|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट समस्याग्रस्त अवस्थामा रहेको बताउँदै राजस्वले खर्च धान्न मुस्किल भएका वेला निजी क्षेत्रले स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे।

शर्माले निजी क्षेत्रको लगानी राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनुपर्ने बताए। अर्थमन्त्री शर्माले निजी क्षेत्रका केही व्यवसायी आफ्नो स्वार्थमा लागे पनि आम निजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताए।

देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकाले कोभिडपछिको आर्थिक पुनरुत्थान निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको बताए।

उनले भने, ‘अहिले सरकारको बजेट र लगानी सानो छ, हामीले निर्माण गरेका संरचनाको खर्च गर्ने प्रवृत्ति हेर्दा चालु खर्च मात्रै पनि धान्न समस्या छ। कोभिड पछिको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन सकेको छैन।’

सरकारसँग मिलेर निजी क्षेत्रले ठूला पूर्वाधार निर्माणमा लगानी गर्न आग्रह समेत गरे।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको बताए।

गभर्नर अधिकारीले नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो लयमा फर्किएको बताए। अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप पर्दै गइरहेको उनको भनाइ छ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाँडै माथि उठ्न सक्ने अवस्थामा पुगेको बताए।

उनले भने, ‘कोारोना महामारीको कारण थला परेका पर्यटन, सञ्चार, साना तथा मझौला उद्यम व्यवसाय तथा बैंकिङ क्षेत्र अझै समस्याग्रस्त छन्, त्यसैले साना उद्योगको लागि विशेष कार्यक्रम ल्याउन आवश्यक छ।’
 

गोल्छाले नेपालमा पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सहयोग लिनुपर्ने बताए। उनले एमसीसीले देश विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रमुख भूमिका खेल्ने बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.