|

काठमाडौं :  ३९ वटी केटी हेरिसक्दा पनि बिहे हुने छाँट देखिएन। यीमध्ये एकतिहाइले आफूलाई मन पराएनन्। एकतिहाइलाई आफूले मन पराइएन।

बाँकी एकतिहाइसँग चिना टिपनन मिलेन। जिन्दगी अविवाहित भएरै जाने छाँट देखिन थालिसकेको थियो, एक्कासि ४० औँ नम्बरकी केटीसँग बल्ल बिहे पक्का भयो।

बल्लतल्ल बिहेको टुंगो लागेको थियो तर फेरि अर्को आपत आइलाग्यो। साथीहरूलाई जन्ती भोज खुवाएर बिहे गरौँला भन्ने सपनामा तुषारापात हुने देखियो। जन्ती सकेसम्म थोरै लैजानुपर्ने भयो। अहिलेसम्म कति जनाको बिहेमा निम्तो मान्न गइयो तर आफ्नो बिहेमा निम्तोको पैँचोसमेत तिर्न नपाइने भयो।

इष्टमित्र नातागोता त घरकाले निम्तो गरिहाल्छन्। अब बाँकी रहे आफ्ना साथीहरू। साथीहरू त बोलाउनैपर्छ भनेर अडान लिएर बसेँ। सामान्य हिसाबले नै बिहे उम्काउनुपर्ने परिबन्धले गर्दा मेरो अडानमा साथ दिने कोही निस्किएनन्, तर पनि मेरो असहमतिको आन्दोलनसामु परिवारलाई अलिकति मात्र भए पनि झुक्न बाध्य बनाएँ।

मेरा भागमा सातजनाको कोटा पारित भयो। अर्को आपत आइलाग्यो। अब सातजनामध्ये को कोलाई मात्र बोलाउने? सोझो हिसाबले पनि नबोलाई नहुने साथीहरू २५ नाघिसके। बढो कष्टकर परिबन्धमा परियो। जे जस्तो भए पनि परिस्थितिअनुसार चल्नैपर्‍यो। मापदण्ड नबनाई सातजना मात्र छनोट गर्नसक्ने अवस्था देखिएन। झल्यास्स एउटा श्लोक याद आयो।

बधू वरयते रुपं माता वित्तं पिता श्रुतम्।

बान्धवाः कुलमिच्छन्ति मिष्ठान्नं इतरे जनाः।।

श्लोक भन्छ- विवाहको अवसरमा केटा र केटीको ध्यान हुनेवाला जीवनसाथीको रुप (सुन्दरता)मा हुन्छ। उनीहरूका आमा हुनेवाला ज्वाइँ वा बुहारीको परिवार कति धनी छन् भन्नेतर्फ बढी ध्यान पुर्‍याउँछन्। उनीहरूका पिता पढाई लेखाई र खुबी कस्तो छ भन्ने विषयमा बढी चनाखो हुन्छन्। दाजुभाइ इष्टमित्र कस्तो खानदान हो? कुल कुटुम्ब कस्ता छन् भनेर बुझ्न रुचि राख्छन्। बाँकी जनहरू विवाहको भोजमा बढी नजर डुलाउँछन्।

मैले निम्ता गर्नेहरू माथिको श्लोकअनुसार प्रायः अन्तिम वर्गमा पर्ने भए। निम्तोमा सकेसम्म पैँचो पनि तिर्न सकियो भने गजब हुन्छ भन्ने लाग्यो। मलाई निम्तो गर्नमा आफूले निम्तो मान्न जाने बेलाका घटनाहरूले सघाउने भए। पुरानो घटनाको जोडघटाउ गर्दै मेरो बिहेमा आउने भाग्यशाली सात निम्तालुको छनोटतर्फ लागेँ।

निम्तो-१

'पाटी आज फ्री हो?' एउटा साथीले बिहानै फोन गरेर सोधेको थियो। 'अँ हो यार फ्री छु, केही विशेष?' मैले प्रतिप्रश्न गरेँ। साँझ एउटा बिहेको पार्टीमा जानुपर्ने भयो। एक्लै भए हिँड् चौरासी व्यञ्जन भुत्ताउन। निम्तो नै नआएको भोजमा कसरी जानु अलिअलि लाजको अंश आफूमा छ भन्ने प्रमाण पेश गरेँ।

उसले भन्यो, 'के पीर गरेको यार? गइदिने, खाइदिने अनि आइदिने हो। निम्ता गर्नेलाई म पनि चिन्दिनँ। बाउले मलाई जा भनेका छन्।'

