ब्रेलभन्दा कम्प्युटर सस्तो र सजिलो

|

पर्वत : पर्वतको कुश्मा नगरपालिका–११ पकुवा घर भएका केशव पौडेल सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयको ११ कक्षामा अध्ययनरत छन्। दृष्टिविहीन पौडेलका समस्या त कति छन् शब्दमा त्यो चित्र देखिँदैन।

व्यक्तिगत रूपमा कसैबाट पीडा पाएको भन्दा पनि शैक्षिक क्षेत्रमा उनले भोगिरहेको पीडाको बारेमा जान्नका लागि राज्यलाई नै त चासो छैन भने अरू त परको कुरा। 

दृष्टिविहीन स्रोत कक्षाको छात्रावासमा बस्दै आएका उनलाई राज्यले १० महिनाका लागि मासिक चार हजार रुपैयाँका दरले रकम उपलब्ध गराउँछ, त्यो रकम विद्यालयको खातामा आउँछ।

उनको व्यक्तिगत खर्चको लागि पाँच सय रुपैयाँ हातमै दिनुपर्छ। बाँकी रहेको ३५ सय रुपैयाँले एक महिनाका लागि रासन, लत्ता, आफ्ना व्यक्तिगत सामान, बाहिरको घुमघाम, स्टेसनरी लगायतका सामग्रीको परिपूर्ति गर्न सम्भव छैन उनमा।

लत्ता कपडाको अभाव

‘जाडोको बेलामा लुगा किन्न पैसा हुँदैन, सरकारले दिएको पैसा ले त पुग्दैन, अहिलेसम्म कहिले को कहिले को आएर विभिन्न दान दिएर जानुहुन्छ र चलेको छ, दान दिने मान्छे आएनन् भने धेरै समस्या हुन्छ,’ केशव भन्छन्, ‘ब्रेलका किताबकै मूल्य चर्को हुन्छ, पेपर पनि किन्न कठिन हुन्छ, अध्ययनका लागि नयाँ प्रविधिका सामग्री नै हामीलाई दिइएको छ।’ 

केशवलाई जे जति समस्या भइरहेको छ शिवालय माविमा अध्ययनरत अरू १३ जना दृष्टिविहीन विद्यार्थीको पनि समस्या त्यस्तै छ। राज्यले दिएको रकमले नपुग्दा दाताकै दानबाट दैनिक आवश्यकतादेखि अध्ययनका कामहरू जसोतसो अगाडि बढाएको उनीहरू बताउँछन्। 

कक्षा १२ मा अध्ययनरत दुर्गा शर्माले यसपटकको चिसो सुरु भएसँगै सामाजिक विकास कार्यालयले न्यानो कपडा वितरण गरेका जाडो छल्ने आशा लागेको बताउँछिन्। कोहीले चामल, कोहीले दाल, कोहीले कपडा लगायतका दान बेला बेलामा दिएकै कारण गुजारा चलेको उनको भनाइ छ।

यस्तो छ राज्यले गरेको लगानी

विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँका अनुसार राज्यबाट १० महिनाको लागि मासिक चार हजार रुपैयाँ आए पनि विद्यार्थीलाई सिधै दिएको पाँच सयपछि बाँकी रहेको ३५ सयले एक महिना धान्न सम्भव नै छैन। सामान्य बिरामी हुँदासमेत औषधि खान समस्या भइरहेको बेलामा बाहिर बजारमा निस्केर केही किनौँ वा नयाँ स्वाद फेरौँ भन्ने त सम्भव नै छैन।

‘सामान्‍य केही बिरामी हुने हो भने पनि हजार-बाह्र सय खर्च भइहाल्छ, ३५ सय ले एक महिना कसरी चलेको होला? लौ अनुमान गर्नुहोस्, अनुदान दिनेहरू नहुने हो भने यहाँको हालत कस्तो हुन्थ्यो होला?,’ उनी भन्छन्, ‘दृष्टिविहीन विद्यार्थीको लागि आवश्यक पर्ने शैक्षिक सामग्रीको मूल्य धेरै पर्छ, अधिकांश विद्यार्थीको घरको आर्थिक अवस्थासमेत कमजोर रहेका कारण घरबाट पनि त्यस्तै हो।’

