|

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गदै आन्दोलनरत कानुन व्यवसायीहरुले आज देशैभरका अदालतमा काम ठप्प पार्ने भएका छन्। 

कानून व्यवसायीहरुले आज हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधिकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने भएका हुन्। 

नेपाल बार एशोसिएशनको नेतृत्वमा गत कार्तिक १४ गतेदेखि विभिन्न चरणको आन्दोलन जारी राखेका कानुन व्यवसायीले हिजो सबै राजनीतिक दलको संसदीय दलको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए। 

 

नेपाल बार एशोसिएशनका महासचिव लीलामणि पौडेलका अनुसार भोलि देशभरका १८ वटै उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा विरोधसभा गर्ने कार्यक्रम छ।

साथै उच्च अदालतमा बहस तथा पैरवी नगर्ने र विरोध कार्यक्रमका लागि नेपाल बार एशोसिएशनबाट पर्यवेक्षक समेत खटाउने बारको तयारी छ। बारले तेस्रो चरणको विरोध कार्यक्रम आगामी शुक्रबारसम्मका लागि तय गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजनीतिमा भागवण्डा खोजेका समाचारहरु बाहिरिएपछि बारले आन्दोलन थालेको हो।

बारको आन्दोलनसँगै सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गर्दै आए पनि गोलाप्रथाबाट इजलास तोक्ने गरी कार्यविधि संशोधन हुने भएपछि न्यायाधीशहरु काममा फर्किएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.