जुम्ला : जुम्लाको पातारासी गाउँपालिका–२ का दुई जोडीलाई सम्मान गरिएको छ। महिनाबारी भएका वेला घरै बस्ने साउनी बोहोरा उनका पति कालु बोहोरा, बीरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई ढाका टोपी र पछ्यौरा ओढाएर सम्मान गरिएको छ।
वर्षभरि महिनावारी छाउ हुँदा घरै बस्ने तथा अरूलाई बस्न प्रेरित गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो।
जुम्लामा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न पातारासी गाउँपालिकाले छुई गोठमुक्त अभियान थालेको छ। गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाई सँगै राखेर सचेत गराउँदै महिनावारी भएका वेला महिलालाई घरमा बस्न प्रेरणा दिएको हो।
उक्त अभियान अहिले सार्थक बनिरहेको छ। महिनावारी भएका वेला गोठमा बस्ने परम्परा तोडेको भन्दै पातारासीको २ वडाका तल्फीगाउँ, पेरे गाउँ, धोप गाउँ छुई गोठमुक्त गरिएको छ।
महिनावारी भएका वेला गोठमा बसेका कारण धेरै महिलाले ज्यान गुमाएको भन्दै सुरक्षित कोठामा बस्न गाउँपालिका अध्यक्ष लक्षिमान बोहोराले आग्रह गरे।
गाउँपालिका उपाध्यक्ष पुन्नकली महतराले महिनावारी हुँदा गोठमा बस्ने चलनले धेरै महिलाले ज्यान गुमाएका कारण छाउ नबार्न अभियान चलाएको बताइन्। उनले भनिन्, ‘हाम्रो अभियान सफल भएको छ।’
यो अभियानपछि छाउ बार्ने महिलाको सङ्ख्या घटेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए। उनले भने, ‘अब यहाँका महिला छुई भएका वेला गोठमा बस्ने छैनन्।’
महिनावारी भएकी महिला घरमा बसे गाई, भैँसीको दूध, दही, घ्यूलगायतका चिज दिए देउता रिसाउने र घरमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका सबैले त्याग्न आवश्यक भएको उनले बताए।
मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) मा रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको र यस्तो कसुर गरेको ठहर भए तीन महिना कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।
व्यवहारमा उक्त कानुन पालना हुन नसकेका कारण छाउपडी प्रथा जटिल बन्दै गएको सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए। उनले छाउपडी प्रथा सामाजिक र धार्मिक आस्थासँग जोडिएका विषयलाई परिवर्तन गर्न कानुन लागु गरेर मात्र नपुग्ने तथा व्यवहारमै लागु हुनुपर्ने बताए।
महिनावारीका कारण अलग्गै बसेका वेला महिला बलात्कार हुने, सर्पले डस्ने लगायतका अप्रिय घटना हुने गरेका छन्।
पातारासी गाउँपालिकाले माथीर्लोपगाउँ, लोर्पगाउँ, भोटगाउँ तल्फी पेरे लगायत ७ गाउँलाई छुई गोठमुक्त घोषणा गरेको छ। यसअघि तिला गाउँपालिकाले ३२ गाउँ छुई गोठमुक्त गरेको छ।
खत्रीले छाउगोठ मुक्त बस्ती घोषणा गर्न मासिक दुईपटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गरेका थिए। उनले प्रत्येक ३ महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका कारण दिदिबहिनीमा परिवर्तन आएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।