'नेताभन्दा ‘झोले कार्यकर्ता’इमानदार'

|

काठमाडौं : विरासतबाट आएका राजालाई जनताले १९ दिन आन्दोलन गरी नागार्जुन दरबारमा पुर्‍याएको समय थियो त्यो। माओवादी जंगलको यात्राबाट विश्राम लिएर सडक र शहरमा आफ्नो रवाफ देखाउँदै थियो। त्यसैबेला झापाबाट एउटा किशोर उच्च शिक्षा हासिल गर्न काठमाडौं छिर्‍यो।

चञ्चले स्वभावको त्यो केटो गीतलाई प्यारोडीमा ढालेर आफ्ना नजिकका साथीलाई रमाइलो माहोल बनाउन माहिर मानिन्थ्यो। उसको क्षमता एक कान दुई कान हुँदै उपत्यकाका विभिन्न क्याम्पसमा फैलिन थालिसकेको थियो। एकदिन त्रिचन्द्र क्याम्पसमा स्टेज कार्यक्रम आयोजना भयो। किशोरलाई निम्ता आयो। प्यारोडी देखाउने जोश थियो नै। कार्यक्रम उद्घोषण गरिरहेका समिप बरालले बोले, 'माहोललाई थप गरमागरम बनाउन आउँदै हुनुहुन्छ राजेन्द्र पोखरेल।'

स्टेजमा पुगेर पोखरेलले नागार्जुन पुगेका पूर्वराजा शाहको क्यारिकेचर गरिदिए। कार्यक्रम उद्घोषण गरिरहेका बराल राजेन्द्रको क्यारिकेचरबाट प्रभावित बने। अनि उनले अर्को उद्घोष गरे, 'आजबाट जनताको छोरो राजा भयो।'

त्यहाँ रहेका अन्य व्यक्तिले पनि बरालको उद्घोषलाई सदर गरिदिए। विभिन्न स्टेज कार्यक्रममा पनि 'राजा'को उपमा पाइरहेका राजेन्द्रले  त्यसपछि आफ्नो नामका अगाडि 'राजा' थपे।

'त्यही पाँच मिनेटको क्यारिकेचरले गर्दा कमरेडले मलाई राजा बनाइदिए', उनी आफ्नो नामको न्वारानबारे बोल्छन्। न उनको लवाइखुवाइ ‘राजा’को जस्तो छ। न त उनको विरासतमा पाएको नाम हो त्यो। तर, आफ्नो क्षमताले पाएको नाम बोकेर आज पनि हिँडिरहेका छन् उनी।

गायक बन्न हिँडेका पाइला हास्यव्यंग्यमा मोडिए

सुरुङ्गास्थित भृकुटी माध्यमिक विद्यालयमा पढ्दा उनलाई गीत गाउने भोक जागिसकेको थियो। नाटकमा अभिनयमा पनि दख्खल थियो।  विद्यालयमा हुने अतिरिक्त कार्यक्रममा छुट्दैनथे। विद्यालयमा 'टेबल ब्याण्ड' थियो। उनी भाका हाल्थे। त्यसबेलामा समकालीन साथीहरू माधव संग्रौला, दिलीप खनाल टेबल ठटाएर विभिन्‍न गीतको ताल निकाल्थे। यता नाटकका सहयात्री थिए, परशुराम बास्तोला, मोहन खतिवडा, शिवहरि काफ्ले, मिलन दाहाल, सुनिल पोखरेल, खगेन्द्र सिग्देल,मनोज बस्नेत, रोहित राउत।

उनी ती साथीहरूबारे भन्छन्, 'मेरो गायन, हास्यव्यंग्य र अभिनयको पहिलो श्रोता र दर्शक उनीहरू नै थिए। उनीहरू नभएको भए मेरो उडानले सही ट्रयाक समात्न समय लाग्न सक्थ्यो।'

उनी हरेक गीतलाई स्थापित गायकको आवाजमा  गाइदिन्थे। आफ्नै ट्रयाक नहुनुको दु:ख उनीसँग थियो। 'गायकहरूको आवाज जस्ताको त्यस्तै गाउने कलालाई प्यारोडी भनिँदो रहेछ', उनी सुनाउँछन्। 

हासखेलका बिच उनले एसएलसी दिए। उच्च अंक ल्याए। काठमाडौं जाने ढोका खुल्यो।

पोकापन्तुरासहित ५४ हजार बोकेर ०५८ सालमा काठमाडौंको रात्रिबस चढे उनी।  एसएलसीमा उच्च अंक ल्याएपछि विज्ञान पढ्नुपर्ने समाजको पुरातनवादी सोचका अगाडि पोखरेल आर्टस् पढ्न रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भए। 

