|

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका खेलकुदमय बनेको छ। बिहीबार नगरपालिकाको सिंहवाहिनी खेलमैदानमा नगरपालिका क्षेत्रका २९ विद्यालयका विद्यार्थी तथा शिक्षकको सहभागिता रह्यो। ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल पार्न सबै मैदानमा उपस्थित भएका हुन्। 

नगरले आज सबै विद्यालयको पढाइ स्थगित गर्दै खेल सुरु गरेको हो। खेल पनि सिकाइ भएको र खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ बताउँछन्।

नगरले हरेक वर्ष रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको छ। यो वर्ष पनि बिहीबारबाट सुरु भएको प्रतियोगिता मंसिर १४ गतेसम्म चल्नेछ। खेलमा विद्यार्थीको उत्साहजनक सहभागिता छ।

नगरपालिका क्षेत्रबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ। गत वर्ष तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन नमुना माविले हात पारेको थियो। यो वर्ष शिल्ड कसको भागमा पर्छ भन्ने सबैलाई चासो बनेको छ।

प्रतियोगितामा भलिबल, सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर र १५ सय मिटर दौड र सय गुणा चार रिले सटफुट‚ लङजम्प, ज्याभलिन थ्रो, कबड्डी लगायतका खेल खेलाइनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.