|
मदन भण्डारी लोकमार्गअन्‍तर्गत उदयपुरगढीको मौवासी खोलाले सडक अवरुद्ध गरेपछि जेसिवीबाट मोटरसाइकल तारिँदै । तस्वीर : राकेश नेपाली

उदयपुर : राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी लोकमार्गको पूर्वी खण्डका खोला खहरेमा पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ।

पुल नबन्दा सामान्य वर्षामा समेत सवारीसाधन रोकिने गरेका छन्। यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। छोटो दूरीका कारण सडकको कालोपत्रेको काम सकिएसँगै यातायातका साधनको चाप बढे पनि खोला खहरेले गर्दा सवारीसाधन रोकिने गरेका छन्।

पुल क्षेत्रमा ठूला–ठूला खाल्डाहरू रहेका कारण साना सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको बेल्टारका शम्भु पौडेल बताउँछन्।

उनले भने, ‘कालोपत्रे नहुँदा खाल्डाखुल्डीले मोटरसाइकल हिँडाउनसमेत मुस्किल छ, साना गाडी सबै ठोकिने भएकाले बाध्य भएर वैकल्पिक बाटो रोज्नु परेको छ।'

२० मिनेटको बाटोलाई २ घण्टा लाग्छ

यो लोकमार्गबाट काठमाडौं आवतजावत गर्दा पूर्वी क्षेत्रका यात्रुहरुलाई दुई घण्टाको फरक पर्ने भएका कारण अधिकांशको रोजाइ यो सडक परेको छ। पुल नबन्दा बेल्टार–गाईघाटको २० किमीको दूरी ३० मिनेट बढी समय लाग्ने गरेको पौडेलले बताए।

उनले भने, ‘पुल र कालोपत्रेको काम सकिँदा २० मिनेटमा पार गर्न सकिने गाईघाट–बेल्टार खण्डमा असारी, झोरा, ज्योमिरे खोलामा पुल निर्माण नहुँदा समय लाग्ने गरेको छ।' आयोजना कार्यालयले पुर्विखण्डअन्‍तर्गत सिन्धुलीको भिमानदेखि उदयपुरको चौदण्डीगढी नगरपालिकासम्मको १ सय ३४ किलोमिटरमध्ये १ सय १२ किलोमिटर सडकमा कालोपत्रेको काम निर्माण कम्पनी शर्मा लामा जेभी काठमाडौं सीतापाइलाले सकिसकेको बताएको छ।

बाँकी २२ किलोमिटरमा १२ वटा पुल र एप्रोज रोड परेकाले केही ढिलाइ भएको जनाएको छ।

 'बाँकी काम चाँडै सकिन्‍छ'

लोकमार्गअन्‍तर्गत उदयपुर खण्डमा १२ खहरे खोलामा पुल निर्माण गर्न बाँकी रहेकाले डिजाइन स्वीकृति गरी ३३ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको आयोजना कार्यालय गाईघाटका इन्जिनियर शंकर पौडे्लले बताए।

उनका अनुसार निर्माण कार्यलाई छिटो गर्न भ्याटसहितको १ अर्ब ४२ करोड ७० लाख २७ हजार ५० रुपैयाँ लागतमा तीन वटा छुट्टा–छुट्टै प्याकेजमा तीनवटा फरक–फरक कम्पनीसँग ठेक्का सम्झौता भएको हो।

उनले डिजाइन स्वीकृत हुनासाथ चाडपर्व भित्रिकाले काममा ढिलाइ भए पनि अब चाँडै निर्माण कार्यले गति लिने उनले बताए। उनले भने, ‘नयाँ प्रविधिका पुल बनाउन खोज्दा त्यहीँअनुसारको दक्ष जनशक्ति र अध्ययन गर्दा डिजाइनमा ढिला भएको हो, अव डिजाइन सकिएर ठेक्कासमेत लागिसकेकोले चाँडै सुरु हुन्छ।'

उनले भने, ‘समयमा डिजाइन स्वीकृत नहुँदा र स्वीकृत भएलगत्तै चाडपर्व भित्रिएकाले केही ढिलाइ भएको हो, अब कुनै समस्या छैन डोर हाजिर बनाएर काम अघि बढ्छ समयमा सकिनेमा विश्वस्त छौँ।'

लोकमार्गअन्‍तर्गत हालसम्म ४३ वटा खोला खहरेमा मोटरेबल पक्की पुल निर्माण भइसकेका छन्। तर, सबै पुलका वारि र पारिको भागमा कालोपत्रेको काम बाँकी छ। पुल र सडकको ठेकेदार अलग–अलग भएकाले पुल क्षेत्रमा कालोपत्रे गर्ने काम बाँकी रहेको इन्जिनियर पौडेलले बताए।

लोकमार्ग निर्माणको प्रारम्भिक सर्वेक्षणमा नै १२ वटा खोलामा पुल छुटेकाले पछि थप गर्दा ढिलाइ भएको आयोजना कार्यालयको भनाइ छ। निर्माण कम्पनी आफैँले डिजाइन तयार पार्नुपर्ने र तयार पारिएको डिजाइनलाई सडक विभागबाट स्वीकृति दिइएपछि मात्रै पुल निर्माणको काम सुरु हुने व्यवस्था छ।

फरक–फरक कम्पनीलाई काम बाँडेर दिँदा छिटो र गुणस्तरीय काम हुने विश्वासमा तीनवटा प्याकेजमा ठेक्काको काम गरिएको इन्जिनियर पौडेलले बताए।

लोकमार्गअन्तर्गत धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा ३ सय १८ किलोमिटर सडक खण्डको निर्माण कार्य २०६४-६५ देखि नै सुरु भएको हो।

फरक-फरक ठेक्का

लोकमार्गलाई उदयपुरको चौदण्डीगढीस्थित वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमानसम्मको १ सय ३४ किमीलाई पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १६ किमी सडकलाई पश्चिमी खण्डमा विभाजन गरी निर्माण गरिँदै आएको छ।

दुवै खण्डमा सडक र पुलको फरक–फरक ठेक्का लगाई काम भइरहेको सडक आयोजना कार्यालयले जनाएको छ।

पूर्वी खण्डको पुलको काम सीओभीआईसी–रसुवा तुन्डी जेभीले सम्झौता गरेका छन्। कार्यालयका अनुसार पूर्वीखण्डमा सडकतर्फ ६ अर्ब ५४ करोड र पुलतर्फ ३ अर्ब २५ करोड रुपैयाँ बराबरको ठेक्का सम्झौता भएको हो। लोकमार्ग गत माघमै निर्माण सम्पन्न गर्नु पर्नेमा कोभिड–१९ महामारी लगायत बिभिन्न कारण देखाउँदै अझै काम पूरा हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.