बिनाशुल्क गइदिने, खाइदिने र आइदिने भनेपछि आन्द्रा रसायो। गइदिम् न त भनेर म पनि जाने निर्णय गरेँ। 'अनि जानुपर्ने चाहिँ कता नि साथी?' मैले सोधेँ। आर्मी क्लबको पार्टी प्यालेसमा साँझ ५ बजे।

बेलुका ५ बजे सुन्धाराको आर्मी क्लबको गेटबाट बिहेको निमन्त्रणा कार्ड देखाएर प्रवेश गर्यौं। पार्टी प्यालेसमा एकै समयमा २ वटा भोज चलेका रहेछन्। निमन्त्रणा कार्डअनुसार हामी २ नम्बर गेटबाट भित्र जानुपर्ने रहेछ। बाहिरबाट छिर्ने गेट फरक भए पनि भित्र २ छेउमा भोजका स्टलहरू तर बरण्डा एउटै रहेछ।

निम्तो मान्न गएका म र मेरा साथीले चिनेजानेका कोहो थिएनन्। बेसै भयो। त्यही पनि चिनजानका कोही देखिन्छन् कि भनेर स्टल वरिपरि एक फन्को लगायौँ,  कोही भेटिएनन्। अर्को तर्फको निम्तोमा पो आएका हौँ कि भनेर हेर्यौँ तर हामी सही ठाउँमा नै रहेछौँ।

यही क्रममा खानाका परिकारमा पनि नजर डुलायौँ। आफ्नातिर शुद्ध शाहाकारी अर्कोतर्फ त रक्सीका परिकार। ओहो! थुक निलियो। साथीले मुख फोरिहाल्यो, 'साथी सादा भात त घरमै हुन्छ, हामी भोज खान आएका हौं।' मेरो मनकै कुरा गर्‍यो उसले।

अनि सादा छोडेर रक्सीसहितको भोजतिर हामी पुग्यौं। भोको बघिनी जसरी हामीले बढो स्वादले भोज लतार्नु लतारियो। तिरिमिरि तिरिमिरि आँखा हुँदै गर्दै साथी बोल्यो, 'पार्टी खाएपछि यतैका बेहुला बेहुलीलाई खादा लगाउने हक राख्छन्।'

मलाई पनि सित्तैमा त्यत्रो हसुरेपछि बधाई नदिए त अन्याय हुन्छ भन्ने लाग्यो। जाँडका तालमा गएर खादा  ओढाएर दाम्पत्य जीवनको शुभकामना र बधाई दिइयो। एकतिरको निम्तो मान्न गएको अर्कोतिर निम्तो मानेर आइयो। त्यसमा पनि म त झन बिनानिम्तोको अतिथि।

उसका तेती धेरै साथीमध्ये मलाई बोलाएर उक्त विवाहमा अविष्मरणीय भोज खुवाएको साथीलाई आफ्नो बिहेमा छुटाउनु त मेरो लागि जघन्य अपराध हो। ऊ मेरो पहिलो निम्तो त्यही साथीलाई पक्का भयो।

निम्तो-२

जन्तीहरूलाई बिहेका अन्य पक्षहरू भन्दा पनि भोज नै विशेष हुन्छ। एउटा बिहेमा मलगायत मेरो सर्कलका प्रायः साथीहरू सहभागी थियौँ। सबैजना टेबुल वरिपरि बसेर खाँदै थियौँ। क्यामेरा फोनहरूले भर्खर भर्खर बजार विस्तार गर्दै थिए। मोवाइल हुनेहरू फोटो खिच्नमा जोड गरिरहन्थे। हामीले खाना खाँदै गर्दा पनि साथीहरू फोटो लिँदै थिए। मैले पनि केही फोटो खिचेँ।

बिहेबाट फर्केपछि बेलुका फेसबुक चलाउँदै थिएँ एउटा नाम चलेको फेसबुक पेजमा मुख आँ गरेर चम्चाले गाँस मुखतर्फ लैजाँदै गरेको एउटा फोटो हालिदिएँ। फोटोको माथिपट्टि लेखिदिएँ, 'त्यो साथीलाई मेन्सन गर्नुहोस्, जसले बिहेको भोजमा गएपछि एक हप्तालाई पुग्नेगरी खाएर आउँछ।'

भोलिपल्ट साथीहरूको बीचमा केटो खुब रिसायो। उसको रिस देखेर फोटो अपलोड गर्ने म चुप बसेँ। अर्को एक साथीलाई मेरो कर्तुत थाहा थियो।