उनले समस्याकै माझमा पनि सकेसम्मको सहयोग गरिरहेको उनी बताउँछन्। विद्यार्थीको लागि बाहेक वार्षिक दुई लाख चार हजार रुपैयाँ दृष्टिविहीन स्रोत कक्षाको व्यवस्थापनका लागि आउने गरेको छ।

त्यो बजेटबाट विद्यालयमा कार्यरत दृष्टिविहीन स्रोत शिक्षकलाई मासिक पाँच सयका दरले वार्षिक ६ हजार र होस्टलमा विद्यार्थीको आमाको भूमिका निर्वाह गर्ने कर्मचारीलाई मासिक १३ हजार चार सय ५० का दरले १३ महिनाको एक लाख ७४ हजार आठ सय ५० दिनुपर्छ।

जसमा वार्षिक २४ हजार बचत हुन आउँछ। त्यही रकम नै विद्यार्थीको स्टेशनरी व्यवस्थापनको लागि खर्च गर्ने हो। मासिक दुई हजार रुपैयाँको स्टेशनरी सामग्रीले १४ जना विद्यार्थीलाई कसरी पुग्छ होला? 

खर्चिलो छ ब्रेल सामग्री

विद्यालयका स्रोत शिक्षक हरिदत्त शर्माका अनुसार ब्रेल लिपिमा लेख्नको लागि प्रयोग हुने कागजको एक पानालाई तीन रुपैयाँ पर्छ। जबकि एकजना विद्यार्थीले एकै दिनमा सात पानासम्म लेख्छन्। एकजनाले दिनमा २१ रुपैयाँको कागज खर्च गर्दा १४ जनाले दिनमा करिब तीन सय रुपैयाँको कागज खर्च गर्छन्।

जसका लागि मासिक नौ हजार रुपैयाँ आवश्यक हुन्छ। तर, बजेटबाट बाँचेको र विद्यार्थीका लागि आएको रकमबाट यो खर्च धान्न सक्ने अवस्था नै हुँदैन। कागज नै किन्न नसक्ने भएपछि लेख्न मन भएर पनि नलेख्ने अवस्थामा विद्यार्थीहरू रहेका छन्। 

‘लेख्न मन त कति हो कति लागेको हुन्छ, तर पाना सकिएपछि किन्ने उपाय नै हुँदैन, सकेसम्म पाना खर्च नै गर्दैनौँ, सकेसम्म लेख्दैनौँ,’ विद्यार्थी दुर्गा शर्मा भन्छिन्,‘अभावमा रहँदा त मनभित्र कति हो कति कुरा खेल्छन्, के के सोचाइ आउँछ, पढ्छु भन्दा पनि पढ्नै पाइँदैन, म आफैँले गर्न सक्ने के पो हुन्छ र खै?’

शिक्षक शर्माका अनुसार दृष्टिविहीनले प्रयोग गर्न सक्ने निर्माण भएको ‘ग्लोब’ लाई झन्डै १५ हजार जति पर्छ। नक्साको मूल्य पनि त्यही हाराहारीमा पर्छ, जसलाई विद्यार्थी वा बजेटविहीन पारिएका विद्यालयले किन्नै सक्दैनन्। सरकारले छाप्ने पाठ्यपुस्तकहरू ब्रेल लिपिमा उपलब्ध हुने भए पनि निजी प्रकाशनका पुस्तकहरू ब्रेलमा छैनन्। ​

​यसका कारण पनि विद्यार्थीलाई समस्या भइरहेको उनले बताए। ‘ब्रेलमा भएको एउटा किताबलाई कम्तीमा पनि सात हजार जति पर्ला, आठ विषय पढ्नुपर्छ,’ शिक्षक शर्मा भन्छन्, ‘एउटा किताबको पनि तीन भाग हुन्छ, एउटा मात्रै किनेर पनि कहाँ उम्किन्छ र? एउटै बुकलाई २१ हजार पर्‍यो  नि!’ सरकारले छपाइ गर्ने किताबहरू पाउनमा कुनै समस्या नरहेको भए पनि कतिपय निजी प्रकाशकका किताबहरू समेत प्रयोग गर्दा समस्या हुने उनको भनाइ छ।

