|

काठमाडौं : नेपालको जनसंख्या ३ करोडभन्दा थोरै रहने देखिएको छ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको बीचमा रहने जानकारी दिएको हो।​

किन बढेन जनसंख्या?

नेपाली महिलाको सन्तान उत्पादन दर घट्दो क्रममा रहेकाले जनसंख्या वृद्धिदर अपेक्षित नभएको विभागको भनाइ छ।

विभागका अनुसार बिहीबार सकिएको जनगणनाअनुसार नेपाली महिलाले औसतमा दुई सन्तान जन्माउने गरेको पाइएको छ।

विसं २०६८ को प्रक्षेपणअनुसार २०७८ सम्म एक महिलाले औसतमा २ दशमलव १ जना सन्तान जन्माउनुपर्ने थियो तर जनगणनाबाट औसत २ जनामात्र सन्तान जन्माउने गरेको देखिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए।

सन्तान उत्पादन दर प्रदेश २, कर्णाली र सुदूरपश्चिममा औसतभन्दा धेरै देखिएको र बागमतीमा औसतभन्दा कम  रहेको विभागले जनाएको छ। 

घर तथा घरपरिवार सूचीकरणमा ६८ लाख परिवारको गणना भएको छ।

विभागले गत असार १२ गते नै देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको र घरधुरी संख्या ७० लाख पुगेको बताएको थियो। 

विसं २०७८ जेठ २५ गतेबाट असार ८ गतेसम्म जनगणना गर्ने तयारी गरिए पनि कोरोनाले गर्दा ५ महिना ढिलो भएको थियो।

विभागले पुसदेखि विभागको जनगणनाको विवरण प्रशोधन गर्ने भएको छ।

चैत महिनामा प्रारम्भिक नतिजा आउने पनि विभागले स्पष्ट पारेको छ। अन्तिम नतिजा र विषयगत प्रतिवेदन प्रकाशन गर्न भने १ वर्ष लाग्ने विभागले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको अनुरोधमा बेलायती दूतावास र जनसंख्या अध्ययन शास्त्र केन्द्रीय विभागका २५ जना र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रका २५ जनाले पर्यवेक्षण गरेका थिए।

यसैगरी नेपाली अधिकारी र जनप्रतिनिधिले जनगणना अवलोकन तथा अनुगमन गरेको बताइएको छ।

विसं १९६८ देखि हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.