उसले  पोल खोलिदिएको भए २ जनाको मित्रताको अन्त्य पनि हुन सक्थ्यो।  उसले पोल खोलेन। मेरो कारण सर्कलमा 'हन्तकाली' साथीको उपमा पाएको साथीलाई मेरो गल्तीको प्रायश्चित्त स्वरूप मेरो बिहेको दोस्रो निम्तालु हुने पक्का गरेँ।

निम्तो-३

ठ्याक्कै तीन महिना अगाडिदेखि आफ्नो बिहेको निम्तो गरेको थियो उसले। मलगायत पाँच-६ जना साथीहरू जम्मा भएका थियौँ। चार-पाँच घण्टा बसको यात्रा पार गरेर जन्ती जानुपर्ने भयो।

जाने बेलामा बाटो, बस र माहोल देखेर बेकार आइएछ भन्ने लागेको थियो।  तर पुगिसकेपछि भने गाउँको परिवेश र  वैवाहिक उत्सव गजब रमाइलो भयो। बिहेघरबाट २ सय मिटर जति पर गाउँको नामुद भट्टीपसल रहेछ। केटाहरूलाई चोरलाई चौतारो भनेजस्तो भइहाल्यो।

उता साथीको बिहे सुरु भयो यता केटाहरूको भट्टीमा भोज सुरु भयो। बिहे र भट्टीभोजसँगै सकियो। फर्कनेबेलामा बसको अन्तिम सिटमा गएर बस्यौँ। केटाहरू सबै मौन थिए तर दिनभर भट्टीमा धोकेको जाँडले ठूलो ठूलो स्वर निकालिरहेको थियो।

सबैभन्दा अगाडिको सिटमा बसेको बेहुलो बेलाबेला पछाडि फर्केर हेर्‍थ्यो। सायद सोच्थ्यो होला- म पनि त्यही सिटमा, त्यही अवस्थामा हुन पाए।'

तर, केटो परिबन्धमा थियो। अत्याचार नै भइसकेपछि साथीका मामा आएर सम्झाउन खोजे, हल्ला नगर्न आग्रह गरे। मामाका कुरा नसकिँदै एउटा प्वाक्क बोल्यो, 'मलामी आएको हो र नबोलीकन, हल्ला नगरीकन बस्नलाई ? साथीको बिहेमा आएको हो मज्जाले हल्ला गरिन्छ। मन नपरे हाम्रो बिहेमा आएर उसैले पैँचो तिर्छ।'

मामा निरीह भएर आफ्नो सिटमा फर्के। बेहुलाले फेरि एकपटक हामीतिर आँखा तर्‍यो, सायद सोच्यो होला पख्लास् तेरो बिहेमा मैले जानेको छु। हुन त केटो बिहेपछि धेरै नै सुध्रेको छ।

हरेक मान्छेलाई एक अवसर दिनुपर्छ। पैँचो तिर्ने मौका दिन पनि आफ्नो बिहेमा बोलाउने निर्णय नगरी बस्न सकिनँ।

निम्तो-४

केटाहहरू भूगोलमा नभेटेको कुरो समेत गुगलमा भेटिन्छ बुझ्यौ? जमाना कहाँदेखि कहाँ पुगिसक्यो तिमीहरू अझै हराइएला भन्ने पीर गर्छौ यार। जन्ती गाडी हामीभन्दा अघि हिँडेपछि साथीले हामीलाई हौसला दिँदै भनेको थियो। ५ जना जन्तीबस छाडेर साथीको कारमा हिँडेका थियौँ।

तराईको बजारभन्दा अलिभित्रको ठाउँमा हामी पुग्नुपर्ने थियो। जन्तीबसको अघिपछि गर्दै गएका हामी बसभन्दा अलि अघि परेपछि चिया खान लाग्यौँ।

त्यही बेलामा बस अगाडि लागेपछि चिया छाडेर हिँड्न मन नलागेर यौटा साथीले हामीलाई बिहेघरमा पुर्‍याउने जिम्मा लियो। चिया सकेर हिँडेपछि पहिले पुगिसकेका जन्तीसँग बिहेघरको मानचित्र मागेर गुगलम्यापमा बाटो पछ्याउँदै हिँडेका हामीलाई गुगलले घुमाउनुसम्म घुमायो तर पनि बिहेघरको अत्तोपत्तो लागेन।

नौलो ठाउँ घुम्दाघुम्दै एउटै बाटो कतिपटक दोहोरिइसके। स्थानीयसँग सोधेर पनि बिहेघर भेट्न सकिएन। एकजना प्वाक्क बोल्यो, 'साथीहरू हो साँच्चै नै भूगोलमा नभएको कुरो नै गुगलमा भेटिने रहेछ तर भएको कुरो पो नभेटिने रैछ। एक घण्टा नै बितिसक्दा नि गुगलले उपाय निकालेन।'