आरआर विद्यार्थी राजनीतिको थलो मानिन्थ्यो। उनी राजनीतिक कार्यक्रममा भाग लिन थाले। कहिले परिवर्तनका लागि ढुंगा बोकेर सडकमा उत्रे। कहिले देशको राजनीतिक बेथिति, सामाजिक अन्तरविरोध तथा सामाजिक समस्यालाई हास्यव्यंग्यको विषय बनाएर स्टेज प्रोगाम गर्न पुग्थे। उक्त जोशका बिच गायक बन्ने रहर छायामा पर्न थाल्यो।  'प्यारोडी गीतले मेरो गायक बन्ने सपनालाई छायामा पारिदियो। अन्तत: प्यारोडी गर्दागर्दै म कमेडियन पो बनेँ', उनी खिसिक्क दाँत देखाउँदै भन्छन्।

'ट्रयाजिडी इन म्युजिक'

०६१ सालमा उनले अफिसियल गायक बन्‍न 'ट्रयाजिडी' एल्बम ल्याए। तर, उक्त गीत 'ट्रयाजिडी इन म्युजिक' भइदियो। श्रोताले ती गीत मन नपराएपछि सांगीतिक यात्राले ट्रयाजिडी भोग्नुपरेको उनी सुनाउँछन्।

 त्यसबेलासम्म उनी प्यारोडी गायनमा जमिसकेका थिए। त्यसपश्चात् राजेन्द्रले विस्तारै नेताहरूको क्यारिकेचर गर्न थाले।  यो अवधिसम्म उनले प्यारोडी एवं क्यारिकेचरमार्फत आमदर्शकको मन जित्न सफल भइसकेका थिए।

०६८ मा  गीतको भोक मार्न 'मेरो माया' एल्बम निकाले। जहाँ ८ वटा गीत थिए। कमेडी गरेर कमाएको पैसा उनी गीतमा खन्याउँथे। साथीहरूले उनलाई भन्थे रे, 'यसले हँसाएर पैसा कमाउँछ अनि बालुवामा पानी खन्याएझैँ गरेर गीतमा खन्याउँछ।'

त्यसपश्चात् उनले गीतमा स्वर भर्न कम गर्दै लगे।  केही कलेक्सनमा उनले आवाज त दिएका छन्। तर, उनलाई गायक बन्न सक्दिनँ कि भन्ने लाग्यो।

नेताभन्दा ‘झोले कार्यकर्ता’इमानदार

आरआर, राजनीतिको अखडामा उनले कलाकारिता, पढाइ र राजनीति एकैसाथ अगाडि बढाएका थिए। देशमा विभिन्‍न क्षेत्रबाट आएका साथीहरू नेता गिरी गर्ने भएपछि उनी पनि तानिनु स्वभाविक हो। उनले इमानदारीसाथ राजनीतिक धर्म निर्वाह गरेको सुनाउँछन्।  अखिलको राजनीतिमा उनले आफूलाई अगाडि बढाउँदै लगे। नजिककाले उनलाई पार्टीको झोले भन्न थाले।

'राजनीतिमा झोले सबैभन्दा तल्लो तहका कार्यकर्ता हुन्। जसले विद्यार्थीका शैक्षिक प्रमाणपत्र, रसिद बोकेर कामलाई सहज बनाइदिन्छन्। जन्ममिति सच्याइदिनेदेखि प्रशासनिक कागजात बनाइदिनेसम्मका काम उनीहरूकै हो', राजेन्द्र अर्थ्याउँछन्, 'गाउँमा हेर्नुहुन्छ भने गाउँका झोले कार्यकर्ताले बिरामी गाउँलेका औषधि, नागरिकता, गाउँका काम कारबाही सदरमुकाम लगेर समस्या समाधान गर्ने गर्छन्।' 

