|
नेपाल टेलिकमको टावर निर्माणका लागि उपकरण तथा सामग्री हेलिकप्टरबाट ओसारिँदै। तस्वीर : जयमान बुढा मगर

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–१ सिस्नेमा निर्माणाधीन नेपाल टेलिकमको टावरका उपकरण र निर्माण सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको छ। रुकुमकोटमा राखेका सामग्री हेलिकप्टरले मंगलबार ११ खेपमा सिस्ने पुर्‍याएको हो।

टेलिकमको टावर बनाउने ठेक्का लिएको सिसिएसआई काठमाडौंले उपकरण र सामग्री ढुवानी गरेको हो।

सिस्ने–१ को ठूलो सिस्ने डाँडामा निर्माण भइरहेको टेलिकम टावरको सामग्री मान्छेले ओसार्न नसकेकाले हेलिकप्टरबाट ढुवानी गरिएको वडाध्यक्ष मानबहादुर बुढाले बताए। सडकको पहुँच नरहेकाले हेलिकप्टरबाट सामान ओसार्नु परेको उनको भनाइ छ। 

टावर निर्माण अन्तिम चरणमा पुगिसकेको बुढाले जानकारी दिए। हेलिकप्टरले मंगलबार ओसारेको उपकरण जडान गरी टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।

निर्माण व्यवसायीलाई उदृत गर्दै उनले भने, 'बाँकी रहेका उपकरण जडान गरी अबको दुई सातामै सिस्ने–१ का वासिन्दाले सञ्चार सुविधा पाउने छन्।'

सबै उपकरण तथा सामान ओसार्न नसक्दा लामो समयदेखि टावर निर्माण अलपत्र परेको थियो।  

सिस्ने–१ गाउँपालिकाकै सबैभन्दा विकट वडा हो। यो वडामा अहिलेसम्म पनि सडक, विद्युत्, सञ्चार सुविधा पुगेको छैन। 

यसले गर्दा विकास निर्माणका साथै सूचनाबाट समेत वञ्चित भइराखेको स्थानीय रजबहादुर बुढाले गुनासो गरे। 

गएको सातामा पनि सिस्ने–१ वडाकै निर्माणाधीन विद्युत् आयोजनाको सामग्री पनि हेलिकप्टरबाटै ढुवानी गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.