 बिहेमा जन्ती आएका हामी बिहेघर नै नदेखी फर्किनुपर्ने अवस्थामा पुग्नै आँटेका थियौँ। एउटा चोकमा पुगेपछि म्यापमा दक्षिणतर्फ लाग्न निर्देश गरिरहेको थियो। कार चलाइरहेको साथीलाई पनि झोक चलेछ, तेरा तोरी गुगल भन्दै उत्तरतिर मोड्यो।

अब यतैबाट फर्किदिम् भन्ने सल्लाह सुरु हुँदै थियो, १ किलोमिटर जति अघि बढेपछि पूर्वतिर २०० मिटर जति भित्र जन्तीबस रोकेको देखियो। केटाहरूले लामो सास फेरे। यो गुगलम्यापले मेरो बेइज्जत नै गर्‍यो यार अब त जिन्दगीमा कहिल्यै हेर्दिनँ भन्दै साथी बोल्यो।

त्यो बिहेमा गुगलम्यापप्रति देखाएको विश्वासको कदरस्वरूप पनि त्यो साथीलाई निम्तो नगरी मनले मान्दै मानेन।

निम्तो-५

शिवरात्रि थाहा छ नि साथीलाई? एउटा अति प्रिय साथीले विदेशबाट म्यासेञ्जरमा सोधेको प्रश्न हो यो। छ नि साथी, मैले जवाफ लेखेँ। कति गते परेको छ हेर त। उसले भन्यो। आजको ठ्याक्कै एक महिनापछि, फागुन १२ गते- मैले भनेँ। हो त्यो दिन मेरो बिहे पक्का भयो साथी चुल्होसहितको निम्तो गरेँ है।

उसको निम्तो मैले नस्वीकार्ने कुरै भएन। एक महिनापछि ३–४ जना जम्मा भएर लाग्यौँ साथीको बिहेको जन्ती।

साथीलाई मण्डपमा नै भेटेर हामी खाना खान लाग्यौँ। हामीले खाना खाइसक्दा बेहुलाबेहुली पनि खाना खान आए। खाना खाएर फोटो खिच्ने कार्यक्रम सकिएपछि बेहुली कपडा फेर्न गएको मेसोमा हामीले बेहुलोलाई बाथरुमतिर लग्यौँ। शिवरात्रिको दिन, केटाहरूले घरबाट नै चुरोटमा गाँजा भरेर ल्याएका थिए।

एकजना बाथरुमबाहिर पाले बसेर अरू भित्र गएर  बेहुलोलाई गाँजा खुवाउन लागियो ( त्यसअघि उसले गाँजा छोएको मलाई थाहा छैन)। काम सकेपछि मुखमा सेन्टरफ्रेस चकलेट च्यापेर बेहुलो मण्डपमा गयो। गाँजाको असरले निर्माण गरेको उसको हर्कत हेर्न लायक देखियो। घरी छट्पटाउछ। एक्लै मुसुमुसु हाँस्छ।  घरी अगाडि टपरीमा राखेका फूल निमोठ्छ। केटाहरू अलि पर बसेर बेहुलाको हर्कत हेर्दै रमाइलो गरिरहे।

भोलिपल्ट बल्ल बेहुलोले आफ्नो अघिल्लो दिनको अवस्था सुनाउन भ्यायो। एकबारको जुनीमा भएको आफ्नो बिहेको दिन मण्डपमा केके भयो मैले मेसो पाइन यार। केटाले भोलिपल्ट सुनाएको व्यथा र अघिल्लो दिन उसले मण्डपमा गरेको हर्कत सम्झँदा त्यो दिन हामीले अपराध नै गरेका थियौँ झैँ लाग्छ। त्यो अपराधको सजाय माफीका लागि पनि त्यो साथी मेरा निम्तालुको लिष्टमा पर्ने पक्का भयो।

निम्तो-६

उमेर र अवस्थाले मान्छेलाई अनेक किसिमका बाध्यताको पहाडसँग सिगौरी खेलाउँछ। करिब ७–८ वर्षअघि २१–२२ वर्षको अल्लारे अवस्थामा मैले पनि एउटा अनौठो अवस्थाको सामना गरेँ। एउटी केटी असाध्यै मन पर्थ्यो। तर, भन्न सकिरहेको थिइनँ। एउटा मिल्ने साथीलाई हुलाकी बनाएँ। उसले २–४ दिन पख् म मेसो मिलाएर तेरो जोडी मिलाइदिन्छु भनेको थियो।

