आज रतेडी, भोलि दिउसेडी मनाइँदै

|
देहिजाँत मेला लाग्ने अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दरडाँडास्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिर। तस्वीर : प्रकाश पार्की

डडेल्धुरा : डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर मेलाको तयारी पूरा भएको छ।

आज (बिहीबार) राति रतेडी र दोस्रो दिन भोलि दिउसेडी मेला हुन्छ।

स्थानीय भाषामा ‘देहिजाँत’ले परिचित  सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यता मेला लाग्छ।

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।

उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए।

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दरडाँडास्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न आउँछन्।

उग्रतारा मेलालाई सभ्य र भव्य सम्पन्न गर्न तथा मेलामा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि मेलाभर जुवातास तथा मदिराजन्य वस्तु बिक्रीवितरणमा रोक लगाउने समितिको निर्णय छ।

किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो।

आफूले खान ल्याएको खिचडीले टालेर रगत रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कात्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ।

देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र, साथीसंगी तथा परिवारमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्छ।

तर, भगवतीको गाथाको रूपमा गाइने डेउडा भने खेलिँदैन।

वर्षमा एक पटक भव्यरूपमा लाग्ने मेलामा उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

बिहान ४ बजे धार्मिक परम्पराअनुसार दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंख, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु भएको पण्डित भोजराज भट्टले बताए।

अष्टमीमासमेत पूजाआजा गरिने मन्दिरमा राँगाको बलि दिने प्रचलन छ।

उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तसँगको भेटघाट हुने अवसरका रुपमा प्रख्यात छ।

हराउँदै गएका अन्नबाली फापर, टिमुर, तिललगायत अदुवा, बेसार, चुक, मह, घ्यू, सुन्तला, मौसमी, केरालगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको राम्रो व्यापार हुन्छ।

स्थानीय लोपोन्मुख वस्तुको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ।

उग्रतारा मेलामा स्थानीयले बाँस र निगालाका सामग्रीसँगै खाद्यवस्तु एवं कृषि औजार, प्याजको बेर्ना बिक्री वितरण गर्छन्।

मेलामा भारतका विभिन्न ठाउँका व्यापारीले मिठाइका परिकार बिक्री गर्छन्।

देहिजाँत मेलाको तयारी (तस्वीरमा):

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.