|

सल्यान : इलाका प्रशासन कार्यालय थारमारेमा जनशक्तिको अभाव र सेवाग्राहीको भिड हुँदा नागरिकता बनाउन सास्ती भएको छ।

सेवाग्राहीको चापका कारण कार्यालयमा अन्य सेवा समेत प्रभावित भएको छ। सेवाग्राहीको चाप बढेसँगै नागरिकता बनाउन दुई दिन कुर्नुपर्ने बाध्यता भएको हो। प्रशासनमा दैनिक सरदर ५० नयाँ नागरिकता जारी हुने गरेको कार्यालयले जनाएको छ।

२० देखि २५ जना जति नागरिकता प्रतिलिपि, ३० देखि ३५ जनासम्म अन्य सिफारिस लिन आउने हुँदा दैनिक १ सयदेखि १२० जनासम्म सेवाग्राही आउने गरेको इलाका प्रशासन कार्यालय थारमारेका प्रमुख महोन डाँगीले बताए।

दैनिक १ सयभन्दा बढी सेवाग्राही आउने हुँदा फाइल पेश गरेको दुई दिनपछि मात्र पालो आउने गरेको डाँगीले बताए। उनले नागरिकता बनाउन आउनेले सनाखतका लागि समेत मानिस लिएर आउने हुँदा भिडभाड बढी देखिएको बताए। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सेवा दिँदै आइरहेको उनको भनाइ छ। 

भिड अत्यधिक हुँदा एक दिनमै हुने काम दुई दिनसम्म लाग्ने गरेको कार्यालय प्रमुख डाँगीले बताए। कार्यालयमा जनशक्ति कम हुँदा पनि व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ।

सेवाग्राहीको चाप बढ्दा प्रहरीको सहयोगमा भिड व्यवस्थापन गर्नु परेको डाँगीको भनाइ छ।

बागचौर नगरपालिका, कुमाख, दार्मा र सिद्ध कुमाखका सेवाग्राहीलाई इलाका प्रशासन कार्यालय थारमारेले सेवा दिँदै आइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.