रुकुम (पूर्व) : नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश ओली दोहोरिएका छन्। छैटौं जिल्ला अधिवेशनमा निर्वाचनमार्फत सभापति चुनिएका ओली सातौं अधिवेशनबाट भने सहमतिमार्फत सभापति चुनिएका हुन्।
कांग्रेसले मंसिर ६ गते अधिवेशन उद्घाटन गरेको थियो। त्यसको दुई दिनपछि सहमतिमै चयन भएका जिल्ला तथा क्षेत्रीय कार्य समितिको टुंगो लागेको कांग्रेसले जनाएको छ। जिल्लाका उपसभापतिमा हर्कसिङ खत्री, सुरजजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारकबहादुर शाही चयन भएका छन्। सहसचिवमा यज्ञबहादुर विष्ट र प्रेमबहादुर खड्कालाई चयन गरिएको नवनिर्वाचित सचिव शाहीले जानकारी दिए।
कोषाध्यक्ष भने जिल्ला कार्य समितिले मनोनीत गर्नेछ। यसअघिको कार्यकालमा कोषाध्यक्ष रहेका मोहवीर खड्कालाई नै फेरि पनि कोषाध्यक्ष मनोनीत गर्ने तयारी गरिएको छ। क्षेत्रीय सभापतितर्फ ‘क’ निर्वाचन क्षेत्रमा महेन्द्र केसी र ‘ख’ निर्वाचन क्षेत्रमा भद्रबहादुर विष्टलाई सर्वसम्मत चयन गरिएको छ।
महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि सहमतिमार्फत नै चयन गर्ने भन्दै त्यो सूची भने सार्वजनिक गरिएको छैन। एक नेताका अनुसार महाधिवेशन प्रतिनिधिमा आकांक्षीको संख्या धेरै छ। जिल्लाका अधिकांश नेता संस्थापन पक्षतर्फ लागेको र सहमतिका लागि सहज भएको एक नेताले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।