|

काठमाडौं : कोरोना महामारीका कारण ठप्प जस्तै बनेको वैदेशिक रोजगारीमा यतिवेला चहलपहल बढेको छ। करिब दुई वर्षदेखि ठप्प भएको वैदेशिक रोजगारी कोरोना संक्रमणको असर कम भएसँगै चलायमान बनेको हो। 

महामारीका वेला देशमा रहेका विभिन्न कलकारखाना बन्द भए। रोजगारीको खोजीमा विदेशिएका नेपाली पनि कोरोनाको जोखिमका कारण स्वदेश फिर्ता भएका थिए। स्वदेश फिर्ता भएका नेपालीलाई स्वदेशमा पुनःस्थापना गर्न नसक्दा पुन विदेशिएका हुन्।

सरकारले देशमा रोजगारीका अवसर सिर्जना गर्न नसक्दा रोजीरोटीका लागि विदेशिनेको लर्को देखिन थालेको छ।

देशमा रोजगारीको अवसर छैन। परिवारको गर्जाे टार्न विदेशिनुपर्ने अवस्था रहेको नेपालगञ्जका रोबिन यादवले बताए। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको छ। मुख्य रूपमा कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरू गइरहेका छन्।

कोरोनाका कारण करिब दुई वर्षदेखि बन्द जस्तै रहेको वैदेशिक रोजगारीमा केही महिनादेखि चहलपहल बढेको छ। विश्वभर कोरोना संक्रमणको असर कम भएसँगै श्रमिकको माग बढेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए।

विदेशमा खोप अभियानपछि व्यवसायिक तथा औद्योगिक क्षेत्र चलायमान भएकाले श्रमिकको माग बढेको श्रेष्ठको भनाइ छ। 

श्रेष्ठले भने, ‘संक्रमणको जोखिम बढेसँगै विदेशमा रहेका श्रमिक नेपाल फिर्ता भएका थिए, कतिपय उद्योगधन्दा नै बन्द भएका थिए। हाल यी सबै क्षेत्र सञ्चालनमा आएकाले श्रमिकको माग बढेको छ।’ नेपालीहरूको श्रम गन्तव्य मुलुकमा यतिवेला श्रमिकको अभाव रहेकाले नेपाली श्रमिकको माग बढेको श्रेष्ठको भनाइ छ। जसले बेरोजगार युवा र वैदेशिक रोजगार व्यवसायीहरूलाई प्रत्यक्ष लाभ मिल्ने देखिएको छ।  

उकालो लाग्दै वैदेशिक रोजगारीमा जानेको संख्या 

कोरोना संक्रमणको जोखिम कम भएसँगै रोजगारीको खोजीमा विदेशिनेको संख्या क्रमशः उकालो लागेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार वैशाखमा २४ हजार ३ सय ६३ जना नेपाली रोजगारीको खोजीमा विदेशिएका थिए। त्यसमा १२ हजार ५ सय ३७ जना नयाँ श्रम स्वीकृति लिएको श्रम कार्यालय ताहाचलले जनाएको छ। 

वैदेशिक रोजगारीका जानेको संख्या जेठ महिनामा घटेर ४ हजार ८६ जना मात्र विदेशिएका थिए। ७ सय ८७ ले मात्रै नयाँ श्रम स्वीकृति लिएका थिए। सो संख्या बढेर असारमा २० हजार ६ सय ५८ पुगेको थियो। जसमा १० हजार ७ सयजना नयाँ र अरू यसअघि विदेश गएर फर्केकाहरू रहेको विभागले जनाएको छ। 

४ महिनामा डेढ लाखभन्दा बढी विदेशिए

गत साउनदेखि कात्तिकसम्म १ लाख ५६ हजार ५७ जना नेपाली वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएका छन्। विभागका अनुसार साउनमा २५ हजार ४ सय २८ जना नेपाली कामका लागि विदेश गएका थिए । त्यसमध्ये म्यानपावर कम्पनी र व्यक्तिगत पहलमा आएको नयाँ भिसामा जानेको संख्या १३ हजार ८ सय थियो।

साउनदेखि कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ९६ हजार ३ सय ३४ पुगेको वैदेशिक रोजगार कार्यालयका निर्देशक  राजेश उप्रेतीले जनाए। जसमा पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ७ सय २३ रहेको उप्रेतीले जनाए।

भदौमा २४ हजार ६ सय ९२ जनाले नयाँ श्रम स्वीकृति लिए भने श्रम स्वीकृति नवीकरण गर्नेसहित ३६ हजार ४० विदेशिएका छन्। असोजमा ३९ हजार ६ सय ७१ जना नेपाली विदेशिए। जसमा  २७ हजार ८ सय २४ जना नयाँ श्रम स्वीकृति लिनेहरू छन्।

कात्तिक महिनामा ५४ हजार ९ सय १८ जनाले श्रम स्वीकृति  लिएका छन्। त्यसमध्ये ३० हजार १८ जनाले नयाँ श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ। अन्यले श्रम स्वीकृति नवीकरण गरेका छन्। 

नेपाली श्रमिकका गन्तव्य मुलुक मलेसियाले रोजगारीका खुला गरेको छैन। मलेसियाले रोजगारी खुला गरे विदेशिनेको संख्या अझ बढ्न सक्ने वैदेशिक रोजगार विभागका सूचना अधिकारी कमल ज्ञवालीले जानकारी दिए। उनले भने, ‘नेपालीहरूको चाडबाड सकिएको र कोरोना घट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको छ।’ 

अहिले श्रम गन्तव्य देशको नियमअनुसार स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने भएकाले विदेशिने नेपालीलाई विगतको भन्दा  कठिन रहेको सूचना अधिकारी ज्ञवालीले जनाए।

विदेशिनेलाई पाइलैपिच्छे सास्ती

देशमा रोजगारीको राम्रो अवसर नभएको भन्दै रोजगारीको खोजीमा विदेशिने नेपाली विदेश जानका लागि सल्लाह लिने बेलादेखि ठगिने गरेका छन्। राहदानी बनाउन, स्वास्थ्य परीक्षण, श्रम स्वीकृति, कोरोना परीक्षण लगायतमा सास्ती भोग्दै आएका छन्। यी देश जानका लागि हरेर सरकारी कार्यालयमा दिनभर लाइन बस्नुपर्ने अवस्था रहेको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.