लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

|

विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले लैंगिक हिंसाविरुद्धको अभियान गाउँ–गाउँमा पुर्‍याउनुपर्ने बताएका छन्। सामाजिक विकास मन्त्रालयको आयोजनामा आज (बिहीबार) बिहान विराटनगरमा लैंगिक हिंसाविरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्।

उनले अभियानलाई गाउँ–गाउँमा पुर्‍याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने चर्चा गरे। सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाइ हुने भएकाले आ–आफ्नो तहमा सबै निकायले अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। निरन्तरको अभियानले लैंगिक हिंसा सधैंका लागि अन्त्य गर्न सकिने मन्त्री यादवले बताए।

‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्न नाराका साथ अभियान सुरुवात गर्दै बिहान विराटनगरमा प्रभातफेरी निकालिएको थियो। देवकोटा चौकबाट सुरु भएको र्‍याली बजार परिक्रमा गरी पुनः देवकोटा चौकमा आएर समापन भएको थियो।

प्रभातफेरी र्‍यालीमा सामाजिक विकासमन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे साथै विभिन्न सामाजिक संघ संस्थाका लगायतका सहभागिता रहेको थियो।
 
अभियानअन्तर्गत आज साँझ ५ बजे ट्राफिक चौकमा दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन्। उनका अनुसार १६ दिनभरि जनचेतनामूलक विविध कार्यक्रम सञ्चालन हुनेछ।

साझा अभियानमा सरकारी निकायहरूका साथै मानवअधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएशन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाको सहभागिता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.