|

काठमाडौं : कर्णराज गिरी जब गीत गाउन थाल्थे तब साथीहरूको वाहवाही सुरु हुन्थ्यो। बजारमा आएका गीत गाउँदै उनी मेलापात पुग्थे। विद्यालय पुग्थे। जसले उनको स्वर सुन्थे, उनीहरूको मनमनमा पुग्थे। घरदेखि विद्यालयसम्म उनको स्वरका प्रशंकक थिए।

आफूले गाएका गीत सुनेकाले उनको प्रशंसाका ठेली थुपार्थे। प्रशंसाका ठेली पाउँदा कुन चाहिँ व्यक्तिलाई ऊर्जा आउँदैन र! ऊर्जाले भरिएको मनले एक दिन सोच्यो, ‘अब मैले आफ्नै गीत गाउने बेला भयो।’

तर कसरी? कलाकार बन्न न उनको सांगीतिक विरासत थियो, न आर्थिक हैसियत।

जब उनी आफ्नो आर्थिक पाटो सम्झिन्थे। यस्सै आफ्नो गायनप्रति मोह भंग हुन्थ्यो। कयौं रात छटपटीबीच उनले अन्तरात्माबाट आएको आफ्नो आवाज सुने। अनि १६ वर्षअघि काठमाडौं हिँड्न आँट देखाए। उनी सुनाउँछन्‚ ‘त्यही आँटको सहारामा गायक बन्न आज पनि संघर्षरत छु।’

‘द भ्वाइस अफ नेपाल सिजन-३’बाट चर्चामा आएका कर्णराज त्यसपछि भने नेपाली सांगीतिक क्षेत्रमा परिचित भएका छन्। सर्लाहीको हजारियाबाट भ्वाइसको सिजन-३ सम्म आइपुग्न उनले अनेकौं संघर्ष गरे। संघर्षमा उनले कयौं पटक हार खाए। गाउँ फर्किए। तर‚ गायक बन्ने भोकले भने उनलाई कहिल्यै छोडेन।

बुबा-आमाको गायक बनाउने सपना

कर्णराज सानै थिए, जतिबेला उनका बुबाले यो धर्ती छाडे। त्यसपछि कर्णराजकी आमा आफ्ना सन्तान बोकेर सर्लाही झरिन्। कर्णराजलाई आफ्नो बुबाको अनुहार कस्तो थियो थाहा छैन। आमाले बुबा-आमाको दुवैको माया दिएर हुर्काइन्।

उनका बुबा पनि गाउने गर्थे। आमाको भनाइअनुसार बुबा रसिक थिए। आमाले बयान गरेको हिसाबले उनी बुबाको आकृति बनाउँथे।

बुबाको एउटा सपना थियो, ‘आफ्ना सन्तानमध्ये कुनै एक चाहिँ गायक बनिदिए हुन्थ्यो।’ त्यही कुरा आमाले कर्णराजलाई सुनाएकी थिइन्। आमाको अर्को सपना थियो, ‘छोरो माइक समातेर टिभीमा पनि आइदिओस्।

बुबा-आमाको त्यही सपना पूरा गर्न कर्णराज गायन क्षेत्रमा हाम फालेका थिए।

काठमाडौं नफर्किने कसम

काठमाडौं आएपछि सहजै गीत गाएर गायक बन्ने सपना देखेका कर्णराजले सोचे जस्तो सहज थिएन। सुरुवाती दिनमा उनले गीत गाउन सिक्नुपर्छ भन्ने बुझे। संगीत सिक्न आर्थिक पाटो मुख्य थियो। जसका लागि उनले काम गर्नुपर्थ्यो।। उनले होटल, पसलमा अरु धेरै ठाउँमा काम गरे।

तर, संगीत सिक्न आवश्यक रकम भरथेग गर्न सक्ने आम्दानी भएन। जसोतसो सात वर्षसम्म उनले संगीतका विभिन्न विधामा अध्ययन गरे। यो अवधिमा उनले न गाउने कुनै स्टेज पाए न गीत गाउने अफर।

काठमाडौंको महँगो बसाइ र आफ्नो शून्य उपलब्धि। जसले उनलाई संगीतप्रति मोह हट्दै मात्र गएन‚ काठमाडौं बस्नै मन लागेन। ‘१६ वर्षको अवधिमा मैले कयौं पटक राजधानी छाडे‚’ कर्णराजले सुनाए‚ ‘काठमाडौं छाड्ने बेला कसम खान्थेँ, फेरि म यो शहर फर्केर आउँदिन।’

त्यसपछि उनी सर्लाही पुग्थे। जहाँ उनकी आमा थिइन्। घर पुगेपछि आमाले पुरानै आशा मिश्रित प्रश्न दोहोर्‍याउथिन्, ‘तँ कहिले गीत गाएर टिभिमा देखिन्छस्?’ आमाको आशा र शहरमा भरिएको निराशाको धारमा रहेका गिरी अमिलो मन बनाएर पुनः राजधानी फर्किन्थे।

‘मसँग आमाको सपना पूरा गर्नुपर्ने चुनौती थियो‚’ कर्णराजले भने‚ ‘मलाई यो शहर कहिल्यै आफ्नो लागेन। तर, यही शहरमा नफर्की नहुने बाध्यता पनि थियो।’

रात्रिकालीन ट्याक्सी चालक

आम्दानीको भरपर्दो स्रोत थिएन। बुबा-आमाको गायक बनेको हेर्ने सपना मार्न पनि सकेनन्। उनको मनमा पनि गायक बन्ने भूत मरिसकेको थिएन। कसैले उनलाई सुनायो, ‘ट्याक्सी चलायो भने आम्दानी हुन्छ। संगीतलाई पनि निरन्तर अगाडि लिएर जान सकिन्छ।’ उनलाई यो सुझाव ठिक लाग्यो। र‚ ट्याक्सी चलाउन सिके।

