|

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको खेलमा ९ विकेटको प्रभावशाली जित निकालेको छ। दुबईको आइसिसी एकेडेमीको मैदानमा बिहीबार भएको खेलमा कुवेतविरुद्ध नेपालले सहज जित हात पार्दा नेपाली बलरको प्रदर्शन उत्कृष्ट रह्यो।

नेपाली बलरसामु निरीह कुवेतले नेपालसामु केवल २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य नेपालले २१ बलमै पूरा गर्‍यो। नेपालका लागि कप्तान रुविना क्षेत्री १२ तथा इन्दु बर्मा १३ रनमा अविजित रहिन्। ओपनर सीता रानामगर भने शून्य रनमा पेभिलियन फर्किएकी थिइन्।

त्यसअघि पहिलो ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा अल आउट हुँदै केवल २७ रनमात्र जोड्यो। उसका लागि ओपनर प्रियादा मुरालीले १० रन बनाउनु सर्वाधिक रह्यो।

कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट ‌लिए। करुणा भण्डारी र सरस्वती कुमारी चौधरीको नाममा एक-एक विकेट रह्यो।

नेपालले यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने भुटानलाई ८ विकेटले हराएको थियो। कुवेत भने अघिल्ला दुवै खेलमा पराजित भएको थियो।उसले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनको हार भोगेको थियो। जितसँगै नेपालको ग्लोबल छनोटको संभावना कायम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.