|

इलाम : नेपाली कांग्रेस इलामको क्षेत्रीय अधिवेशनमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ। बुधबार सम्पन्न दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतपरिणाममा संस्थापन इतरका उम्मेद्वार निर्वाचित भएका हुन्।

निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा रोङ गाउँपालिका अध्यक्ष शमशेर राई र क्षेत्र नम्बर २ को सभापतिमा माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो निर्वाचित भएका छन्। 

सभापतिमा राईले २ सय ४७ मत ल्याएका छन्। उनी रामचन्द्र पौडेल पक्षका उम्मेद्वार हुन्। सोही पदमा उम्मेद्वारी दिएका भीष्म प्रधानले २ सय १४, दुर्गा बरालले १ सय ९७ र मिलन क्षेत्रीले २१ मत पाए। प्रधान र क्षेत्री देउवा पक्षका हुन् भने बराल पौडेल पक्षका हुन्।

क्षेत्र नम्बर २ को सभापतिमा निर्वाचित इदिङ्गोले ४ सय ३२ मत ल्याएका छन्। सोही पदमा उम्मेदवारी दिएका नुुतनदेव दुलालले २ सय ९८, नरेश श्रेष्ठले १ सय ८८ र मनबहादुर बुढाथोकीले ७४ मत ल्याए। इदिङ्गो र दुलाल पौडेल पक्षका हुन् भने श्रेष्ठ र बुढाथोकी देउवा पक्षका हुन्।

दुवै क्षेत्रका निर्वाचित सभापति जिल्ला सभापतिका प्रत्यासी भेषराज आचार्यनिकट मानिन्छन्। इलामका दुवै निर्वाचन क्षेत्रमा संस्थापन र इतरका २–२ जना सभापतिका उम्मेदवार थिए । उनीहरुका आआफ्नै प्यानल थिए।

क्षेत्र नम्बर १ को सचिवद्वयमा राजकुमार लिम्बू (सेरेङ) र यामन लामा विजयी भए। सहसचिवद्वयमा प्रज्ज्वल भट्टराई र बुद्धराज लिम्बू निर्वाचित भए। 

क्षेत्र नम्बर २ को सचिवद्वयमा धनकुमार राई (बबिन) र सुवास घिमिरे तथा सहसचिवद्वयमा अम्बिका चौहान र खोम खतिवडा निर्वाचित भए।

यसअघि प्रदेशसभा क्षेत्रको निर्वाचनमा पनि ३ सभापति पौडेल पक्षबाट र १ सभापति मात्र संस्थापन पक्षबाट विजयी भएका थिए।
वर्तमान जिल्ला सभापति तथा जिल्ला सभापतिका प्रत्यासी हिमालय कर्माचार्य, पूर्वसभापति तथा अर्का प्रत्यासी केशव थापा, सभापतिकै प्रत्यासी रहेका भेषराज आचार्य र डम्बर खड्कासहित ५१ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। 

कर्माचार्य र आचार्य संस्थापनइतर हुन् भने थापा र खड्का संस्थापन पक्षका हुन्। जिल्ला समितिको लागि शुक्रबार मतदान हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.