काठमाडौंमा दिनको चटारोमा उनी आराम गर्थे। संगीत साधना गर्थे। जब साँझ ढल्दै जान्थ्यो। उनको काम सुरु हुन्थ्यो। पाँच वर्ष रातको समयमा ट्याक्सीको स्टेयरिङ समातेर यात्रुलाई सेवा गरे। यसबीचमा उनले बुझेका हुन्, ट्याक्सी चालकका दुःख। चालकलाई हेर्ने दृष्टिकोण।

‘पसिना बगाएर जीवन चलाउने एक चालक आम नागरिकले लुटेरा जस्तो ठान्दा रहेछन्‚’ कर्णराजले भने‚ ‘यो मेरो जीवनको सबैभन्दा ठूलो पीडादायी क्षण थियो।’

अनि 'द भ्वाइस अफ नेपाल'को स्टेजमा

नजानेर गीत गाउनु र जानेर गीत गाउनुको एउटै फरक भनेको गीत गाउँदा आउने आत्मविश्वास हो। गिरीमा गाउन सक्छु भन्ने विश्वास थियो। उनले स्टेजको खोजी गरिरहेका थिए। त्यसैबेला भेटिएका थिए‚ राज चाम्लिङ। राजले गिरीलाई द भ्वाइस अफ नेपालसम्म पुर्‍याए।

उक्त रियालिटी शोमा उनको गायनलाई मन पराइयो। उनी ब्लाइण्ड अडिसन छानिए। त्यसपछिका प्रतिस्पर्धामा पनि उनी अब्बल ठहरिए। १६ वर्षदेखिको गायनको भोकको आगो उनले त्यही स्टेजमा निकाले।

यही स्टेजबाट उनको चौतर्फी चर्चा हुन थाल्यो। दर्शक कमाए। छोरोले माइक समातेर टेलिभिजनमा गीत गाएको हेर्ने आमाको रहर पूरा गरे। तर, यही सिजन चलिरहँदा आमा पनि यो धर्तीबाट बिदा भइन्।

आमासँग कर्णराज

जब क्लोज क्याम्पमा आमाको मृत्युको खबर आयो

जतिबेला उनी द भ्वाइस अफ नेपालको क्लोज क्याम्पमा प्रवेश गरेका थिए। त्यसबेला आमालाई क्यान्सर रोगले ग्रस्त बनाएको थियो। उनले स्टेजबाट दर्शक र निर्णायकको मन जितिरहँदा उनकी आमा मृत्युसँग लडिरहेकी थिइन्। दुःख, अभाव, पीडालाई जितेकी उनकी आमा अन्तत: क्यान्सरसँग पराजित भइन्।

जन्मनु, हुर्कनु र सकिनु जीवनको एक चक्र हो। यो कर्णराजले पनि बुझेका छन्। तर, जब आमाको मृत्युको खबर आइपुग्यो, उनलाई लाग्यो बल्दाबल्दैको दियो निभ्यो, जीवनमा अध्यारोले छोप्यो, आफ्नो जीवनको मियोँ भाच्चियो। आँट र भरोषा दिने पथ प्रदर्शकको अन्त्य भयो।

‘मलाई आमाको मृत्युको खबर सुन्दा यो दुनियाँमा म मात्र अभागी छोरा रहेछु। जसले आफ्नी आमा गुमायो भन्ने लागेको थियो,’ कर्णराजले विरक्ति भाव प्रकट गर्दै सुनाए‚ ‘गायक बनेर टेलिभिजनमा देखिन नै मलाई १६ वर्ष लाग्यो। मलाई टिभीमा मनपेट भरिने गरेर नदेख्दै आमाको पनि निधन भयो।’

आमाको निधनपछि उनको अघि दुई विकल्प थिए, घर जाने वा रियालीटी शोमै रहने। जीवनमा चाहेको चिज सबै पाइँदैन। दाईहरूले घर नआइ आमाको सपना पूरा गर्न सुझाव दिए। जसले गर्दा उनी रियालिटी शोमै रोकिए। जसका कारण उनले आमालाई बिदाई गर्न पाएनन्। सर्लाहीको गाउँमा आफ्नो आमाको चिता जलिरहँदा काठमाडौंमा उनको मन पनि जलिरहेको थियो।

बढेको व्यस्तता

कर्णराजले केही समयअगाडि आफ्नै आमाको नाममा ‘आमा’ गीत सार्वजनिक गरेका छन्। उनको जीवनमा आधारित उक्त गीत दर्शकले मन पराएका छन्।

अचेल उनी रेकर्डिङ र स्टेज कार्यक्रमका लागि देशका विभिन्न क्षेत्रमा पुगिरहेका छन्। उनी सुनाउँछन, ‘मान्छेले धैर्यता गर्नुपर्ने रहेछ। क्षमता छ भने अवसरका ढोका खुल्दै जाने रहेछन्।ֽ

कर्णराजले रेकर्ड गरेका करिब आधा दर्जन गीत सार्वजनिक गर्ने तयारीमा छन्। गायक बन्ने सपना देखेका उनले शहरसँग गरेको संघर्षको फेरो निक्कै कष्टकर र पीडादायी छ। तर, अचेल उनले यी क्षण मनको कुनै कुनामा जतनले सँगालेर राखेका छन्।

संघर्षका दिन उनका लागि बाँच्ने आधार भएका छन्। यी अनुभवबाट पाठ सिक्दै संगीतको दुनियाँमा पखेटा हालेर उड्न चाहन्छन् बेफिक्री

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.