|

सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिका पदकालागि दोस्रो चरणको मतदान यही मंसिर १४ गते हुने भएको छ।

नेपाली कांग्रेस सोलुखुम्बुको मंगलबार बसेको बैठकले सभापति चयनका लागि मंसिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको निवर्तमान सभापति बिनोद बस्नेतले जानकारी दिए।

पदाधिकारी चयनका लागि गत मंसिर २ गते पार्टीको निर्वाचन भए पनि सभापति चयन हुन सकेको थिएन। जिल्ला सभापतिमा तीनजनाको उम्मेदवारी परेपछि कांग्रेसको विधानअनुसार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा नेतृत्व चयन हुन नसकेको हो।

पार्टीको विधानअनुसार सभापतिमा दुई वा सोभन्दा बढी उम्मेद्वार भएको खण्डमा कुनै पनि उम्मेद्वारले कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ। यदि ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सहमतिबाट सभापति चयन गर्न सक्ने र सहमति पनि नभएको खण्डमा पुनः निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ।

जिल्ला सभापतिका लागि नाम्गेल जाङबु शेर्पा, विनोद कुमार बस्नेत र रामबहादुर बस्नेतको उम्मेदवारी थियो। कुल मतदाता ९२४ जनामध्ये ८८२ मत खसेको थियो। जसमध्ये विनोदकुमार बस्नेतले ४२८ मत, नाम्गेल जाङबु शेर्पाले ४१८ र राम बहादुर बस्नेतले ५ मत प्राप्त गरेका थिए।

सबैभन्दा कम मत प्राप्त गरेका उम्मेद्वार रामबहादुर बस्नेत स्वत: बाहिएसँगै अबको निर्वाचनमा नाम्गेल जाङ्बु शेर्पा र विनोदकुमार बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ।

 

मंसिर २ मा सम्पन्न निर्वाचनबाट उपसभापतिसहित जिल्ला कार्यसमिति र २५ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। जसमा संस्थापनइतर पक्ष हाबी भएको छ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जनामध्ये २१ जना संस्थापनइतरपक्षका विजयी भएका छन् भने ३७ जनाको जिल्ला कार्यसमितिमा पनि अधिकांश सोही समूहबाट निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बलबहादुर केसी पक्षबाट निवर्तमान पार्टी सभापतिसमेत रहेका विनोद बस्नेतको नेतृत्वमा प्यानलको उम्मेदवारी परेको थियो।

यस्तै, शेरबहादुर देउवानिकट मानिने पूर्वजिल्ला पार्टी सभापति आङ्गेलु शेर्पा पक्षबाट सोलुदुधकुण्ड नगरपालिकाका मेयरसमेत रहेका नाम्गेल जाङ्बु शेर्पाको नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा थियो। शेर्पा पक्षकै मानिने अर्का नेता रामबहादुर बस्नेतले प्यानलरहित उम्मेदवारी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.