|

मुगु : हिमाली जिल्ला मुगुमा पहिलोपटक बुधबारदेखि सञ्चार घुम्ती शिविर सञ्चालन गरिएको छ। सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीनदिने घुम्ती शिविर सञ्चालन गरिएको हो।

शिविरमा जिल्लामा कार्यरत सञ्चारकर्मीलाई क्षमता विकास तालिम र प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता गरिने भएको छ।

जिल्लामा कार्यरत सञ्चारकर्मीलाई सहज होस् भनी घुम्ती शिविर सञ्चालन गरिएको सूचना तथा प्रसारण विभागका महानिर्देशक सुदीप भट्टराईले बताए। उनका अनुसार दुर्गमका सञ्चारकर्मीका दुःख पीडालाई ध्यान दिएर गत वर्षदेखि विभागले हिमाली जिल्लामा घुम्ती शिविर सञ्चालन गर्दै आएको छ।

सूचना तथा प्रसारण विभागले मुगुमा सञ्चालन गर्न लागेको शिविरले सञ्चारकर्मीलाई थप टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए। दुर्गमका सञ्चारकर्मीको हितको निम्ति राज्य पहिलोपटक उपस्थित हुँदा खुशी लागेको नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको भनाइ छ।

विभागले प्रदान गर्न लागेको क्षमता विकास तालिम र प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चारमाध्यम दर्ता जस्ता कुराले यहाँका सञ्चारकर्मी उत्साहित भएका छन्। 

लेखनवृत्ति‚ समाचार संकलन‚ अन्तर्वार्ता, फिचर लेखन, अवलोकन लगायतको जिल्लास्थित सञ्चारकर्मीलाई डा. विजय मिश्रले प्रशिक्षण दिने सूचना तथा प्रसारण विभागका शाखा अधिकृत केशवराज शर्माले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.