|
निर्माणाधीन काठमाडौं-तराई जोड्ने फास्ट ट्र्याक। तस्वीर : शारदा पोखरेल

बारा : राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेस द्रुतमार्ग तोकिएको समयभित्र सम्पन्न हुनेमा आशंका उब्जिएको छ।

४ वर्षभित्र सम्पन्न गर्ने गरी २०७४ वैशाख २१ गते सरकारले निर्माणको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको थियो।

तोकिएको समयभित्र सम्पन्न हुन नसक्ने भएपछि २०७७ असोज दोस्रो साता पुनः ३ वर्ष लागि म्याद थपियो। थपिएको म्यादअनुसार २०८१ वैशाखभित्र सेनाले सो आयोजनाको सम्पूर्ण काम सक्नुपर्नेछ । 

द्रुतमार्ग निर्माणका लागि २ वर्ष ५ महिना मात्रै बाँकी रहँदा निर्माणको मुख्य काम नै सुरु नभएको बताउँछन् द्रुतमार्ग निर्माण मूल सरोकार समितिका अध्यक्ष रविराज दंगाल।

‘अहिलेसम्म द्रुतमार्गको निजगढ—खोकना सडक खण्डको ट्र्याक खोल्ने र माटो भर्ने बाहेक कुनै काम भएको छैन’‚ सरोकार समिति अध्यक्ष दंगालले भने‚ ‘हामीले छिटो गर्नुपर्छ भनेका छौँ तर तोकिएको समयभित्र सम्पन्न हुनेमा हामी विश्वस्त छैनौँ।’

द्रुतमार्ग बाराको निजगढदेखि ललितपुरको खोकनासम्म ७२ दशमलब ५ किलोमिटर पर्छ‚ जसमध्ये बारामा ९ किलोमिटर, मकवानपुर ५७ र ललितपुर जिल्लामा ७ किलोमिटर रहेको छ।

‘द्रुतमार्ग निर्माणको काममा पछिल्लो समय कुनै प्रगति भएको देखिँदैन, नेपाल सरकारले पनि महत्त्वपूर्ण आयोजना समयमै सम्पन्न गर्न राज्यका तर्फबाट सबै किसिमको पहल गर्नुपर्ने आवश्यकता देखिन्छ’‚ उनले भने।

तराईलाई काठमाडौंसँग जोड्ने यो सबैभन्दा छोटो दूरीको मार्ग हो।

यो आयोजना समयमै सम्पन्न भए निजगढबाट काठमाडौं १ घन्टा १५ मिनेटमा पुग्न सकिने अनुमान गरिएको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७४ जेठ १४ गते निजगढको जिरो प्वाइन्टमा आयोजनाको शिलान्यास गरेका थिए।

रूख कटान, निर्माणको ठेक्का प्रक्रिया, मुआब्जा विवाद र कोभिड-१९ लगायतका कारण देखाएर आयोजना समयमै सम्पन्न हुन नसकेको सेनाले जनाएको छ।

द्रुतमार्ग निर्माण आयोजना जिरो प्वाइन्ट (निजगढ) कार्यालयले पछिल्लो समय बारा खण्डको ९ किलोमिटरको सडक पुल, नाली निर्माण र वृक्षरोपणलगायत सम्पूर्ण कार्यको एकमुष्ट ठेक्का सूचना सार्वजनिक भइसकेको जनाएको छ।

‘बारा खण्डको सम्पूर्ण कामको लागिपरेका आवेदनउपर ठेक्का मूल्यांकनको काम भइरहेको छ’‚ जिरो प्वाइन्टका एक अधिकारीले भने।

मकवानपुर क्षेत्रमा भने टनेल निर्माणको ठेक्का सूचना सार्वजनिक भइसकेको सेनाले जनाएको छ।

पहाडमा २५ मिटर र समथरमा २७ मिटर चौडाइ रहेको द्रुतमार्गमा ३ ओटा टनेल सहित ८७ ओटा पुल  हुनेछन्। यो आयोजना निर्माणका लागि सरकारले १ खर्ब ७५ अर्ब अनुमानित लागत निर्धारण गरेको छ।  

द्रुतमार्ग निर्माणसम्बन्धी सूचना दिन सेनाद्वारा आलटाल

निजगढ -काठमाडौं द्रुतमार्गसम्बन्धी सूचना दिन आयोजना कार्यालयले आलटाल गरेको छ।

राष्ट्रिय गौरवको आयोजना ढिलासुस्ती हुनुको कारण र हालसम्मको प्रगति विवरणसम्बन्धी सूचना माग गर्दै दिइएको लिखित निवेदनउपर आयोजनाको केन्द्रीय कार्यालयले सूचना दिन नमिल्ने भन्दै निजगढ कार्यालयलाई जवाफ पठाएको हो।

द्रुतमार्ग निर्माणमा सरोकार समितिका अध्यक्ष दंगालले भने सेनाले हालसम्म गरेको कामको सम्पूर्ण विवरण जनतासामु सार्वजनिक गर्नुपर्ने बताएका छन्।

‘द्रुतमार्ग​ निर्माणमा ढिलासुस्ती हुनेको कारण र अहिलेसम्म भएको काम सेनाले जनतासामु सार्वजनिक गर्नुपर्छ’‚ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.