|

डडेल्धरा : अष्ट्रेलियाली क्रिकेट टिमका अलराउन्डर मिचेल मार्श अहिले चर्चाको शिखरमा छन्।

यूएईमा भएको टी-२० विश्वकपको फाइनलमा न्यूजिल्याण्डविरुद्ध शानदार ब्याटिङ गरेकाले उनको चर्चा चुलिएको हो। उनले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई पहिलो पटक टी-२० विश्वकपको उपाधि दिलाए। अष्ट्रेलियालाई उपाधि जिताउन उनको भूमिका अहम् रह्यो।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ३० वर्षीय मार्शले ५० बलमा ६ चौका र ४ छक्कासहित नटआउट ७७ रनको उत्कृष्ट पारी खेले। उनी ‘म्यान अफ द फाइनल’ समेत बने।

दोस्रो विकेटका लागि उनले डेभिड वार्नरसँग ९२ रनको साझेदारी गरे। तेस्रो विकेटका लागि उनले ग्लेन म्याक्सवेलसँग अविजित ६६ रनको महत्वपूर्ण साझेदारी गर्दै जित दिलाएका हुन्।

यस जितसँगै दोस्रो पल्ट फाइनलमा पुगेको अष्ट्रेलियाले पहिलो पटक टी-२० विश्वकप जित्यो। सन् २०१० मा पहिलो पटक फाइनलमा पुगेको अष्ट्रेलिया इंग्ल्याण्डसँग हारेको थियो। इंग्ल्यान्डले अष्ट्रेलियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो।

को हुन् मार्श ?

मिचेल मार्शको जन्म सन् २० अक्टोबर १९९१ मा पश्चिमी अष्ट्रेलियामा भएको थियो। मार्स ज्योफ मार्सका दोस्रो छोरा र शान मार्सका कान्छो भाइ हुन्। दुवैले अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेलेका छन्।

उनकी बहिनी मेलिसा मार्श अष्ट्रेलियाली लिगहरूमा एक पेशेवर बास्केटबल खेलाडी थिइन्। मिचेल पर्थ, पश्चिमी अष्ट्रेलियामा हुर्केका थिए, जहाँ उनले वेस्ले कलेजमा पढेका थिए। मार्शले १७ वर्षको उमेरमा फेब्रुअरी २००९ मा बनबरीमा भएको फोर्ड रेन्जर कप खेलमा वारियर्सका लागि डेब्यू गरेका थिए।

अप्रिल २००९ मा उनले भारतविरुद्ध अष्ट्रेलियाको अन्डर-१९ टोलीबाट खेले। सन् २०१० मा उनी यू-१९ विश्वकपमा अष्ट्रेलिया टोलीको कप्तान थिए। उनको नेतृत्वमा अष्ट्रेलियाले टुर्नामेन्ट जितेको थियो।

उनले त्यस विश्वकपमा २०१ रन बनाएका थिए। मार्सलाई सन् २०१० मा इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि डेक्कन चार्जर्सले अनुबन्ध गरेको थियो। सन् २०११ मा पुने वारियर्सले किनेको थियो। जुन टोलीलाई उनका बुबाले प्रशिक्षण दिएका थिए। 

सेप्टेम्बर २०११ मा मार्शलाई दक्षिण अफ्रिका भ्रमणका लागि अष्ट्रेलियाको टी-२० टोलीमा छनोट गरियो। चोटका कारण ब्रेट ली टिमबाट बाहिरिएपछि उनलाई एकदिवसीय अन्तराष्ट्रिय टोलीमा थपियो। उनले श्रृंखलाको दोस्रो टी-२० खेलमा अष्ट्रेलियाको लागि शानदार डेब्यू गरे।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका उनले २१ बलमा चार छक्कासहित ३६ रन बनाए। उनले १९ अक्टोबर २०११ मा दक्षिण अफ्रिकाविरुद्ध नै वानडे डेब्यू गरेका थिए।

माइकल क्लार्कको कप्तानीमा रहेको अष्ट्रेलिया टिममा डेब्यू गरेका उनले पहिलो म्याचमा नटआउट ८ रन जोडेका थिए। मार्शले अक्टोबर २०१४ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा पाकिस्तानविरुद्ध खेल्दै अष्ट्रेलियाका लागि टेष्ट डेब्यू गरे। डेब्यू टेष्टको पहिलो पारीमा उनले २७ रन बनाएका थिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा नियमित रूपमा खेल्दै मार्शले सन् २०१५ को वानडे विश्वकपको दौरान इंग्ल्याण्डविरुद्ध पाँच विकेट लिएका थिए। उनले सन् २०१६ मा भारतविरुद्ध आफ्नो पहिलो एकदिवसीय शतक बनाएका थिए।

उनी दक्षिण अफ्रिकाविरुद्धको २०१६-१७ टेष्ट शृंखलाको पहिलो टेष्टपछि अष्ट्रेलियाको टिमबाट बाहिरिएका थिए। पछि उनी भारतविरुद्धको सन् २०१७ टेष्ट शृंखलाको समयमा टोलीमा फर्किए।

चोट लाग्नुअघि दुई टेष्ट खेले। उनी २०१७-१८ एशेज शृंखलाको तेस्रो खेलमा आफ्नो पहिलो टेष्ट शतक बनाए। र, उनले पिटर ह्यान्ड्सकम्बको ठाउँमा लिए। उनले पहिलो इनिङ्समा १८१ रनको स्कोर गरे। 