 २–४ दिन भन्दाभन्दै २–४ महिना बित्यो उसले हुलाकी धर्म निर्वाह गरेन। मैले पनि तिमीलाई मन पराउँछु भन्न सकिनँ।

 ४ महिनापछि एकदिन त्यही साथीले फोन गरेर भन्यो, 'ओई मेरो फलानीसँग बिहे फिक्स भयो जसरी पनि आइज है।'

साथीको बिहेको खबरले खुसी हुनुपर्ने म एकछिन त छाँगाबाट खसेझैँ भएँ। मैले नै बिउ राख्न ठिक्क पारेको ब्या‍डमा मुख डोबेर मरेछ साँढेले। एक्कासि दिमाखमा खै के रन्को छुट्यो फेसबुकमा एउटा स्टाटस लेख्न पुगेँछु, 'केही समयदेखि कोमामा रहेको मित्रताको मलामी जाने निम्तो आएको छ।'

के, कहाँ कसरी भन्दै सोधिखोजी गरेका म्यासेज र फोनले मलाई हत्तु बनायो।

त्यो बेला त खुब पीर पर्‍यो तर अहिले आफ्नो पारा सम्झेर आफैँलाई रमाइलो लाग्छ। लौ न त्यो केटी मेरी बेहुली बन्ने मेसो मिलाइदे भनेर आफैँले पठाएको साथीले आफ्नै बेहुली बनाउने निधो गरेर फर्केछ। तर, पनि बिहेमा चाहिँ बोलायो है।

कति कुरा बेलैमा आफैँले भन्ने आँट गर्न सक्नुपर्छ भन्ने ज्ञान सिकाउने त्यो साथीको बिहेको निम्तो मान्न त गइएन।  अहिले आफ्नो बिहेमा भने त्यही कथा सम्झेर पनि बोलाउन मन लाग्यो। यसरी मेरो कोटाको छैटौँ निम्तालु पनि पक्का भयो।

निम्तो-७

'फलानो जेल परेको थाहा पाइस्?' एउटा साथीले सुनायो। 'तैट् हावा कुरा नगर्न, बिहान भर्खर त भेटेको थिएँ। कसरी पर्छ एक्कासि जेल?' मैले प्रतिवाद गरेँ।

 'हैन क्या आज भाउजू आइन् माइतबाट, उसले कुरो खोल्यो।

बल्ल बुझेँ। केटो बूढीसँग असाध्यै डराउने। बूढी घरमा भएपछि उसलाई घर नै जेल हुन्थ्यो। बुढी माइती वा अन्यत्र कतै जाँदा २४ घण्टा हामीसँगै हुने साथी बूढी घरमा हुँदा घरको तगारो नाघेर बाहिर केटाहरूसँग भेटघाट र घुमघाममा निस्कने कुरा सोच्न पनि सक्दैनथ्यो।

यसो सोचेँ, सजिली परे त राम्रै हो तर मेरिवाली नि हिटलर निस्की भने त मेरो लागि नि घर नै जेल हुनेवाला छ। यदि त्यस्तो भइहाल्यो भने त यसो मेलापात, अर्मपर्म र घाँसदाउराको क्रममा स्वास्नीको कुरा काट्ने आफूजस्तै पीडित एउटा साथी त चाहियो।

 त्यसैले अहिलेदेखि नै भविष्यको सम्भावित खतरालाई मध्यनजर गर्दै पूर्वतयारीस्वरूप यो साथीलाई नै मेरो अन्तिम निम्तालु बनाउने निधो गरेँ।

यसरी मेरा सातजना निम्तालुको छनोट कार्य सम्पन्न भयो। मान्छेहरू जिन्दगीमा आइपरेका अनेक चुनौती र कठिन परिस्थितिका बारेमा बयान गर्छन् तर मलाई भने आफ्नै बिहेको निम्तो नै महाभयंकर भयो। अझ निम्तो नगरेका साथीहरूको वचन सुन्नुपर्ने चुनौतीको सामना गर्न त बाँकी नै छ।

बरु जस्ता चुनौती आइपरे पनि सामना गरौँला। तर, हे भगवान्! तिमीसँग एउटै प्रार्थना छ- अरूका बिहेमा निम्तो गएर जुन प्रकारका काण्ड मच्चाइयो त्यस्ता काण्ड मेरो बिहेमा चाहिँ मेरा साथीले नमच्चाऊन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.