ब्रेलभन्दा कम्प्युटर सस्तो र सजिलो

स्रोत कक्षामा कार्यरत शिक्षक तथा विद्यार्थीहरू अहिले जस्तै असम्भव कुरालाई पनि प्रविधिले सम्भव र सहज बनाएका कारण आफूहरूलाई पनि कम्प्युटरकै माध्यमबाट गरिने सिकाइ प्रभावकारी हुने बताउँछन्। कम्प्युटर एक पटक किनेपछि सधैँका लागि हुने भएकाले विद्यालयमा दृष्टिविहीनलाई लक्षित गरेर आधुनिक कम्प्युटर ल्याब बनाउन सक्ने हो भने आफूहरूको अध्ययनमा निकै सजिलो हुने उनीहरूको भनाइ छ।

‘हाम्रा लागि त्यस्ता खालका एप्सहरु बनेका छन्, जसले हरेक कुरालाई अडियाेमा बताउँछ, हाम्रा किताबलाई पनि अडियो फर्ममा राखेपछि कति सजिलो भयो अध्ययनका लागि!,’ विद्यार्थी केशव भन्छन्, ‘ब्रेलमा परीक्षा दिँदा कति लामो समय लाग्छ, पेपर नै किन्न पनि कठिन हुन्छ, तर कम्प्युटरमा अडियो वा एप्सकै माध्यमबाट परीक्षा चलाउने भने त धेरै सजिलो हुने थियो, तर हामीले मागेर मात्रै पाउने कुरा भएन।’

मन्त्रालयमा कुरा भइरहेको छ : सामाजिक विकास कार्यालय

शिवालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूको अवस्थाका बारेमा आफू जानकार रहेको बताउँदै सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र सुवेदीले त्यसका लागि आफूले सकेसम्मको पहल गरिरहेको बताए।

प्रदेश सरकारले हालै मात्रै ती जिल्लामा कार्यालयहरू स्थापना गरेका कारण कार्यालयले योजना बनाउने र सम्भव भएका कामहरू गरिहाल्ने गरेको बताउँदै उनले पहिलो चरणमा आवश्यक भवन र क्षमता अभिवृद्धिको लागि पहल भएको उल्लेख गरे।

‘मन्त्रालयमा कुरा भइरहेको छ, यो बारेमा मन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ मैले सबै समस्याहरू जानकारी गराएको छु,आवश्यक पहल हाम्रो तर्फबाट भइरहेको छ,’ कार्यालय प्रमुख सुवेदी भन्छन्, ‘फरक क्षमता भएकाहरूको लागि क्षमता अभिवृद्धि तालिम, विशेष प्रशिक्षण लगायतका कुरा तुरुन्तै गर्न सकिन्छ, भवनको बारेमा कुरा भएको छ, त्यो भयो भने प्रविधिमैत्री ल्याब निर्माणको लागि पनि पहल हुनेछ।’

शालिजाबाट कुश्मा आएको थियो स्रोत कक्षा

पर्वतकै शालिजामा रहेको स्रोत कक्षालाई सामाजिक अभियन्ता तथा शिक्षा प्रेमीहरूको सहयोगमा २०७२ सालमा  सदरमुकाम सारिएको थियो। दुर्गम ग्रामीण क्षेत्रमा कक्षा सञ्चालन गर्दा दृष्टिविहीन विद्यार्थीहरूलाई आउजाउ गर्न नै समस्या भएपछि सदरमुकाममा सारिएको थियो। स्रोत कक्षामा अहिले १४ जना विद्यार्थीहरू अध्ययनरत छन्।

उनीहरू पर्वत सहित बागलुङ, म्याग्दी, पाल्पा लगायतका जिल्लाका रहेका छन्। कक्षा कुश्मा सारिएपछि तत्कालीन अवस्थामा विद्यार्थीहरूलाई भाडामा राखेर काम चलाएकोमा पछि प्लान नेपालले भवन निर्माण गरिदिएपछि अवस्था केही सहज भएको थियो। स्रोत कक्षामा रहेका विद्यार्थीहरू सधैँ आर्थिक तथा भौतिक समस्यामा रहेका कारण सरकारले नै यसमा विशेष ध्यान दिनुपर्ने अवस्था छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.