|
सर्लाहीका किसान मकै रोप्दै ।

सर्लाही : सर्लाहीका उत्तरी पश्चिम क्षेत्रका किसानलाई अहिले मकै रोप्ने चटारो छ। व्यावसायिक रुपमा मकै खेती गर्दै आएका कर्मैया, राजघाट, शंकरपुर, हजरिया, बरहथवा, मुर्तिया, जानकीनगरका किसानलाई यतिबेला मकै रोप्न भ्याइनभ्याई छ।

यस क्षेत्रमा हिउँदे बालीको रुपमा (वर्णशंकर) उन्नत जातको मकै खेती हुँदै आएको छ। अन्य बालीभन्दा उन्नत जातका मकै खेतीमा राम्रो आम्दानीको स्रोत हुने भएकाले किसानको रोजाइमा यो खेती परेको हो। विगतका वर्षहरूमा यस क्षेत्रमा हिउँदे बालीको रुपमा कोदो, तेलहन, दलहन, बेसार, कन्दमुललगायत तरकारीबाली उत्पादन हुने गरेको थियो।

कतिपयले वर्षे बालीको रुपमा उखु खेती गर्थे। तर‚ पछिल्लो समय किसानको खेतबारीमा सिंचाइको सुविधा पुग्नुको साथै मूल्य पनि राम्रो पाउन थालेपछि किसान मकै खेती तर्फ आकर्षित हुन थालेका छन्।

मकै मूल्य र बजारको अभाव खेप्दै आएका यहाँका किसानले पछिल्लो केही वर्षदेखि राम्रो मूल्य पाउन थालेपछि किसान खुसी भएका छन्। हिउँदे बालीभन्दा मकैमा राम्रो आम्दानी भएकाले मकै खेतीप्रति किसान आकर्षित भएको बरहथवा–२ हजरियाका किसान महेश बरालले बताए। उनले डेढ बिघामा मकै खेती गरेका छन्।

‘धान भित्र्याइसकेपछि मकै रोप्नका लागि खेत तयारी गरिरहेका छौं‚’ उनले भने‚ ‘हिउँदे बालीभन्दा मकै किसानका लागि बढी नाफा हुने खेती हो। १० वर्षदेखि व्यावसायिक रुपमा मकै खेती गर्दै आएको छु।’

उखु खेती खर्चिलो र झन्झटिलो हुनुको साथै भुक्तानी पनि समयमा पाउन गाह्रो भएपछि बागमती–८ शंकरपुरका किसान ध्रुव महतोले पाँच वर्षदेखि मकै खेती गर्दै आएका छन्। उनका अनुसार यस क्षेत्रका किसानले उखु खेती लाउनै छाडेका छन्। ‘मकै खेतीमा राम्रै आम्दानी भएको छ‚’ उनले भने, ‘उखु खेती जस्तो यसमा उधारो हुँदैन, व्यापारीले घरबाटै नगदमा मकै किनेर लान्छन्।’

मकै खेती एक बिघामा ८० देखि १०० क्विन्टलसम्म उत्पादन हुने गर्छ। खर्च कटाएर प्रतिबिघा किसानको एक लाखभन्दा बढी बचत गर्ने गरेको राजघाटका किसान इन्द्र दहालले बताए। ‘पहिले छिमेकी मुलुक भारतबाट मकै आयात हुँदा यस क्षेत्रमा उत्पादन भएको मकैको मूल्य घट्थ्यो,’ उनले भने‚ ‘किसानलाई मकै खेतीमा घाटा हुन्थ्यो, पछिल्लो केही वर्षबाट भारतबाट मकै नआउँदा किसानले मकैले राम्रो मूल्य पाएको बताउँछ।’

आम्दानी राम्रो हुन थालेपछि किसान उन्नत जातको मकै खेतीमा हौसिन थालेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ। केन्द्रका अनुसार बर्सेनि उन्नत जातको मकै खेती गर्ने किसानको संख्या बढ्दै गएको बताए। पछिल्लो तथ्यांकअनुसार सर्लाहीमा १२ देखि १४ हजार हेक्टरमा मकै खेती भइरहेको केन्द्रले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.