तीन वर्षमा १४८ ले लिए कर्जा

|

काठमाडौं : सरकारले शिक्षित भएर पनि बेरोजगार युवाहरूलाई लक्षित गरी ल्याएको ‘शिक्षित युवा स्वरोजगार कर्जा’ कार्यक्रमबाट नगन्य संख्याले मात्र कर्जा पाएका छन्। यस कार्यक्रममा  शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट सहुलियत कर्जा लिन सकिने व्यवस्था छ।

सरकारले २०७५ सालमा नीतिगत रुपमै कार्यक्रम ल्याएको हो। यस कार्यक्रमअन्तर्गत प्रमाणपत्र धितो राखेपछि सात लाख रूपैयाँ कर्जा पाइने व्यवस्था थियो। तर‚ कार्यक्रम लागु भएको तीन वर्षमा १४८ जनाले मात्रै शिक्षित युवा स्वरोजगार कर्जा पाएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। उनीहरुले ७ करोड ७८ लाख ४३ हजार रुपैयाँ लिएका छन्।

पाँच वर्षको लागि पाँच प्रतिशत ब्याजमा कर्जा लिएका छन्। राष्ट्र बैंकका अनुसार हाललाई वाणिज्य बैंक र विकास बैंकबाट कर्जा सेवा दिइएको छ। यही कार्यक्रमका लागि थप ६ करोड रुपैयाँभन्दा बढी रकम स्वीकृत हुने चरणमा छ।

झन्झटिलो प्रक्रिया

झन्झटिलो प्रक्रिया भएकाले कमैले मात्र कर्जा लिएको शिक्षाविद् डा. प्रमोद भट्ट बताउँछन्।

‘सरकारले सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम त ल्यायो,’ उनले भने, ‘तर‚ विद्यार्थीले झन्झटिलो प्रकिया मानेकाले प्रायजसो कर्जाका लागि नगएको पाइन्छ। उद्यम गर्न पनि त्यति सजिलो छैन, के व्यवसाय गर्ने भनेर प्रपोजल पनि बनाउनुपर्ने रहेछ।’ सरकारले सञ्चारमाध्यमबाट यसबारे व्यापक प्रचार गरे मात्र प्रभावकारी हुने उनको भनाइ छ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी एकद्वार प्रणालीमा सेवा प्रदान नगरिँदा कर्जा लिन विद्यार्थीलाई सकस भएको बताउँछन्। उनका अनुसार सरकारले सबै स्थानीय तहबाट निवेदन हाली कर्जा पाउने व्यवस्था गरेमा धेरैले यो सुविधा पाउने थिए।

‘सरकारले कार्यक्रम त ल्यायो। तर‚ पाउने नपाउने टुंगो नै छैन। कर्जा लिने सम्बन्धित ठाउँमा मात्र तोकिँदा ग्रामीण भेगका विद्यार्थी कसरी ती ठाउँमा पुग्लान?,’ उनले भने‚ ‘शैक्षिक प्रमाणपत्र मात्र बुझाएर नहुने रहेछ। हरेक निकाय धाउनुपर्ने, आफैं योजना ल्याउनुपर्ने हुँदा विद्यार्थी दुःख भोगिरहेका छन।’

के कसरी कर्जा पाउने भनी यसबारे कम प्रचारप्रसार भएकाले अधिकांश शिक्षित विद्यार्थी यस सेवाबाट बञ्चित भएको उनको भनाइ छ।

२५ लाख पाउने व्यवस्था अझै कार्यान्वयन भएन 

पहिले सात लाख रुपैयाँ दिने व्यवस्थालाई बढाएर तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २५ लाख रूपैयाँ कर्जा पाइने घोषणा गरेको थिए। उक्त कर्जा स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका र ४० वर्ष ननाघेकाले पाउने बताएका थिए। तर‚ अर्थ मन्त्रालयले हालसम्म कार्यविधि नै नबनाएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताउँछन्।

‘२५ लाख सहुलियत कर्जा पाउने भनी बजेट भाषणमा भनिएको थियो,’ उनले भने, ‘तर अहिलेसम्म अर्थ मन्त्रालयले कार्यविधि नै बनाएको छैन। त्यसैले ७ लाख मात्रै दिँदै आएका छौँ, २५ लाख दिइएको छैन।’

कसरी पाइन्छ कर्जा?

राष्ट्र बैंकमा प्रवक्ता ढकालका अनुसार प्रमाणपत्र धितो राख्ने बित्तिकै कर्जा पाइँदैन। यसका लागि विद्यार्थीले कुन व्यवसाय कसरी गर्ने भनी प्रस्ताव पेश गर्नु पर्दछ। 

‘बैंकलाई आवश्यक पर्ने सबै डकुमेन्ट तयार भइसकेपछि ती कार्ययोजनामा बैंक सन्तुष्ट हुनुपर्‍यो,’ प्रवक्ता ढकालले भने‚ ‘अनि मात्र पैसा ती विद्यार्थीले पाउँछ।’

उनका अनुसार ऋण लिनुभन्दा अगाडि स्थायी लेखा नम्बर (पान नम्बर) लिएको हुनुपर्छ। घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालिम केन्द्रलगायत तालिम केन्द्रबाट कम्तीमा ७ दिनसम्मको उद्यम व्यवसायको सीप सिकेको प्रमाणपत्र पनि आवश्यक हुन्छ।

यी सबै कागजात तयार गरी प्रकृया पूरा भएपछि खाद्यान्न, नगदेबाली, जडीबुटी उत्पादन, अलैंची खेती, तरकारी, फलफूल उत्पादन गर्न ऋण पाइने प्रवक्ता ढकाल पाइन्छ। त्यस्तै, गोरु, गाई, राँगा, भैंसी, बंगुर, खरायो, चौरी, भेडा, बाख्रा, घोडा पालन र सिलाई बुनाईलगायत व्यापार व्यवसाय गर्नमा कर्जा पाइन्छ। 

अरु कार्यक्रममा पनि कर्जा लिने नगन्य

सरकारले ल्याएको शैक्षिक प्रमाणपत्र राखेर पाइने शिक्षित युवा स्वरोजगार कर्जा कार्यक्रम मात्र नभई अन्य कार्यक्रममा पनि कर्जा लिनेको संख्या कम छ। राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशबाट फर्केका युवा परियोजना कर्जा ९२८ जनाले मात्रै लिएका छन्।

उच्च र प्राविधिक तथा व्यवसाय शिक्षा कर्जा १३८ जना, युवा वर्ग स्वरोजगार कर्जा १७ जनाले मात्रै लिएका छन्। यसरी कम रुपमा कर्जा लिनुको कारण फरक–फरक पेशा रहेको राष्ट्र बैंकका प्रवक्ता ढकालले बताए।

‘यहाँ एकै पेसा व्यवसाय गर्ने व्यक्ति छैनौँ। हरेकको आ–आफ्नो हैसियत छ, सक्नेले कर्जा नलिई व्यवसाय गर्छन्, कोही विदेशिने मनका हुन्छन्, कोही फरक पेशा अँगाल्छन्,’ उनले भने, ‘त्यसैले कम देखिएको हो। विस्तारै यी संख्या बढ्छ।’

कर्जा लिइसकेकाले के कसरी व्यापार व्यावसाय गरेका छन् भनी बेला बेला अनुगमन पनि भइरहेको प्रवक्ता ढकालको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.