झोले शब्दप्रति ज्यादै धेरै अन्याय भएको उनको बुझाइ छ। उनका अनुसार नेपालको राजनीतिक इतिहासदेखि आजसम्म सबैभन्दा इमानदार काम नै 'झोले'ले गरेका छन्। तर, विडम्बना तिनै कार्यकर्तालाई सबैले गाली गर्ने देख्दा उनलाई झोक चल्छ। 'राजनीतिले मान्छेलाई भ्रष्ट बनाउँछ भन्छन्। तर, मलाई आफ्नो काममा मिहिनेती, इमानदार र धैर्यवान हुन सिकाएको हो', उनी आफ्नो राजनीति यात्राबारे बोल्छन्, 'मलाई झोले पनि भन्थे तर म चित्त दुखाउँदिनथेँ। म इमानदार झोले हुन चाहन्थेँ। यहाँ हरेक मान्छे इमानदार झोले भए भने देश बन्छ। तर, यहाँ त सबैलाई नेता बन्नुछ। त्यसैले देश बिग्रिएको छ।'

राजनीतिप्रति मोह भंग

पोखरेलका बुबा सर्वहारामुक्ति आन्दोलनमा होमिएका थिए। जसको प्रभाव उनमा पनि थियो।

आरआरमा आएपछि  राजनीतिक आन्दोलनमा होमिए। अचेल राजनीतिक परिवर्तनले जनताले के प्राप्त गरे? भन्ने प्रश्न सुनिरहन्छन् उनी। यो प्रश्नको जवाफ त्यसबेलाको राजनीतिक तथा  सामाजिक सिनारियो नबुझी व्याख्या गर्न नसकिने उनी सुनाउँछन्।

'त्यतिबेला जनताको आवाज उठाउँदा कुटाई खाइन्थ्यो, अहिले सम्मान प्राप्त हुन्छ। जनताको आवाज उठाउन सक्ने व्यवस्था आएको छ। तर, यो परिवर्तनबाट नेतृत्वमा पुगेका व्यक्ति बदमास निस्किए र पो मार्‍यो', उनी भन्छन्, ' तत्कालीन समयमा राजनीतिक परिवर्तनको आवाज उठाउँदा आर्मी प्रहरीको भाटा खानुपर्ने अवस्था थियो। बेपत्ता हुने र ज्यान जाने डर हुन्थ्यो।'

परिवर्तनको आवाज उठाउँदा घुँडामुनिका भागमा पाएको चोटका खत देखाउँदै उनी सुनाउँछन्, 'परिवर्तनका लागि रगत हामी जस्ता युवाले पनि बगाएका हौँ नि। वैचारिक तथा भौतिक रूपमा उपस्थित भएर ढुंगा हानेको पुस्ताको एक सदस्य हुँ म।'

पछिल्लो समय राजनीति गर्न पैसाको खोलो बगाउनुपर्ने भयो। यो समस्याको जड नेता नभईकन जनता हुन्। जसले पैसाको खोलो बगाउँछ उसलाई जिताउने जनता भएपछि पैसा नभएका, इमानदारहरू पाखा लाग्नु स्वाभाविकै हो।

२० वर्षअघि क्यारिकेचर गर्न हिँड्दा देखेका ती इमानदार राजनीतिज्ञले अहिले पनि इमानदार कार्यकर्ताको रूपमा भारी बोक्नेबाहेक अन्य अवसर पाएका छैनन्। जो इमानदार छन् ती आर्थिक रूपले गरिब छन्।  राजनीतिककर्मीले राजनीति अविछिन्न त्यागको श्रृङ्खला हो भन्ने कुरा भुलेपछि राजनीतिप्रति मोहभंग भएको उनी सुनाउँछन्।

कमेडियन नै उनको नाम

१३ वर्षदेखि उनी रेडियोमा कार्यक्रम चलाइरहेका छन्। टेलिभिजन प्रस्तोताका रूपमा पनि उनले विभिन्न टेलिभिजनमा कार्यक्रम चलाएको अनुभव छ। यद्यपी ‘राजा राजेन्द्र’ भन्नेबितिक्कै प्यारोडी र हास्यव्यंग्य कलाकारको रूपमा दर्शकमाझ परिचित छन्।

गायक हुन नसकेको दु:ख पनि उनलाई छँदैछ। यो सबै आफ्नै गल्तीको परिणाम रहेको उनी स्वीकार्छन्।  'स्थापित गायकहरूको हुबहु स्वरमा प्यारोडी गाएपछि म प्यारोडीतिर अगाडि बढेँ। नेताहरूको क्यारिकेचर गर्दा बढी मजा आउन थाल्यो। अनि मैले गायक बन्ने बाटो नै अवरुद्ध बनाएँ', उनी सुनाउँछन्, 'अब म कलाकारका रूपमा आम मानिसमाझ छु। यो नै मेरा लागि जीवन जिउने आधार बन्‍यो।'

तस्वीर : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.