर ध्यान गर्थे।

त्यहीँ उनको भेट स्थानीय युवती रुकमणीसँग भयो। त्यसपछि उनीहरू प्रेममा परे। 

राजा पलम्बर र रुकमणीको सोही कथा यतिबेला कौसी थिएटरमा नाटकमा प्रस्तुत गरिएको छ।

चन्द्रमान मुनिकारको परिकल्पना तथा निर्देशनमा तयार भएको सांस्कृतिक नाटक पचली भैरवमा पलम्बर र रुकमणीको मिलन, बिछोडको कथा छ। 

नाटकको मुख्य आशय नेपालको कला, संस्कृति, धार्मिक तथा सांस्कृतिक परम्परा र मौलिकताको संरक्षण, संवर्द्धन तथा उत्थान गर्नु रहेको निर्देशक मुनिकार बताउँछन्। 

लिखित तथा मौखिक कथाहरू र पौराणिक भनाइहरूको मालाबाट यो नाटक बनाइएको हो।

निर्देशक मुनिकार भन्छन्, पचली भैरव नाटकलाई हामीले  सामाजिक सद्भाव दर्शाउने नाटकको रुपमा दिन खोजेका छौँ। साथै ऐतिहासिक कथालाई मञ्चमा उतार्दा त्यो बेलाको भेषभूषा, गहना तथा लवजमा पनि आफूहरूले ध्यान दिएको उनी बताउँछन्। 

हरेक १२ वर्षमा हुने पचली भैरवको नृत्य उपत्यकामा कुनै पर्व जसरी मनाउने गरिन्छ। जसमा उपत्यकाका विभिन्न समुदाय संलग्न हुन्छन्। 

नाटकमा अष्टभैरव, अष्टमातृका जस्ता नेपालका मौलिक नृत्य समावेश गरिएको छ।

नृत्य तथा संगीतले नाटकमा कथावाचन तथा त्यो बेलाको परिवेश चित्रणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। 

नाटकमा कथा संकलनको काम पनि निर्देशक मुनिकारले नै गरेका हुन् भने नाटकका पटकथाकार तथा सहनिर्देशक इँगिहोपो कोँइच सुनुवार हुन्। 

नाटकमा सुदनमान मुनिकार, श्रष्टिना मुनिकार, अनिसा श्रेष्ठ, नानुमौया महर्जन, संगीता थापा, पवित्रा राई, सृजना शर्मा, युवहाङ राई, रोशनी चौधरी, करिना सुनुवार र इँगिहोपो कोँइच सुनुवारको अभिनय रहेको छ। 

कात्तिक २५ देखि मञ्चन भइरहेको नाटकले दर्शकको राम्रो साथ पाइरहेको छ।

नाटक मंसिर ४ गतेसम्म मञ्चन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.