एक वरिष्ठ उपाध्यक्षसहित २५ केन्द्रीय सदस्यको दाबी

|

काठमाडाैं : कुनै समय रामबहादुर थापा ‘बादल’लाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उत्तराधिकारीको रूपमा लिइन्थ्यो। प्रचण्डले नेकपा एमालेसँगको गरेको एकतापछि प्रचण्ड र बादलबीचको सम्बन्ध चिसियो।

साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र केपी शर्मा ओली-प्रचण्ड-माधव नेपाल समूहबीचको आन्तरिक संघर्षका वेला प्रचण्डले बादलको साथ पाएनन्। माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी सम्हाले पनि नेकपा विभाजनका क्रममा एमालेमै रहे।

नेकपाको एकता भंग भएपछि पहिलोपटक एमालेको महाधिवेशन हुँदै छ। महाधिवेशनमा एमालेमै रहेको पूर्वमाओवादी नेताहरूको भूमिका कस्तो हुन्छ? भन्ने आम चासोको विषय बनेको छ। पूर्वमाओवादी नेताहरू बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीसहित एमालेमा २३ केन्द्रीय सदस्य छन्। 

पूर्वमाओवादी समूहबाट वरिष्ठ उपाध्यक्षमा रामबहादुर थापा, उपाध्यक्षमा टोपबहादुर रायमाझी, सचिवमा मणि थापा र लेखराज भट्ट र स्थायी समिति सदस्यमा प्रभु साहले दाबी गर्दै आइरहेका छन्। उनीहरूले त्यसबारेमा मुख खोलेका छैनन्। स्रोतका अनुसार पूर्वमाओवादी समूहले एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, दुई सचिवसहित २५ केन्द्रीय सदस्य दाबी गरेको छ। 

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गर्ने पहल भइरहेका वेला उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। १५ जनाको पदाधिकारीमा दोब्बर आकांक्षी भएकाले सर्वसम्मतको सम्भावना कमजोर बन्दै गएको छ। 

बादललाई वरिष्ठ उपाध्यक्ष दिने सहमति गरेका ओलीलाई पछिल्लो समय पार्टीभित्रबाटै दबाव छ। महासचिव ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ पनि वरिष्ठ उपाध्यक्षकै लाइनमा छन्। ओलीले आफ्नो विश्वासपात्र नै पार्टीको जिम्मेवार पदमा ल्याउन खोजिरहेकाले पोखरेल वा नेम्वाङको सम्भावना बलियो छ। आठौँ र नवौँ महाधिवेशनमा सहभागी नभएका नेम्वाङको व्यवस्थापन ओलीलाई चुनौती छ। 

पार्टीको महाधिवेशनमा कुन पदमा कसले दाबी गर्ने भन्नेबारे नटुंगिएको स्थायी कमिटी सदस्य मणि थापा बताउँछन्। 

उनी भन्छन्, ‘अब हामी एमाले भइसक्यौँ। एमालेमा रहेपछि पूर्वमाओवादी खेमा भनेर हामी कुनै गुट बनाउँदैनौँ। कम्युनिष्ट पार्टी आफ्ना पनि गुट उपगुटले ग्रस्त छ। हाम्रो त्यस्तो कुनै सोच छैन। पार्टीमा अहिले सर्वसम्मतको प्रयास भइरहेको छ। त्यसैले हामीले पूर्वमाओवादी भनेर छुट्टै टिम बनाएर जाने पक्षमा छैनौँ।’
 
‘सम्मानजनक स्थान पाउनुहुन्छ’

माओवादी केन्द्र छाडेर एमालेमै रहेका नेताहरूको सम्मानजनक व्यवस्थापन हुने एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ बताउँछन्। 

नेम्वाङ भन्छन्, ‘अहिले हामी प्रतिस्पर्धाभन्दा पनि सर्वसम्मतको प्रयासमा छौँ। उहाँहरूलाई प्रतिस्पर्धाबाट आउन असहज हुन्छ। त्यसैले सहमतिको आधारमा सम्मानजनक स्थान दिइनेबारे छलफल भइरहेको छ।’ 

पार्टीभित्र पूर्वमाओवादी केन्द्रका नेताहरू भनेर आफूहरूले अर्को व्यवहार नगर्ने उनको भनाइ छ। नेता बादलले १० औं महाधिवेशन मूल व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी पाएका छन्। 

‘बागर्नेनिङ’मा प्रभु साह !

प्रदेश २ मा पकड रहेका प्रभु साह माओवादी छाडेर एमालेमै बसेका छन्। एमाले छाड्ने अन्तिम तयारी गर्दैगर्दा ओलीसँग दुईजना केन्द्रीय सदस्य थप्ने सहमतिमा रोकिएका थिए। साह निकट कुन्दन कुशवाह र मोहम्मद समीरलाई केन्द्रीय सदस्य बनाएपछि एमालेमै छन्। 

उनले १० औँ महाधिवेशनमा स्थायी कमिटी सदस्यको दाबी गरिरहेका छन्। हाल केन्द्रीय सदस्य मात्रै रहेका शाहले स्थायी कमिटी दाबी गर्दैगर्दा ओलीलाई व्यवस्थापनमा चुनौती बनेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुक्त देश बनाउने अभियानमा लागेका साह माओवादी केन्द्रमै फर्किने तयारी गरेका थिए। ओलीले दुई सदस्य थपेपछि एमालेमै रोकिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.