|

सल्यान : जिल्लाका अधिकांश स्थानमा खानेपानीको समस्या बढ्दै गएको छ। पानीका मुहान सुक्दै जानु र अनधिकृत रूपमा सडक खन्दा खानेपानीको समस्या बढ्दै जान थालेको छ।

पानीका मुहान खोलामा हुनु र बस्ती डाँडोमा हुँदा पनि जिल्लामा खानेपानीको थप समस्या बढेको स्थानीयको भनाइ छ। घरदेखि करिब एक घण्टाको दूरीमा रहेको जरुवामा गई पानी ल्याउनुपर्ने बाध्यता रहेको कालिमाटी गाउँपालिका–७ बाटुलेकी पिमसरा घर्तीले बताइन्।

उचित मुहानको व्यवस्था नहुँदा र मुहानको पानी पनि सुक्दै जाँदा खानेपानीको समस्या भोग्दै आइरहेको उनको भनाइ छ। उनले भनिन्, ‘पानी बोक्ने नै एउटाको जिम्मेवारी जस्तो हुन्छ। मानिसदेखि बस्तुभाउसम्मलाई पानी बोक्दा एउटालाई दिनभर ठिक्क हुन्छ।’

खानेपानी योजना सञ्चालनमा नआउँदा आम्बासकी निर्मला ओलीले विगत आधा घण्टामा दूरीमा रहेको खोला नजिकै खनेको इनारबाट पानी ल्याउन बाध्य छन्। खानेपानीको समस्याकै कारण दैनिकी थप कष्टकर बन्दै गएको उनको कथन छ। नजिकै पानीको स्रोत नभएपछि खोला किनारको इनारबाट पानी बोक्दै आइरहेको उनको भनाइ छ।

सरकारले एक घर एक खानेपानी धाराको नारा लगाए पनि गाउँको बिचमा एउटा धारो नभएको ओलीले बताइन्। उनले भनिन्, ‘खानेपानीका लागि महिलाहरू रातदिन नभनी कुवा, खोला चहार्न बाध्य हुँदै आइरहेका छौं।’

कालिमाटी गाउँपालिका–७ स्थित र्‍याङ, आम्बास, बाटुले, हाउखोला, कुकुमतारा स्वामीवास लगायत झन्डै दर्जन बढी बस्तीका बासिन्दा खानेपानीबाट प्रभावित हुँदै आएका छन्। खानेपानीको अभावका कारण आठ गाउँका झन्डै तीन सय घरपरिवार प्रत्यक्ष मारमा परेको वडा कार्यालयले जनाएको छ।

ग्रामीण बस्तीमा खानेपानी योजनाका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारलाई बारम्बार आग्रह गरे पनि कुनै सुनुवाइ नभएको वडाध्यक्ष नैनसिंह रानाले बताए। उनले भने, ‘स्थानीय सरकारले खासै बजेट छुट्याउँदैन। सीमित मात्रामा आएकाले बजेटले कति योजना नै सम्पन्न गर्न सकिन्छ र।’

ग्रामीण बस्ती छरिएको र डाँडाकाँडामा भएका कारण पनि खानेपानीको व्यवस्था गर्न थप समस्या भएको रानाको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.