मार्च २०१८ मा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको दोस्रो टेष्टमा कागिसो रबाडाले आउट गरेपछि आपत्तिजनक भाषा प्रयोग गरेकोमा मार्सलाई म्याच शुल्कको २० प्रतिशत जरिवाना र एक डिमेरिट अंक दिइएको थियो। अर्को महिना उनीसँग क्रिकेट अष्ट्रेलियाले २०१८-१९ का लागि केन्द्रीय सम्झौता गरेको थियो। 

आलोचनामा हार नमानेका मार्श

​उनलाई इंग्ल्याण्डमा भएको २०१९ एशेज सिरिजका लागि अष्ट्रेलियाको टोलीमा समावेश गरियो। तर, शृङ्खलाका पहिलो चार टेष्टमा उनले मौका पाएनन्। शृंखलाको पाँचौं र अन्तिम खेलमा, मार्शले टेष्ट क्रिकेटमा आफ्नो पहिलो पाँच विकेट लिए। सोही क्रममा उनले आफूलाई अष्ट्रेलियालीले घृणा गर्ने बताएका थिए।

उनले प्रदर्शन नगरेको भनेर धेरै आलोचना हुन्थ्यो। चोटका कारण आफूले राम्रो प्रदर्शन गर्न नसक्दा अष्ट्रेलियाका धेरैजसो मानिसहरुले आफूलाई घृणा गर्ने उनले बताएका थिए।

‘अधिकांश अष्ट्रेलियालीले मलाई घृणा गर्छन्,’ दुई वर्षअघि आफ्नो पहिलो पाँच टेष्ट विकेट लिएपछि हाँस्दै भनेका थिए, ‘यसमा कुनै शङ्का छैन कि मैले धेरै अवसरहरू पाएको छु र यसलाई पूर्णरूपमा प्रयोग गर्न सकेको छैन, तर आशा छ कि उनीहरूले मलाई फिर्ता आउने तथ्यको लागि सम्मान गर्नुहुनेछ। आशा छ कि म तिनीहरूलाई एक दिन जित्नेछु।’

अहिले उनले भनेकै जस्तो भएको छ। उनले अष्ट्रेलियालाई उपाधि जिताए। फाइनलमा खेलेको उनको इनिङ्सप्रति कप्तान आरोन फिन्चले खुसी व्यक्त गरे। फिन्चले मार्शले आफ्नो करियरमा अनावश्यक आलोचनाको सामना गर्नुपरेको सुनाए।

आलोचनामा पनि हार नमानेर उनले आफ्नो क्षमता प्रमाणित गरेको फिन्चले बताए। फाइनलमा जितपछि कप्तान फिन्चले भने ‘उनले लामो समयसम्म आलोचनाको सामना गरेका थिए। त्यो पनि त्यतिबेला जब उनको प्रदर्शन कुनै पनि प्रारुपमा खराब थिएन। यदि तपाईंले उनको एकदिवसीयको आँकडा हेर्नुहुन्छ भने धेरै राम्रो छ।’ 

चोटले सताएका क्रिकेटर

उनले आफ्नो क्रिकेट करियरमा विभिन्न बेला चोटको सामना गर्नु परेको छ। अक्टोबर २०१९ मा मार्शले तस्मानियाविरुद्धको शेफिल्ड शिल्ड खेलका क्रममा हात भाँच्चिएको थियो। 

फलस्वरूप उनी अष्ट्रेलियाको टेष्ट समरको सुरुवात गुमाउन बाध्य भएका थिए। अप्रिल २०२० मा उनलाई २०२०-२१ सिजन अगाडि फेरि केन्द्रीय अनुबन्ध दिइएको थियो। 

जुलाई २०२१ मा अष्ट्रेलियाको वेस्ट इण्डिज भ्रमणको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा मार्शले आफ्नो पहिलो टी-२० आई अर्धशतक बनाए। ३१ बलमा ५१ रन बनाएका थिए।

उनले आफ्नो राम्रो फर्मलाई जारी राख्दै अर्को खेलमा अर्को अर्धशतक बनाए। चौथो टी-२० मा ७५ रन बनाए। उनले उक्त म्याचमा टी-२० आई करियरकै उत्कृष्ट बलिङ पनि गरे। उनले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिएका थिए।

विश्वकपमा मार्शको प्रदर्शन

आइतबार राति सकिएको टी-२० विश्वकपमा मार्शको प्रदर्शन महत्वपूर्ण रह्यो। मार्शले ५ इनिङमा कुल १ सय ८५ रन बनाए। फाइनलमा ७७ रनमा अविजित रहेको उनले यसअघि सेमिफाइनलमा पाकिस्तानविरुद्ध २८ रनको महत्वपूर्ण इनिङ खेलेका थिए। वेष्ट इण्डिजविरुद्ध ५३ र बंगलादेशविरुद्ध १६ रनमा अविजित थिए। अष्ट्रेलिया च्याम्पियन बन्नुमा उनको योगदान महत्वपूर्ण रह्यो।

मार्शले बनाएको रन

मार्शले आफ्नो देशका लागि ३२ टेष्ट म्याच खेलेका छन्। जसमा उनले २ शतक र ३ अर्धशतकसहित १ हजार २ सय ६० रन बनाइसकेका छन्।

वानडेमा पनि उनको प्रदर्शन राम्रै रहेको छ। उनले हालसम्म ६३ वानडेको ५९ पारीमा १ हजार ६७२ रन बनाएका थिए। जसमा १ शतक र १२ अर्धशतक समावेश छन्।

यस्तै, उनले ३६ टी-२० आई म्याच पनि खेलेका छन्। जसमा उनले ६ अर्धशतकको मद्दतमा ८ सय ८५ रन हिर्काएका छन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.