|

विराटनगर : तराईका आदिवासीको भन्सामा खाजाको रूपमा पाक्ने मौलिक परिकार ‘भक्का’ले पछिल्लो समय व्यावसायिक रूप लिँदै गएको छ। विशेष गरेर चिसो बढेसँगै बिहान र साँझको समयमा भक्काको परिकार बनाइन्छ।

राजवंशी समुदायले खाजाको रूपमा चामलको पिठोबाट तयार पार्ने भक्का घरको चुलामा मात्रै सीमित नरहेर आम्दानीको माध्यम समेत बन्दै गएको छ। केही वर्षअघिसम्म जाडो छल्न बिहान र साँझको समयमा घरपरिवार, आफन्तहरूसँग मिलेर खाने गरेको भक्का पछिल्लो समय यसको स्वादको लोकप्रियता अन्य समुदायमा बढेसँगै व्यापार बढ्न थालको मोरङको विराटनगर महानगरपालिका-३ की बिमला राजवंशी बताउँछिन्। भक्काको व्यापारले सिजनअनुसार आम्दानी पनि राम्रो हुने गरेको उनले बताइन्।

‘पहिले-पहिले जाडो लाग्दा घरमा परिवारका सदस्य, आफन्तलाई भक्का बनाएर चिया, अचारसँग खान दिने गर्थ्यौं,’ सोमबारे हाटमा भेटिएकी उनले भनिन्, ‘आजभोलि अन्य समुदायले पनि रुचाएकाले यसको व्यापारले आम्दानी हुँदै आएको छ।’

भक्काको व्यापार गर्मी मौसमभन्दा जाडोमा हुने गरेको बिमलाले बताइन्। बिहान कलेजका विद्यार्थीका साथै मर्निङ वाकका लागि निस्किनेहरू भक्का खाने गरेको उनले बताइन्। दैनिक दुईदेखि तीन किलो चामलको पिठोबाट भक्का तयार पारेर बेच्दै आएको बिमलाले बताइन्। उनले प्रतिगोटा १० रुपैयाँले बेच्दा दैनिक १५ सय देखि दुई हजार रूपैयाँसम्मको व्यापार हुने गरेको उनले जानकारी दिइन्। तर‚ कहिले काहीं व्यापार घाटामा पनि जाने गरेको उनको भनाइ छ। उनले घरैको पेटी (आँगन छेउ)मा बसेर व्यापार गर्ने गरेकी छिन्।

बजारमा उपलब्ध हुने अन्य जंकफुडभन्दा भक्का स्वास्थ्यका लागि राम्रो हुने हुँदा दैनिक बिहानको खाजामा भक्का नै खाने गरेको विराटनगर– ३ की बिमला कार्की बताउँछिन्। ‘यसमा चिल्लो हुँदैन स्वास्थ्यका लागि हानिकारक वस्तु मिश्रण हुँदैन‚’ उनले भनिन्‚ ‘जाडो महिना लागेसँगै मेरो बिहानको नास्तामा भक्का नै हुन्छ।’

भक्काको व्यापारको सुरुवात झापाका राजवंशी समुदायले गर्ने गरेको भए पनि पछिल्लो समय अन्य समुदाय पनि यसको व्यापारमा आकर्षित भएका छन्। पूर्वी झापाका राजवंशी समुदायले भक्का खाजाको रुपमा मात्रै नभएर छोरीलाई ज्वाइँको घर पठाउँदा कोसेली स्वरुप पठाउने चलनसमेत रहेको छ। तराईका झापा, मोरङ, सुनसरीलगायतका विभिन्न जिल्लाहरुमा भक्काको व्यापार बढ्दै गएको पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.