२०७७ देखि नै नयाँ शैक्षिक सत्र बिथोलियो

|
फाइल तस्बिर

काठमाडौं : कोभिड-१९ का कारण बन्द भएका विद्यालय गत असोजयता खुल्न थालेका छन् भने कतिपय स्कुल छठपछि धमाधम खुल्दै छन्।

सरकारले ०७८ को चालू अर्थात नयाँ शैक्षिक सत्र असार १ देखि चैत मसान्तसम्म तोकेको छ।

शैक्षिक सत्रको हिसाबले अब पढाइ हुने समय जम्माजम्मी ४ महिना मात्र छ। यति समयमा सबै पाठ्यक्रम सकिनेबारे आशंका उत्पन्न भएको छ।

नेपालमा कोरोनाको दोस्रो लहरको फैलिएपछि वैशाख १६ गतेदेखि देशैभर निषेधाज्ञा जारी भएको थियो।

त्यसपछि सबै शैक्षिक संस्था बन्द भए। पढाइ हुन सकेन। वैकल्पिक सिकाई पनि प्रभावकारी भएन।

वार्षिक परीक्षा अनलाइनबाटै लिएका विद्यालय पनि चैतदेखि बन्द भएका थिए।

०७७ देखि नै शैक्षिक सत्र बिथोलियो 

कोभिड–१९ कहरले ०७६ सालबाटै विद्यार्थीको पढाइमा धेरै असर पुगेको छ। त्यतिमात्र नभई शैक्षिक सत्र पनि बिथोलियो।

०७७ सालको शैक्षिक सत्र लम्ब्याइयो। वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइएको थियो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार ०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै बनाइयो।

०७८ सालको शैक्षिक सत्र असार १ गते सुरु भई चैत मसान्तसम्म कायम गरे पनि ०७९ सालको शैक्षिक सत्र भने वैशाखबाट १२ महिना नै कायम गर्ने योजना स्रोत विकास केन्द्रको छ।

यसो भन्छन विज्ञ

असोजयता मात्र विद्यालय सञ्चालनमा आएकाले चैत मसान्त सम्ममा पठनपाठन नसकिने विज्ञ बताउँछन्।

शिक्षाविद् डा. विद्यानाथ कोइराला अहिलेको सिकाइ पद्धतिले पाठ्यक्रम पूरा पढाइ हुन नसक्ने बताउँछन्।

​उनी भन्छन्, ‘मास्टरले पाठ्यक्रममा भएका सबै पाठ पढाएर सकाउँछ होला, तर विद्यार्थीले हो भने तोकिएको समयसम्ममा सबै पढ्न सक्दैनन्।’

उनका अनुसार अवधारणात्मक पढाई भएमा शैक्षिक सत्र सकिन्छ।

‘जस्तो विद्यार्थीलाई खाना पकाऊ भनेर हुँदैन, त्यहाँ कति पानी हाल्नुपर्छ भनी सिकाउनु पर्‍याे, अनि पो बनाउन आउँछ, यो सबै शिक्षकको कलामा भर पर्छ,’ उनले भने।

उनका अनुसार शिक्षकले आफैं पढेर आफैं जानेर मात्र हुँदैन। पहिला विद्यार्थीलाई पढ्न दिनुपर्छ र विद्यार्थीले नबुझेका कुरा शिक्षकले सिकाउनुपर्छ। यस्तो सिकाइ प्रभावकारी हुन्छ। घाेकाएरमात्र हुँदैन।

‘हाम्रोमा अहिले पनि शिक्षक आफैं पाठ सररर पढेर कक्षाकोठाबाट निस्किहाल्ने प्रवृत्ति छ,’ कोइरालाले भने, ‘विद्यार्थी र शिक्षक एक अर्कामा अन्तरक्रिया नै छैन, यस्तो पढाइले व्यावहारिक कुरा सिक्न सकिँदैन, गुणस्तरीय शिक्षा  प्रदान गर्नु पर्‍याे।’

मन्त्रालय नै अन्योलमा

शैक्षिक सत्र तोकिएको समयमा पूरा हुन्छ वा हुँदैन भन्ने कुरामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नै अन्योलमा छ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माले यसबारे अहिले नै केही भन्न नसकिने बताउँछन्।

उनले भने, ‘विभिन्न विज्ञहरूको राय सुझाव पनि लिइरहेका छौँ, देशभरको एक महिनाको पढाई अवस्था हेर्छौ, त्यसपछि मात्रै थप निर्णय लिन्छौँ।’

अन्य क्षेत्रमा भन्दा पनि बढी हिमाली क्षेत्रमा शैक्षिक सत्र गुम्ने खतरा छ। हिमाली क्षेत्रमा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु भई मंसिर मसान्तमा सकिन्छ।

यस विषयमा पनि केही मन्त्रालयले निर्णय लिन सकेको छैन। सबै सरोकारवालासँगको छलफलपछि मात्रै यसको पनि टुंगो लगाउने प्रवक्ता शर्माको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.