|

काठमाडौं : प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तोकिएको मितिमा जसरी पनि स्थानिय चुनाव गरेरै छाड्ने बताएका छन्। नेकपा माओवादी केन्द्रको ३ नम्बर प्रदेश स्तरीय बैठकमा प्रचण्डले यस्तो बताएका हुन्। 
प्रधानमन्त्री प्रचण्डको कार्य व्यस्तताका कारण ३ नम्बर प्रदेशले आज मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमै बैठक राखेको थियो। निर्वाचन र समसामयिक राजनीतिक विषयमा प्रशिक्षण एवं कार्यक्षेत्रको रिर्पोटिङका लागि डाकिएको बैठकमा प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ गतेको चुनाव कुनै पनि हालतमा नसर्ने ठोकुवा गरे।

उनले दुई चरणमा चुनाव गर्ने खेल पनि सकिएको बताए। 'मधेसी मोर्चा सहभागी हुन्छ भनेर दुई चरणमा भएपनि चुनाव गर्ने कुरा गरेका हौँ। मोर्चा चुनाव भाँड्न लागेपछि अब चुनाव एकै चरणमा हुनेछ,’ बैठकपछि प्रधानमन्त्रीलाई उद्र्त गर्दै उपत्यका संयोजक झक्कुप्रसाद सुवेदीले भने,‘अब ३१ गते चुनाव जसरी पनि हुन्छ । सर्छ भन्‍ने कन्फुयजमा कोही पनि नपर्नुस्।'

सुवेदीका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले सुरक्षा निकायबाट र निर्वाचन आयोगवाट तोकिएको मितीमै चुनाव गर्न सकिन्छ भन्‍ने बिफ्रिङ आएको बताए। ‘आज बिहान मात्र मैले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको छु। उहाँहरुले चुनाव गर्न सकिन्छ भन्ने रिपोर्ट सुनाउनु भएको छ। मधेसका जनताले पनि चुनाव चाहेका छन्,’प्रधानमन्त्रीलाई उद्र्त झक्कुप्रसाद सुवेदीले भने।

देश भित्र र बाहिरका केही समूहले चुनाव विरोधी चलखेल गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले ती चुनौतिको घेरा तोडदै जान पार्टीलाई निर्देशन दिएका छन्। 
आज बिहान मात्र चारवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए । गृहमन्त्री विमलेन्द्र निधिले चुनावी सुरक्षावारे आशंका गर्दै हिजो मध्यरातमा ट्वीट गरेपछि प्रधानमन्त्रीले आज सुरक्षा निकायका प्रमुखहरुसँग भेट गरेका हुन्।

यद्यपी गृहमन्त्री निधीले मध्यरातको ट्वीट सच्याउँदै मध्यदिनमा चुनाव नै सरकारको प्राथमिकता हुनुपर्ने बताएका थिए। अहिलेको चुनाव सामान्य चुनाव नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको चुनाव घोषणा गर्न नदिन आफुलाई ठूलो दबाब आएको पनि वैठकमा सुनाएका थिए।

अहिलेको चुनावले सिंहदरबारको अधिकार गाँउ-गाँउ लैजाने प्रकृयाको सुरुवात गर्ने भन्दै जसरी पनि यो चुनाव सफल बनाउनुपर्ने पक्षमा प्रधानमन्त्री देखिएको सुवेदीले बताए।

चुनाव हारिन्छ कि भनेर नडराइकन जनताको घर आँगनमा जान प्रचण्डको आग्रह थियो। चुनावका लागि माओवादी केन्द्रसँग एजेन्डै-एजेन्डा रहेको हुनाले ती कुरा जनतालाई राम्रोसँग सम्झाउन पनि प्रचण्डले पोलिटब्युरो सदस्यलाई निर्देशन दिए। आफ्ना एजेण्डा जनतामा पुर्‍याएपछि स्थानिय तहको चुनावमा माओवादीले सजिलै जित्‍ने बुझाइ प्रचण्डको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.