|

म्याग्दी : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले मुलुकमा वैज्ञानिक समाजवाद स्थापनाका निम्ति कम्युनिष्ट एकता आवश्यक रहेको बताएका छन्।

बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको पार्टीको मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

माओवादीसँग पार्टी एकता हुने भनेर सञ्चार माध्यमहरूमा आएको समाचारहरुप्रति टिप्पणी गर्दै महासचिव विप्लवले नयाँ विचार, सिद्धान्त र दृष्टिकोणमा अघि बढ्न सहमत भए मात्रै एकता सम्भव भएको बताए।

 ‘आज नै, भोलि नै पार्टी एकता हुन्छ जस्तो कुराहरु बाहिर आएका छन्, त्यो सत्य होइन, प्रचारको लागि एकता हुने पनि होइन, एकता त वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य, उद्देश्य र विचारमा सहमत भए मात्रै सम्भव हुने हो’ उनले भने।

उनले माओवादीहरुको एकता देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्न खोजे मात्रै सम्झौता हुने धारणा राखे। ठूलो पार्टी बन्न, चुनाव जित्न र प्रधानमन्त्री, मन्त्री बन्नका लागि पार्टी एकता नहुने बताउँदै वैज्ञानिक समाजवादका लागि कम्युनिष्टहरूबीच एकता आवश्यक रहेकोमा जोड दिए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई संरक्षक बसेर अब क्रान्ति हाँक्ने जिम्मा आफूहरूलाई दिन प्रस्ताव गरेको उनको भनाइ थियो।

उनले गरिब, मजदुर, किसान, सुकुम्बासीलगायत उत्पीडित समुदायका सच्च कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको बताउँदै वैज्ञानिक समाजवादका निम्ति निरन्तर संघर्ष गर्ने बताए।

मुलुकलाई अहिलेको अवस्थामा ल्याउनका लागि पनि धेरै ठूलो संघर्ष, त्याग र समर्पणहरु भएको स्मरण गर्दै नेता विप्लवले संघर्षको मैदानबाट विजयको सपना देख्न छाड्न नहुने बताए।

‘धेरै युवाहरु निरास भएको देख्छु, निराश होइन आशा र भरोसा देख्नुपर्छ, संघर्षका निम्त तयार हुनुपर्छ, जनतामा निरन्तर जोडिनुपर्छ’ उनले भने। संसदीय व्यवस्था दलाल पुँजीपति बर्गको प्रभुत्व रहने भएकाले नेपालमा असफल भैसकेको बताउँदै आफ्नो पार्टीले अघि सारेको जनताको शासनका निम्ति जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादलाई स्थापना गर्नुपर्ने विचार व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.