गौ संरक्षणमा ठूलो योगदान पुग्ने

|

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वारामा गौ संरक्षण अभियानअन्तर्गत पञ्चगव्य (गौमुत्र) अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना भएको छ।

विश्व हिन्दू युवा सङ्घका धार्मिक सद्‌भावनादूत योगी पिताम्बरको नेतृत्वमा बर्दिया राष्ट्रिय निकुञ्जनजिक ठाकुरद्वारास्थित ठाकुरद्वारा मन्दिर परिसरमा पञ्चगव्य अनुसन्धान केन्द्रको शिलान्यास गरिएको विश्व हिन्दू युवा सङ्घका अध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिए।

ठाकुरद्वारा मन्दिर परिसरमा महाराज गोरखनाथ मत्स्यनाथका प्रमुख महन्त संकल्पकर्ता योगी शीर्षनाथ, विश्व हिन्दू युवा सङ्घका अध्यक्ष शाह, नेपालका गव्यसिद्ध डाक्टर नरेन्द्र हमाल, प्रेम आर्य र बाबा योगीराजको सैद्धान्तिक नेतृत्वमा पञ्चगव्य अनुसन्धान केन्द्रको स्थापना गरिएको बताइएको छ।

केन्द्रले गौ संरक्षणमा योगदान पुर्‍याउँदै स्थानीयवासीको आयआर्जनमा समेत टेवा पुर्‍याउने बताइएको छ।

यस्तै केन्द्रको शिलान्यास गरिएसँगै पञ्चगव्यसम्बन्धी अध्ययन थालिनेसमेत शाहले जानकारी दिए।

गौ संरक्षण अभियानसँगै दलित समुदायलाई सम्मानित सिल्पी समुदायमा रुपान्तरण र दलित तथा छुवाछुतजस्ता विभेद अन्त्य गर्ने अभियानलाई देशैभरिबाट अगाडि बढाइएको जनाइएको छ।

ठाकुरद्वारा मन्दिर परिसरमा २ वर्षअघि गौशाला निर्माण गरी झन्डै एक सय गाई पालिएको छ।

पञ्चगव्य अध्ययन तथा अनुसन्धान केन्द्रको शिलान्यासमा शिक्षाविद डाक्टर विद्यानाथ कोइरालाले धर्म, संस्कार, मठ र संस्कृतिबारे जानकारी दिँदै यी सबै मानिसले बुझ्नुपर्नेमा जोड दिए।

यस्तै उनले सबै धर्मशास्त्रलाई जोडेर त्यसको चिन्तन, खोजी र अभ्यास गरेमा अगाडि बढ्न सकिनेसमेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.