कञ्चनपुर : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज (मंगलबार) आह्वान गरेको नेपाल बन्दले कञ्चनपुरको जनजीवन प्रभावित भएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै गरेको नेपाल बन्दका कारण महेन्द्रनगर बस पार्कबाट लामो र छोटो दूरीका सवारीसाधन छुट्न सकेका छैनन्।
बजार क्षेत्रमा भने अटो रिक्सा र निजी सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका छन्। झलारी, महेन्द्रनगर, दैजी, बेलौरीलगायत बजारका पसल भने खुलिरहेका छन्।
एम्बुलेन्स, फोहर फाल्ने साधन र दुग्धजन्य पदार्थ बोक्ने ढुवानीका साधन भने निर्वाध सञ्चालन भइरहेका छन्। बन्द मध्येनजर गर्दै बजार क्षेत्र र पूर्व-पश्चिम राजमार्गका ठाउँ ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बिहानै बन्दकर्ताले जिल्लाका विभिन्न ठाउँमा टायर बालेर पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेका थिए।
जनताको ढाड सेक्ने गरी गरिएको मूल्य वृद्धिविरुद्ध बन्द आह्वान गरिएको नेकपा विप्लवका शुक्लाफाँटा इन्चार्ज धनबहादुर रानाले बताए। बन्दको अवज्ञा गरिए प्रतिकारमा उत्रिने उनको भनाइ छ। नेकपाका कार्यकर्ताले सोमबार साँझ राँकेजुलुस र सिट्ठी बजाएर मूल्यवृद्धिको विरोध गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।