|

काठमाडौं : नेपाल र भारतका नागरिकले मात्रै रेलमार्ग हुँदै नेपालबाट भारत जान पाउने भएका छन्।

भारतीय अधिकारीहरूले सुरक्षा जोखिम देखेपछि नेपालको रेल विभागले जनकपुर (कुर्था)-जयनगर रेलमा नेपाल र भारतका नागरिकलाई मात्र रेलबाट यात्रा  गर्न अनुमति दिने जनाएको हो।

रेलवे विभागका महानिर्देशक दीपककुमार भट्टराईले दुई मुलुकबीच रेल सञ्चालन गर्नेबारे भएको स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्युर (एसओपी) सम्झौतामा समेत यस्तो व्यवस्था गरिएको जनाएका छन्।

गत महिना दिल्लीमा नेपाल र भारतले एसओपी सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा दुई देशबीच रेल सञ्चालनका लागि अपनाइने प्रक्रियाको रूपरेखा उल्लेख छ।

कात्तिक ५ गते भारतले नेपाललाई ३४.९ किलोमिटर लामो कुर्था-जयनगरको रेलवे पूर्वाधार खण्ड हस्तान्तरण गरेको थियो।

भारतले सुरुदेखि नै नेपाल र भारत बाहेक अरू देशका नागरिकलाई रेलसेवा लिन पूर्णतः प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेको थियो। नेपालले भने भारतको यस्तो प्रस्ताव अस्वीकार गर्दै आएको थियो। पछि नेपालभित्र तेस्रो देशका नागरिक रेल चढ्न पाउने भए पनि भारत जानलाई रोक्ने सहमति भएको थियो।

भारतको सीमा सुरक्षा चासोकै कारण उक्त सम्झौतामा हस्ताक्षर हुन ढिलाइ भएको थियो। एसओपी सम्झौतामा हस्ताक्षर भए पनि कहिलेदेखि रेलसेवा पुनः सञ्चालनमा आउँछ र नेपालले कहिलेदेखि रेल कानुन लागू गराउँछ भन्ने कुनै निश्चितता छैन।

नेपाल सरकारले रेलवे सेवा सञ्चालन गर्न अध्यादेश ल्याउन आवश्यक छ। नेपाल रेलवे कम्पनीमा आवश्यक कर्मचारी पनि राखिएको छैन। शेरबहादुर देउवा सरकारले संसद्‌मा ल्याएको  रेल सञ्चालन सम्बन्धी अध्यादेश ल्याए पनि संसद्‌बाट अनुमोदित हुन सकेको थिएन।

रेल सञ्चालन हुन नसक्दा नेपाल सरकारले खरिद गरेका दुई सेट रेल अहिले धनुषाको इनर्वा स्टेशनमा एक वर्षभन्दा बढी समयदेखि थन्किएका छन्।

भारतको सुरक्षा चिन्ताका कारणा एसओपीलाई अन्तिम रूप दिन समय लागेको अधिकारीले बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव केशवकुमार शर्माले मन्त्रालयले रेलवे बारेको अध्यादेशको खाका मन्त्रिपरिषद्‌मा लैजाने तयारी गरिरहेको बताए।

नेपालबाट रेल हुँदै सीमापार गर्ने व्यक्तिका बारेमा भारतलाई जानकारी दिनुपर्ने भारतीय माग छ। आफूले जारी गरेका टिकटका आधारमा नेपाल रेलवेले भारत यात्रा गर्ने यात्रीको विवरण भारतलाई बुझाउनु पर्नेछ।

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत ८ अर्ब ७७ करोड रुपैयाँमा निर्माण भएको उक्त रेलमार्ग ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गको एउटा खण्ड हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.