|

काठमाडौं : नेपाली फिल्मको इतिहास कति वर्ष लामो छ भन्नेमा एकमत छैन।

विसं २००८ मा बनेको नेपाली भाषाको पहिलो फिल्म 'सत्य हरिश्चन्द्र' बाट गन्ने हो भने नेपाली फिल्मको इतिहास ७० वर्षभन्दा लामो छ। 

फिल्मका कलाकारदेखि प्राविधिक सबै भारतीय भएकाले उक्त फिल्मले नेपाली फिल्मको विकासमा त्यस्तो ठूलो फरक नपारेको धेरैको भनाइ छ। 

त्यसपछि २० को दशकमा बनेका 'आमा', 'माइतीघर', 'मनको बाँध' जस्ता फिल्मबाट गन्ने हो भने पनि नेपाली फिल्मको इतिहास झण्डै ५० वर्ष लामो भइसकेको छ। तर, त्यतिवेला एकदमै सीमित फिल्म बन्ने भएकाले नेपाली फिल्मले उद्योगको रुप लिइसकेको थिएन।

४० को दशकमा आएर नेपाली फिल्मले उद्योगको रुप लियो भन्न सकिन्छ।

नेपाली फिल्मको इतिहासमा स्वर्णिम युग मानिने उक्त समयमा केही व्यावसायिक फिल्म निर्माण भए र सफल पनि भए।

त्यही समयबाट गन्दा पनि नेपाली फिल्म उद्योगको उमेर झण्डै ४० वर्ष पुगिसकेको छ। तर उमेर अनुसार परिपक्व र आफ्नो खुट्टामा उभिन सक्ने भने अझै भइसकेको छैन। 

आज पनि नेपाली कुन मितिमा प्रदर्शन गर्ने भनेर बलिउड र हलिउड फिल्मको रिलिज डेट हेर्नुपर्ने हुन्छ।

आफ्नो प्रदर्शन मिति तोकिसकेका नेपाली फिल्म सोही मितिमा ठूलो लगानीको कुनै विदेशी फिल्म प्रदर्शनमा आउँदा नेपाली फिल्मले आफ्नो प्रदर्शन मिति सारेको उदाहरण धेरै छन्। 

कोरोनाले गर्दा झण्डै २ वर्षदेखि थला परेको नेपाली फिल्म उद्योग भर्खर तंग्रिने प्रयासमा छ। सरकारले भदौ तेस्रो सातादेखि नै सिनेमा हल खोल्ने अनुमति दिएको भएपनि कुनै नेपाली फिल्म प्रदर्शनमा आएनन्।

प्रदर्शनको लागि तयार भएर बसेका फिल्म पनि अझै सही समय आउला भन्ने आशमा बसिरहे। त्यस्तैमा दशैँ, तिहारजस्ता ठूला चाड आए र गए, जसलाई फिल्म रिलिजको लागि सबैभन्दा उत्तम समय मानिन्छ। 

कोरोनाको संक्रमण घटेको भएपनि दर्शक हलसम्म आउँछन् आउँदैनन् भन्नेमा अन्योल रहेकाले यस्तो समयमा करोडौँको लगानी रहेका फिल्म प्रदर्शनमा ल्याउनु ठूलो जोखिम मोल्नु हो, जुन नेपाली निर्माताले उठाउन चाहेनन्। लगानी भएपछि नाफा नोक्सानको हिसाब हुन्छ, त्यो स्वाभाविक पनि हो। 

तिहारको अवसरमा प्रदर्शनमा आएको बलिउड फिल्म 'सूर्यवंशी'ले त्यस्तै जोखिम उठायो। 'सूर्यवंशी' लकडाउनपछि सय करोड कमाउने पहिलो बलिउड फिल्म बन्यो, जसको संकेत अवस्था पहिलेको जस्तो हुन लाग्यो भन्ने पनि थियो।

उक्त फिल्मले भारतमा मात्र होइन नेपालमा पनि राम्रो व्यापार गर्‍यो। महिनौँदेखि सुनसानजस्ता भएका नेपाली हलमा दर्शकको घुइँचो लाग्यो। लामो समयपछि कुनै फिल्म हेर्न आउने दर्शकले हल भरियो। 

यो फिल्मको प्रतीक्षामा नेपाली निर्माता पनि थिए। उनीहरूलाई डर थियो अब पहिले जस्तो गरी दर्शक कहिले आउने हुन् भन्ने। दर्शकले हलसम्म जाने बाटो भुलेका छैनन् भनेर पनि विदेशी फिल्मले नै देखाइदियो। 

त्यसपछि नेपाली फिल्मले पनि प्रदर्शन मिति तोक्न थाले। जसमध्ये एउटा हो 'चपली हाइट-३'। 

०७६ को चैतमै प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो। त्यसपछि प्रदर्शनको लागि अनुकूल समय पर्खँदापर्खँदै फिल्म ०७८ पुस २ मा पुग्यो। 

गत शुक्रबार ट्रेलर सार्वजनिक भएसँगै फिल्मको प्रचारप्रसार सुरु भएको छ। यसअघि बनेका 'चपली हाइट' र 'चपली हाइट-२' ले गर्दा 'चपली हाइट-३' को चर्चा बढी छ।

