मार्च २७, १९७३, त्यस दिन भव्य समारोहबीच ४५ औँ ओस्कार अवार्डको कार्यक्रम हुँदै थियो।
त्यस वर्षको उत्कृष्ट अभिनेताको अवार्डका लागि ५ अभिनेताको नाम छानिएको थियो।
ती अभिनेताहरू थिए, 'स्लुथ'बाट माइकल केन र लरेन्स ओलिभिए, 'द रुलिङ क्लास'बाट पिटर ओ'टुल, 'साउण्डर'बाट पल विनफिल्ड र 'द गडफादर'बाट मार्लोन ब्रान्डो।
उत्कृष्ट अभिनेताको अवार्ड पाउने व्यक्ति भनेर मार्लोन ब्रान्डोको नाम लिइयो।
मारियो पुजोको उपन्यासमा आधारित रहेर फ्रान्सिस फोर्ड कपोलाले निर्देशन गरेको 'द गडफादर'मा मार्लोनले इटालियन माफिया परिवारको मुख्य व्यक्ति भिटो कार्लियोनीको भूमिका निर्वाह गरेका थिए।
विश्वभरिका कलाकारको सपना जस्तै मानिने ओस्कारमा आफ्नो नाम सूचीमा छ भन्ने थाहा हुँदाहुँदै पनि मार्लोन उक्त समारोहमा उपस्थित थिएनन्।
उत्कृष्ट अभिनेता मार्लोन ब्रान्डो भनेर नाम उच्चारण भइसकेपछि अभिनेत्री तथा मोडल ससिन लिटिलफिदर मञ्चमा उक्लिइन्। जसलाई मार्लोनले आफ्नो प्रतिनिधिका रुपमा पठाएका थिए।
उत्कृष्ट अभिनेताको नाम पढेका पाहुना र होस्टले अवार्ड लिटिलफिदरतिर तेर्स्याए। तर, उनले उक्त अवार्ड लिन मानिनन्।
बरु एउटा चिठी निकालिन् जुन मार्लोनले दिएर पठाएका थिए। यस्तै अवस्था आए पढ्न भनेर। मार्लोनले पठाएको पन्ध्र पानाको लामो चिठी पुरस्कार समारोहमा पढ्न पर्याप्त समय थिएन।
लिटिलफिदरले यति भनिन्-मार्लोन यो अवार्ड लिन चाहँदैनन्। उनले भनिन्, 'अनि यसको कारण हो, अमेरिकन इन्डियनलाई यो उद्योगले गर्ने व्यवहार।'
अमेरिकी फिल्म तथा टेलिभिजनमा एसियालगायत अन्य भूभागबाट आएकाहरूलाई जस्तो चित्रण गरिन्थ्यो, मार्लोनलाई त्यसमा आपत्ति थियो।
फिल्ममा अमेरिकी भारतीयहरूको चरित्र हत्या गरिएको भन्दै मार्लोनले ओस्कार बहिस्कार गरेका थिए। पछि मार्लोनले लेखेको पन्ध्र पेज लामो चिठी पनि पत्रिकामा छापिएको थियो।
सामाजिक अभियन्तासमेत रहेका मार्लोनले विभिन्न सामाजिक विषयमा खुलेर बोल्दै आएका थिए।
सन् १९४० को दशकमा जतिबेला दोस्रो विश्वयुद्धले सब आक्रान्त थिए। त्यतिबेला यहुदीहरूका लागि एउटा छुट्टै राज्य हुनुपर्छ भन्ने विषयमा उनले खुलेर बोलेका थिए।
त्यसबाहेक पनि अफ्रिकी अमेरिकालीको अधिकार सुनिश्चितताको विषय होस् या ब्ल्याक प्यान्थर पार्टीको विषय होस्, उनी आफ्ना धारणा खुलेर राख्थे, जसले गर्दा उनी समय समयमा विभिन्न विवादमा पनि तानिने गर्थे।
सन् १९२४ मा जन्मेका मार्लोनले १९४४ मा 'आई रिमेम्बर ममा' नाटकबाट अभिनय यात्राको औपचारिक सुरुवात गरेका थिए।
उनको नाट्य यात्रा सफल रह्यो। उनी नाटकमा छन् भनेर थाहा मात्र पाए भने पनि दर्शक थिएटरमा आउँथे।
नाटक गर्दागर्दै उनलाई हलिउडका निर्देशकहरूले चिन्न थाले। त्यसपछि सन् १९५० मा फ्रेड जिनेमनले 'द म्यान'का लागि लिड रोलमा मार्लोनलाई साइन गराए।
पहिलो फिल्ममा अभिनय गरिसकेपछि मार्लोनलाई अरु फिल्मको पनि अफर आउन थाल्यो।
'द म्यान' पछि उनले 'अ स्ट्रिटकार नेम्ड डिजायर', 'भिभा जपाता', 'जुलियस सिजर', 'द वाइल्ड वन' लगायत फिल्ममा पनि अभिनय गरे।
यसबाट उनी अन्तरराष्ट्रिय स्तरमै परिचित हुन थाले।
हलिउड प्रवेश गरेको पहिलो ५ वर्षमा नै उनी त्यहाँका सबैभन्दा महँगा कलाकारमा चिनिन थालिसकेका थिए। उनी आफ्नो अभिनय यात्राबाट त खुसी थिए तर हलिउडका मान्छे देखेर भने उनलाई विरक्त पनि लाग्थ्यो।
उनले भनेका पनि छन्, 'हलिउडका अत्यन्त सफल मान्छेहरू, मान्छेकै रूपमा भने असफल छन्।'
६० वर्षको करिअरमा मार्लोनले ४० फिल्ममा अभिनय गरे जसमा 'गडफादर', 'लास्ट ट्यांगो इन पेरिस', 'सायोनारा' जस्ता कालजयी फिल्म पनि छन्।
उनको अन्तिम फिल्म सन् २००१ को 'द स्कोर' हो।
सन् २००४ जुलाई १ मा ८० वर्षको उमेरमा मार्लोनको निधन भयो।
मार्लोन भन्ने गर्थे, 'अत्यधिक सफलताले पनि तिमीलाई त्यसरी नै बर्बाद गर्न सक्छ जसरी अत्यधिक असफलताले गर्छ।'
(एजेन्सीकाे सहयाेगमा)
तपाईंको ईमेल गोप्य राखिनेछ ।