|

काठमाडौं : कोरोनाका कारण सुस्ताएको नेपाली फिल्म उद्योगले फेरि विस्तारै गति लिँदैछ। पछिल्ला केही दिनयता फिल्मको प्रदर्शन मिति घोषणा तथा फिल्म छायांकनले पनि लय समातेको छ। साथै नयाँ फिल्म निर्माणको घोषणा पनि भइरहेको छ। 

यस्तैमा नयाँ फिल्म 'घुइँचाे'को निर्माण हुने घोषणा भएको छ। राजधानीमा सोमबार फिल्म निर्माणको घोषणा गरिएको हो। 

रामजी दैलेखीको निर्माणमा बन्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन्। फिल्ममा मुख्य भूमिकामा एलिजा गौतम तथा नवअभिनेता कुन्साङ बमजन देखिँदैछन् भने अन्य कलाकारको छनोट भइरहको छ। 

फिल्म घोषणामा सोमबार निर्देशक लामाले यो फिल्ममा जोडिन पाएको खुसी व्यक्त गरे।

'घाम पानी', 'गोपी', 'छ माया छपक्कै' जस्ता फिल्ममा अनुभवी तथा चलेका कलाकार लिएर निर्देशन गरेका लामाले यो फिल्ममा नयाँ कलाकारलाई निर्देशन गर्नेछन्। कुन्साङको यो पहिलो फिल्म हो भने एलिजाको दोस्रो फिल्म हो। 

सोही प्रसंगमा उनले भने, 'मलाई तपाईं नयाँ कलाकारलाई लिएर किन फिल्म बनाउनु हुन्न भन्नेहरूको लागि यो जवाफ पनि हो। हामीले कलाकारको रेन्ज बढाउनका लागि पनि नयाँ कलाकार भित्र्याउन आवश्यक छ।'

सुस्ताएको नेपाली फिल्म क्षेत्रलाई सक्रिय बनाऊँ र फिल्म उद्योगको स्तरवृद्धि गर्न एउटा इँट्टा थपौँ भनेर फिल्म निर्माण गर्न लागेको निर्माता दैलेखीले बताए। 

मोडलिङ तथा म्युजिक भिडियोमा सक्रिय कुन्साङले 'घुइँचाे'सँग जोडिन पाएकोमा खुशी व्यक्त गरे। आफू एउटा राम्रो फिल्मको खोजीमा रहेको र 'घुइँचाे'को कथा आफूलाई मन परेर यसमा जोडिएको पनि उनले बताए। 

त्यस्तै आफ्नो पहिलो फिल्म 'अनुराग' र म्युजिक भिडियोमा सिकेका सिप यो फिल्ममा उपयोग गर्ने अभिनेत्री एलिजाले बताइन्।

आरजे म्युजिक एन्ड मिडिया ब्यानरमा निर्माण हुने फिल्म एउटा दुर्गम गाउँको युवकले अमेरिका जान गरेको संघर्ष र उसको यात्रामा आधारित रहने निर्माण टोलीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.