यसअघि बनेका दुवै फिल्मले दर्शकलाई निराश बनाएका थिएनन्। 

आफैंमा ब्राण्ड बनेको नाम, दर्शकले मन पराएका कलाकार र मिस्ट्री थ्रिलर जनराले गर्दा 'चपली हाइट-३' लाई पहिलेदेखि नै प्रतीक्षित फिल्मको सूचीमा राखिएको थियो। 

तर यति लामो समय पर्खेर बल्लबल्ल प्रदर्शनमा आउन लागेको 'चपली हाइट'लाई त्यति सजिलो भने छैन।

'चपली हाइट-३' प्रदर्शनमा आउने भनिएको पुस २ अर्थात डिसेम्बर १७ मा हलिउड फिल्म 'स्पाइडरम्यानः नो वे होम' र तेलुगु फिल्म 'पुष्प' पनि प्रदर्शनमा आउँदैछन्। 

भन्न त फिल्मका निर्माता अर्जुन कुमारले 'चपली हाइट-३'लाई कुनै पनि फिल्मसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन्।

हुन पनि चपली हाइट भनेको एउटा ब्राण्ड हो अनि ट्रेलरले फिल्म राम्रो बनेको संकेत गरेको छ, दर्शकको सकारात्मक प्रतिक्रिया पनि पाइरहेको छ।

तर, यतिले मात्र फिल्म व्यावसायिक रुपमा सफल हुन्छ भनेर ढुक्क हुन सकिन्छ त? अनि सोही हलको अर्को पर्दामा कुन फिल्म प्रदर्शन भइरहेको छ भन्ने कुराले कुनै फरक पार्दैन त? 

हो, दर्शकहरूको आ-आफ्नो स्वाद हुन सक्छ, फरकफरक फिल्मको प्रतीक्षामा हुन सक्छन्। तर हलमा फिल्म प्रदर्शनमा आइसकेपछि अहिले कुन फिल्म लागिरहेको छ? कुन हेर्न जाँदा राम्रो? कुन फिल्मले पैसा असुल गर्छ? भनेर जाने दर्शक पनि हुन्छन्। 

अनि प्रतीक्षित मानिएका धेरै वटा फिल्म धेरै हलमा लाग्दा त्यसैअनुसार पर्दा पनि बाँडिन्छ।

यदि फिल्म राम्रो बनेको छ र दर्शकले मन पनि पराइरहेका छन् भने अर्को साता फिल्मको प्रदर्शन थपिन सक्छ तर सँगै प्रदर्शनमा आएको फिल्म पनि राम्रो बनेको रहेछ भने? दर्शकको चाप उता बढी भयो भने? 

हलिउडको सर्वाधिक सफल फ्रेन्चाइजमध्ये गनिने 'स्पाइडरम्यान'को आठौँ फिल्मको प्रतीक्षामा कति दर्शक होलान्? अनि  १ सय ८० मिलियन अमेरिकी डलर लगानी रहेको फिल्म कस्तो होला?

अल्लु अर्जुनका फिल्म मन पराउने दर्शक पनि नेपालमा उल्लेख्य मात्रामा छन्। 'पुष्प'को प्रतीक्षामा कति दर्शक होलान्? २ सय ५० करोड भारतीय रूपैयाँमा निर्मित फिल्म कस्तो होला। 

त्यति मात्र होइन त्यसको अर्को सातादेखि अर्को बलिउड फिल्म '८३' पनि प्रदर्शनमा आउँदैछ। यो फिल्मले पनि धेरै शो खोस्ने वाला छ। 

तर यसो भन्दैमा 'चपली हाइट-३' नचल्ने होइन। यदि फिल्म राम्रो बनेको छ र दर्शकलाई मन पर्‍यो भने जतिसुकै लगानीका जस्तासुकै विदेशी फिल्मसँग जुधे पनि फिल्मले राम्रो व्यापार गर्न सक्छ। सबै कुरा दर्शकमा भर पर्छ र दर्शक भनेको एक जना मात्र होइन र हुँदैन। 

बहुप्रतीक्षित मानिएका विदेशी फिल्मसँगै मिति जुधेर ती फिल्मलाई पछि पार्दै व्यावसायिक रुपमा सफल बनेका नेपाली फिल्म पनि छन्।

निर्माता अर्जुन कुमारले भनेअनुसार 'चपली हाइट-३'लाई सँगै कुन फिल्म प्रदर्शनमा आउँदैछ भन्नेले फरक नपरोस्। नेपाली फिल्मले 'होमग्राउन्ड'को फाइदा पाओस्।

'सूर्यवंशी'ले हलसम्म दर्शक तान्यो यो नेपाली फिल्मका शुभचिन्तकका लागि सुखद समाचार हो तर तब मात्रै जब ती दर्शक नेपाली फिल्म हेर्न आउँछन्।

कुनै नेपाली फिल्ममा हाउसफुल दर्शक हुन्छन् र कुनै विदेशी फिल्म प्रदर्शनमा आउनु र नआउनुले नेपाली फिल्मलाई त्यस्तो ठूलो असर पार्दैन। 

डिसेम्बर १७ मा मात्र होइन अब यस्ताखाले 'म्याच' भइरहनेछन्।

नेपाली फिल्म उद्योगलाई कसरी माथि उठाउने भनेर अझ बढी सोच्ने र गर्ने बेला आएको छ, जुन सरोकारवालालाई पनि थाहा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.