|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने बताएका छन्। उनले शिक्षकले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको दाबी गरे।

उनले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइनेमा ढुक्क हुन आग्रह गरे।

मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकलाई सक्रियतापूर्वक राजनीतिक रूपान्तरणको काममा लाग्न निर्देशन दिए।

अध्यक्ष दाहालले गठबन्धन सरकारमा शिक्षा मन्त्रालय माओवादी केन्द्रको भागमा रहेको भन्दै शिक्षकको समस्या समाधानका लागि आफ्नो पार्टीले सकेको काम गर्ने दाबी गरे।

उनले भने, ‘नेपालमा जति पनि पार्टी छन्। सबै शिक्षककै योगदानका कारण छन्। सबभन्दा बढी गाउँघरमा मजदुर र किसानसँग एकाकार भएर राजनीतिक दलहरूलाई स्थापित गराउने र राजनीतिक विचारलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमलाई जनतासामु लैजाने शिक्षकहरू नै हुन्।’

प्रचण्डले शिक्षकहरूले राजनीति गरे मात्रै सामाजिक र राजनीतिक रूपान्तरणको महान् अभियानमा देशलाई लैजान सकिने बताए।

अध्यक्ष दाहालले शिक्षकमाथि राज्यले अन्याय गरेको पनि बताए। राज्यले विभेद गरेका कारण शिक्षकहरूले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनको कथन छ।

उनले भने, ‘हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमातजस्तो मानिन्छ। यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजेटिभमा बदल्नु छ।’

यो नेगेटिभभित्रको अवसर छोपेकाले शिक्षक मजदुर र किसानसँग एकाकार हुँदै मजदुर किसानको आन्दोलन र राजनीतिक क्रान्तिलाई साथ दिने हुन गएको उनको ठम्याइ थियो।

अमेरिकाका जस्तै नेपालका शिक्षकहरू भएको भए आन्दोलनकारी हुन नसक्ने जिकिर गरे।

अध्यक्ष दाहालले मधेशमा माओवादीको पक्षमा जनलहर आएको दाबी पनि गरे। उनले महन्थ ठाकुर र राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण गरेर माओवादी केन्द्रलाई गुन लगाएको बताए।

उनले एमाले अध्यक्ष केपी ओली मधेशी जनताको आत्मसम्मान र पहिचान विरोधी खलनायक भएको आरोप समेत लगाए।

उनले ठाकुर र महतोलाई संकेत गर्दै भने, ‘तपाईंहरूकै कारण नेपालमा संघीयताविरोधी, मधेशी जनताको आत्मसम्मान र पहिचानविरोधी एक नम्बर खलनायक केपी ओली हो भन्ने जनताले बुझे।’

उनीहरू मधेशका मुक्तिदाता मधेशी हुन् भन्ने जस्तो गरी आई भ्रमित पार्न सफल भएको तर उनीहरू मधेशका मजदुर, किसान, शिक्षक, बुद्धिजीवी र आम जनतालाई ठग्ने मधेशी दलालहरू भएको उनले ठोकुवा गरे।  


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.