|

काठमाडौं : मौलिक चलचित्र निर्माण गर्ने निर्देशकका रुपमा चिनएका नवीन सुब्बाले नयाँ चलचित ‘गाउँ आएको बाटो’ निर्देशन गर्ने भएका छन्।

चर्चित चलचित्र ‘नुमाफुङ’का निर्देशक सुब्बाले १० वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरिएको हो।

चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदायको जीवन परिवेशको कथामा बन्ने जनाइएको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ। पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले चलचित्र राम्रो बनाउन आफ्नो इमानदार प्रयास हुने बताए।

‘म लामो समयपछि निर्देशनमा फर्किएको छु। चलचित्र भयंकर राम्रो बनाउँछु भनेर दाबी त गर्दिनँ तर नराम्रो पनि बनाउने छैन‚’ निर्देशक सुब्बाले भने‚ ‘स्क्रिप्टबाट सन्तुष्ट छु। अहिले हामी कलाकारसँग बसेर चरित्र निर्माणको विषयमा छलफल गरिरहेका छौं। चलचित्रले नेपाली समाजको यथार्थलाई पस्किनेछ।’

त्यस्तै, अभिनेता दयाहाङ राईले नविन सुब्बासँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए। करिअरको सुरुवातमा सुब्बाको निर्देशनमा बनेको टेलिचलचित्र ‘दलन’मा काम गरेको स्मरण गर्दै उनले लामो समयपछि चलचित्रमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।

चलचित्र छायांकनको जिम्मा निर्देशक सुब्बाले अमेरिकाका छायाकार मार्किन कापरोनलाई दिने भएका छन्। नेपाली छायाँकारहरुभन्दा विदेशी छायाकारसँग काम गर्न सजिलो भएकाले अमेरिकाबाट छायाँकार ल्याएको निर्देशक सुब्बाले बताए।

चलचित्रको स्क्रिप्ट महेश राई र नवीन सुब्बाको रहेको छ भने मुख्य निर्मातामा अमोद राई रहेका छन्। त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, युकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन्। हङकङ, मकाउ, नेपाल, युके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरु चलचित्रको सह–निर्मातामा रहेकाछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.