|

चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चितवनको नारायणी नदी किनारमा महाधिवेशनको आज भएको उद्‌घाटनपछि भएको सवारी जाममा ४ वटा एम्बुलेन्स फसेका छन्।

साँझ करिब ६ बजे भरतपुर महानगरपालिका-१२ हाम्रो चोकमै ३ वटा एम्बुलेन्स जाममा परेका छन्। २ वटा सौराहातर्फ जाँदै गरेका र २ वटा नारायणगढतर्फ जाँदै गरेका एम्बुलेन्स निकै लामो सवारी जाममा फसेका छन्।

यसैगरी आफू चढेर आएको गाडी नै फेला पार्न नसक्दा महाधिवेशनबाट फर्किने सहभागीहरू अलपत्र परेका छन्।

धेरै भीड भएकोले बिहानैदेखि फोनमा समस्या आएर अधिकांश सहभागीले फोन सम्पर्क गर्न नसकेको बताएका छन्।

फोन सम्पर्क हुन नसकेकाले आफू आएको गाडी कहाँ छ भनी सहभागीहरूले पत्तो नपाएर अलपत्र परेको बताए।

महाधिवेशनमा सहभागी हुन मोरङबाट आएका रामलाल गच्छदारले आफूहरू ३ जना छुटेको बताए।

उनले भने, 'हुलमुलमा साथीहरू छुटे। हामी मोरङबाट हिजो बेलुका ६ बजे हिँडेका थियौं। अब अहिले हामीलाई ल्याएको पार्टीको गाडीले छाडेर गएपछि लोकल गाडी खोज्दै छौं।' 

यसैगरी जनकपुरबाट आएका अर्का सहभागी सन्जीवकुमार मण्डल पनि आफू आएको गाडी फेला नपरेर अलपत्र परेका छन्। 

फोनबाट सम्पर्क हुन नसकिरहेको उनले बताए। उनले भने, 'गाडी फेला परेन। अब गाडी पाइएन भने हिँडेरै जाने।' 

महाधिवेशनमा मकवानपुरको लोथरबाट आएका अर्का सहभागी हुन्- मर्कोस प्रजा। उनी पनि आफू चढेर आएको गाडीको एक घन्टादेखि प्रतीक्षा गरिरहेका थिए।

उनले गाडी नभेटिएको बताए। उनले भने, 'म मात्र होइन। हामी १२ जना छौं, गाडी कहाँ छ एक घन्टादेखि खोजिरहेका छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.